पछार्ने होइन, पाल्ने

पछार्ने होइन, पाल्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

दोलखा । केही मानिस रिस पोख्दा ‘पाहाझैं पछारिदिन्छु’ भन्ने गर्छन् । अब पाहा पछार्ने हैन, पाल्न थालिएको छ । दोलखाको मेलुङ ५ का वडाध्यक्षसमेत रहेका मानबहादुर मगरले पाहा पोखरीमा पाल्न सुरु गरेका हुन् ।

घरअगाडि आफूले बनाएको पोखरीमा ९० वटा पाहा जम्मा गरिसकेको उनले बताए । पाहा खोला र पोखरीमा प्राकृतिक रूपमा हुर्कन्छ । पालन सुरु गरेपछि उनले खोजेर ल्याउनेलाई प्रतिगोटा डेढ सय रुपैयाँ दिने गरेका छन् ।

‘खोला किनारबाट खोजेर ल्याउनेलाई पैसा दिन्छु,’ उनले भने, ‘म पनि फुर्सदका बेला अरूसँगै खोज्न हिँड्छु ।’ मेघ गर्जन र पानी पर्न सुरु भएपछि पाहा किनारतिर आउँछन् । त्यही मौकामा समात्ने गरेको उनले बताए । गाउँघरतिर औषधिका रूपमा लिने र कतिपयले मासुसमेत खाने भएकाले राम्रो आम्दानी हुने ठानेर उनले पाहा पाल्न थालेका हुन् । यसका लागि यो वर्ष ७ लाखसम्म खर्च गर्ने योजना उनको छ । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।