त्रिभुवन विमानस्थलमा उडान भद्रगोल

त्रिभुवन विमानस्थलमा उडान भद्रगोल

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

काठमाडौं । धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै चरम लापरबाहीहरू देखिन थालेका छन् ।

 

राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) जारी भइसकेपछि विमानस्थल व्यवस्थापनले मंगलबार राति फ्लाई दुबईको बोइङ ७३७ विमानलाई उड्ने अनुमति दिएकामा महाप्रबन्धक राजकुमार क्षत्री अनुसन्धानमा तानिएका छन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले बुधबार छुट्टाछुट्टै स्पष्टीकरण सोधेका छन् ।

मंगलबार राति ८ः४० मा उडिसक्नुपर्ने फ्लाई दुबईको विमानले १०ः१७ मा धावनमार्ग छोडेको थियो । १०ः०१ मा ढोका बन्द गरेको विमानलाई एयर ट्राफिक कन्ट्रोलरले १०ः०३ मा स्टार्टअपको अनुमति दिएका थिए । १०ः०६ मा पुसब्याक गरिएको जहाजले धावनमार्ग छाड्दा १७ मिनेट ढिला भइसकेको थियो । एक साताअघि यस्तै अवस्थामा नेपाल वायुसेवाको विमानलाई भने उड्न दिइएको थिएन ।