चिकित्सक आन्दोलनमा प्रहरी हस्तक्षेप, संघले डाक्यो भेला

चिकित्सक आन्दोलनमा प्रहरी हस्तक्षेप, संघले डाक्यो भेला

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

वैशाख । सरकारले आन्दोलनरत चिकित्सकलाई धरपकड गर्न थालेपछि भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघले बिहीबार बृहत् छलफल गर्ने भएको छ। नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले आन्दोलनरत चिकित्सकको कुरा सुनुवाइ गर्नुको साटो बल प्रयोग गर्न थालेपछि यस विषयमा छलफल गर्न भेला बोलाएको स्पष्ट पारे।

सरकारले वार्ताका माध्यमबाट समाधान खोज्नुपर्नेमा प्रहरी लगाएर चिकित्सकमाथि धरपकड गरेकोमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको उनले बताए। चिकित्सकमाथि भएको धरपकडप्रति आपत्ति जनाउँदै कार्कीले चिकित्सकलाई चिढ्याउने काम नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन्। सरकारको कदमप्रति छलफल गर्न बिहीबार २ बजेका लागि उपत्यकामा भएका सबै अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्यसंस्थाका प्रतिनिधिलाई बोलाइएको महासचिव कार्कीले जानकारी दिए।

सरकारले हालै गरेको चिकित्सक समायोजनप्रति असन्तुष्टि जनाउँदै इमर्जेन्सीबाहेक सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पारेर धर्नामा बसेका चिकित्सकमाथि प्रहरीले धरपकड गरेपछि संघले आकस्मिक भेला डाकेको हो। चिकित्सकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेर वीर अस्पताललमा सेवा सुचारु गर्न खोजेपछि संघ क्रुद्ध बनेको हो। संघले बुधबार विज्ञप्ति जारी गर्दै चिकित्सकको समायोजनसम्बन्धमा विस्तृत छलफल गरी विशेष रणनीति तर्जुमा गर्ने जनाएको छ। विज्ञप्तिमा सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ समाजका प्रतिनिधिलगायत चिकित्सा पेसासँग संलग्न स्वास्थ्यसंस्थाका प्रतिनिधिलाई बिहीबार २ बजे संघको कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। आजको नागरिक दैनिकमा खबर छ ।