पूर्ण खोप सुनिश्चितताका लागि  गाउँ र टोलमा स्वास्थ्यकर्मी परिचालित

पूर्ण खोप सुनिश्चितताका लागि  गाउँ र टोलमा स्वास्थ्यकर्मी परिचालित

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर २८, २०७७

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितताका लागि गाउँ र टोलमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । विसं २०७४ कात्तिक १४ गते नगरपालिकाले पूर्ण खोप नगरपालिका घोषणा गरेको भए पनि बिचको अवधिमा नगरपालिकाभित्रका बालबालिकालाई दिइँदै आएका खोपको अवस्थामा बुझ्न र पूर्ण खोप नगरपालिकालाई मूर्तरुप दिन स्वास्थ्यकर्मी परिचालन गरेको हो ।

गत वर्ष भने चैतमा तथ्याङ्क सङ्कलनको काम गर्ने योजना बनाएको नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणका कारण काम गर्न सकेन् । यो अवधिमा बाहिरबाट बसाइँ सरी आउने र कोरोनाकै कारण पनि खोप लगाउन खोप केन्द्रसम्म मानिस नआएको हुनसक्ने नगरपालिकाले जनाएको छ । पूर्ण खोप सुनिश्चितताका लागि नगरपालिकाले ४० स्वास्थ्यकर्मी  परिचालन गरेको छ । 

स्वास्थ्यकर्मीको सहयोगीका रुपमा टोल–टोलमा १२० महिला स्वयंसेवकसमेत परिचालन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताउनुभयो । तथ्याङ्क सङ्कलन गर्ने टोलीले नगरपालिकाका सबै घरको पूरा जनसङ्ख्यासहितकोे कुन उमेरको भन्नेसमेत फारममा उल्लेख गर्नुपर्ने छ ।

त्यस्ले नगरपालिकाको पछिल्लो जनसङ्ख्याको विवरणसमेत थाहा हुने स्वास्थ्य शाखा प्रमुख रावलले बताउनुभयो । 'स्वास्थ्यकर्मीले ल्याएको तथ्याङ्कलाई नगरस्तरीय खोप समन्वय समितिमा बुझाउँछाैँ, कोही बालबालिका खोपबाट छुटेको भए उनीहरुलाई खोप दिने काम गर्छौ', रावलले भन्नुभयो, 'पुनः हामी तीनवटा वडाको ६० घरधुरीको तथ्याङ्क लिन्छौ र पहिलेको तथ्याङ्क ठिक भए वडाहुँदै नगरलाई पूर्ण खोप नगरपालिका घोषणा गर्छौं, नभए पुनः तथ्याङ्क जाँच गर्छौ ।'