भारतमा आज पहिलो चरणको मतदान

भारतमा आज पहिलो चरणको मतदान

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

काठमाडौं । भारतमा लोकसभाको निर्वाचन बिहीबार सुरु भएको छ। देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमा पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ। पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशका विभिन्न क्षेत्रसहित आन्द्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, सिक्किम, उत्तराखण्डलगायतका राज्यमा निर्वाचन हुँदैछ। मे १९ मा निर्वाचन सम्पन्न भएपछि मे २३ मा मतगणना सुरु हुनेछ।

निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रुपमा भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेस देखिएका छन्। निर्वाचनका लागि भाजपा नरेन्द्र मोदी र कांग्रेस राहुल गान्धीलाई नेताका रुपमा अघि सारेर निर्वाचनमा होमिएका छन्। लोकसभाका पाँच सय ४५ सिटमध्ये पाँच सय ४३ सिटमा चुनाव हुँदैछ। दुई सिटमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। भारतीय निर्वाचन आयोगको तथ्यांकअनुसार हालको निर्वाचनमा मत दिन ९० करोड मतदाता योग्य छन्। यो संख्या २०१४ को निर्वाचनमा भन्दा झन्डै साढे आठ करोड संख्या बढी हो।

निर्वाचन अभियान चलिरहेका बेला प्रतिपक्षी दलहरुले भारतीय जनता पार्टीले नेतृत्व गरेको सरकारले प्रजातान्त्रिक प्रक्रिया र संस्था भत्काएको आरोप लगाएका छन्। विपक्षी पार्टीकी नेत्री ममता बनर्जीले यो विषयलाई लिएर अभियान नै सञ्चालन गरेकी थिइन्। जबाफमा मोदीले यसलाई ठूलो जोक भनेका छन्। उनले कांग्रेस र कम्युनिस्ट मिलेर प्रजातान्त्रिक वातावरण बिगारेको आरोप लगाएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।