कोरोना सङ्क्रमण पुनः देखिएपछि विद्यालय बन्द

कोरोना सङ्क्रमण पुनः देखिएपछि विद्यालय बन्द

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर २९, २०७७

कर्णाली । नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन् । 

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ शिक्षकमा आज कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द हुने अवस्था आएको हो । कोरोनाको पिसीआर रिपोर्टअनुसार आज एक विद्यालयका ११ सहित सुर्खेतमा १७ शिक्षकमा कोरोना सङ्क्रमण देखिँदा विद्यालय बन्द हुने क्रममा गएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।

उहाका अनुसार आज आएको रिपोर्टमा जिल्लास्थित १७ शिक्षकलाई लक्षणसहितको सङ्क्रमण देखिएको छ । उहाँहरु होम आइसोलेसनमा हुनुहुहन्छ र अवस्था सामान्य नै छ । चार विद्यार्थीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएका शिक्षकमध्ये सुर्खेत पञ्चपुरी नगरपालिकाको सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटेका ११ शिक्षक रहेको उक्त नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख गङ्गादेव पुरीले बताउनुभयो । त्यस्तै सोही नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरका दुई शिक्षकलाई पनि सङ्क्रमण देखिएको छ ।

दुई विद्यालयका ३९ शिक्षकको पिसीआर परीक्षण गर्दा १३ शिक्षकको रिपोर्ट पोजेटिभ आएको उहाँले जनाउनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमण देखिएका शिक्षकको लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि उनीहरुको पिीसआर परीक्षण गरिएको थियो । त्यसैगरी गुर्भाकोट नगरपालिका सुर्खेतको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका दुई र जनसेवा आधारभूत विद्यालयका एक शिक्षकमा पनि कोरोना सङ्क्रमण देखिएको नगरपालिकाका नगर शिक्षा प्रमुख पदम विकले जनाउनुभयो । शिक्षकमा कोरोना देखिएकाले विद्यालय बन्द गरिएको नगर शिक्षा प्रमुख विकले बताउनुभयो । 

पञ्चपुरी नगरपालिकाले शिक्षकमा कोरोना सङ्क्रमण नेगेटिभ नआउञ्जेलसम्मका लागि एकसाता बन्द विद्यालय बन्द हुने बताएको छ । सङ्क्रमित शिक्षकको कन्ट्याक्ट ट्रेसिङ गरेर रिपोर्ट आएपछि विद्यालय खोल्ने वा नखोल्ने पछि निर्णय गरिने कोरोना प्रभावित नगरपालिकाले जानकारी दिएका छन् ।