आक्रोशित बिरामीको प्रश्न– 'डाक्टरले धर्म छाड्ने ?’

आक्रोशित बिरामीको प्रश्न– 'डाक्टरले धर्म छाड्ने ?’

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

पर्सा । बारा मटिअर्वाका ५२ वर्षीय महिन्दर महतो २५ किलोमिटर यात्रापछि बुधबार बल्लतल्ल वीरगन्ज उत्रिए । नसाको रोगले देब्रे हातमा समस्या भएकाले डाक्टरलाई देखाउनु थियो । सरासर नारायणी उपक्षेत्रीय अस्पताल पुगे । सधैं बिरामीले भरिभराउ रहने अस्पताल परिसर बुधबार सुनसान देख्दा उनी छक्क परे । सोधखोज गरेपछि थाहा पाए– डाक्टरहरू काम बन्द गरेर हडतालमा उत्रिएका रहेछन् ।

‘मलाई डाक्टरहरूले हडताल गरेका छन् भन्ने नै थाहा भएन,’ उनले भने, ‘हाम्रा लागि सबैभन्दा भरपर्दो अस्पताल नै यही हो, नारायणी भनेपछि आँखा चिम्लेर विश्वास गर्छौं, सरकारी अस्पतालकै चिकित्सकले काम ठप्प पारे पछि हामीजस्ता निमुखाको स्वास्थ्यको कसले ख्याल गरिदिने ।’

मामा महिन्दरलाई लिएर आएका वीरगन्ज ११ श्रीपुरका भान्जा सुनील महतो पनि आक्रोशित थिए । ‘मामा उपचार गराउन भनेर आउनुभयो, अस्पताल आउँदा त एउटा पनि डाक्टर भेटिएनन्,’ उनले भने, ‘डाक्टरलाई त भगवान् भनिन्छ, भगवान् नै आफ्नो धर्म छोडेर हिँडे बिरामीको चिन्ता कसले गरिदिने ।’ आजको कान्‍तिपुर दैनिकमा खबर छ ।