लोकसंवाद संवाददाता | समाचार | मंसिर २८, २०७७
भक्तपुर । भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ शुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः शुरु भएको छ ।
पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म भक्तपुरतर्फको करिडोर निर्माण शुरु भएको आयोजनाका मनोज भेटवालले जानकारी दिनुभयो ।
सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले गत वर्षदेखि शुरु गर्नुभएको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियानअन्तर्गत जडीबुटी कोटेश्वरको सडकजामलाई कम गर्ने विकल्पका रूपमा मनोहरा करिडोर निर्माण शुरु भएलगत्तै काम रोकिए पनि अहिले उहाँकै पहलमा चार दिनयता पुनः मनोहरा करिडोर निर्माणको भक्तपुरतर्फको बाँकी काम शुरु भएको हो ।
सांसद बस्नेतले भक्तपुरमा विकासका ठूला आयोजना रोकिएको जानकारी गराएलगत्तै भक्तपुरका नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रोकिएका विकासका काम अगाडि बढाउन चासो दिएपछि करिडोर निर्माण अगाडि बढेको बस्नेतका स्वकीय सचिव दिनेश थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार भक्तपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट हुँदा सांसद बस्नेतले शुरु गराएको करिडोर निर्माण उहाँको सरुवा भएसँगै रोकिए पनि अहिले आउनुभएका नयाँ प्रजिअ भट्टराईले पुनः शुरु गराउन प्रशासनिकरूपमा अग्रसरता देखाएपछि काम अगाडि बढेको हो । यसअघिको प्रजिअ हुमकला पाण्डेले विभिन्न विवादका कारण रोकिएका विकासका ठूला आयोजना निर्माणमा चासो नदिँदा एक वर्ष पछाडि परेको विकास पुनः शुरु भएको छ ।
सांसद बस्नेत, प्रजिअ भट्टराई, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, मध्यपुरथिमि–१ र २ का वडाध्यक्ष, काठमाडौँ–३२ का वडाध्यक्ष नवराज पराजुली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, निर्माण व्यवसायीसहित सरोकारवालाको छलफलबाट आएका बाधा हटाउँदै विकासका कामलाई तीव्रता दिने सहमतिसँगै करिडोर निर्माण पुनः सञ्चालन भएको हो ।
छलफलमा भएको निर्णयानुसार विसं २०२१ को नक्सामा जहाँ खोला बगेको छ, त्यहीँबाट खोला बगाएर करिडोर निर्माण सञ्चालन भएको हो । यसअघि पञ्चायतकालमा तत्कालीन भूमिसुधारमन्त्री नानीमैया हुँदा विसं २०२१ को नापीमा खोला बगेको ४५ रोपनी क्षेत्रफल व्यक्तिको नाममा दर्ता गरी पटक–पटक किनबेच भई हाल चार जनाको नाममा रहेको उक्त ठाउँमा साविक नक्साअनुसार नै खोलाको बहाव पठाइएको छ ।