लोकसंवाद संवाददाता | समाचार | मंसिर २९, २०७७
मकवानपुर । मकवानपुरको हेटौँडामा एक करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिका–१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको एक करोड रुपैयाँको सहयोगमा उक्त गुम्बा निर्माण शुरु भएको बताइएको छ ।
उर्गेन छिरिङ नामक गुम्बा निर्माणमा थप सहयोगको आवश्यक्ता रहेको प्रमुख महतले भन्नुभयो । भूकम्पका कारण भत्किएको लामो समयसम्म गुम्बा बजेट अभाव कारण निर्माण हुन सकेको थिएन । पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउन ढिलाइ गरेकाले निर्माणमा समस्या भएको उहाको भनाइ थियो ।
यसैबीच हेटौँडाको हुप्राचौरमा नमूना पक्की सडक निर्माण गर्न शुरु गरिएको छ । हुप्राचौरबाट भैरव रोड जोड्ने नमूना सडकको प्रमुख महतले शिलान्यास गर्नुभयो । हेटाैँडा उपमहानगरपालिकाको रु ८८ लाखको लागतमा निर्माण गरिने सडकलाई शहरको नमूना सडकको रूपमा विकास गरिने उहाँले बताउनुभयो ।
उक्त सडकसँगै पेटीमा गमलासहित फूल रोपिने र अन्य सडकलाई पनि यस्तै बनाउने महतको भनाइ थियो । हेटौँडाको विभिन्न १९ वडामा कच्ची एवं फुटेटुटेका सडकलाई सिमेन्टले ढलान एवं पिच गर्ने काम भइरहेको प्रमुख महतले बताउनुभयो ।