विभिन्न आपराधिक क्रियाकलापमा संलग्न फरार चार पक्राउ

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न फरार चार पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर २९, २०७७

कञ्चनपुर । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पक्राउ गरेको छ । मानव ओसारपसार तथा बेचबिखन मुद्दामा वारदातदेखि फरार रहेका भीमद नगरपालिका–८ का पवन जोशीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।  

उहाँका अनुसार जोशी मङ्सिर २३ गते वारदात गरेदेखि फरार रहेका थिए । पक्राउ परेकामाथि आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी कानूनबमोजिम कारवाही प्रक्रिया अगाडि बढाइएको छ । मानव ओसारपसार तथा बेचबिखन मुद्दामा उच्च अदातबाट दोषी ठहर भई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय फैसला भएका कैलालीको साविक बेलादेवीपुर गाविस–३ सेरी बस्ने ३३ वर्षीय बमबहादुर सार्कीलाई घर ठेनागामै लुकीछिपी बसेको बेला पक्राउ गरिएको छ ।  

लागुऔषध खैरो हिरोइन मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–१३ बस्ने २२ वर्षका धीरज भट्ट र सोही ठाउँ बस्ने २३ वर्षका सुरेश ऐरलाई घरमा लुकीछिपी बसेको बेला पक्राउ गरी आवश्यक अनुसनधान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।