‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान

‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर २८, २०७७

म्याग्दी । हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपािलकासहित छवटै स्थानीय तहमा प्रसूतिपछि तीनपटक स्वास्थ्यचौकीमा जाँच गर्न आउनुपर्ने अवस्थाका सबै सुत्केरीको घरघरमा नै गएर शिशु र आमाको स्वास्थ्य जाँच गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

प्रमुख लम्सालले यो अभियानले महिलाको प्रजनन अधिकारका बारेमा सचेतना फैलाउनुका साथै गर्भावस्थामा हुने जटिलताका कारण बढ्दै गएको मातृ मृत्युदरलाई कम गर्न  सघाउ पुर्याउने जिकिर गर्नुभयो । अभियानलाई प्रभावकारी बनाउन छवटै स्थानीय तहका स्वास्थ्य संयोजकलगायत जिल्लाका ३९ वटै स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । 

यस अभियानले विशेषगरी दुर्गम क्षेत्रका महिलालाई धेरै सहज हुने अभिमुखीकरण कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । सोही अवसरमा प्रजिअ अधिकारीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रहसमेत गर्नुभएको थियो ।