‘धेरैको मृत्यु मुटु रोगबाट’

‘धेरैको मृत्यु मुटु रोगबाट’

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

काठमाडौं । धेरै नेपालीको मृत्यु मुटु रोग (इस्केमिक हर्ट डिजिज) का कारण हुने गरेको एक अध्ययनले देखाएको छ । यो रोगमा मुटुको धमनीमा बोसो जम्मा भएर रगतको आपूर्ति रोकिन्छ । मुलुकमा रोगको भारबारे नेपाल स्वास्थ्य अनुसन्धानपरिषद्द्वारा गरिएको अध्ययनले यस्तो नतिजा देखिएको हो । २७ वर्षमा नेपालमा देखिएका रोगभारको अवस्थाबारे उल्लेख्य परिवर्तन भएको अध्ययनले औंल्याएको छ । पछिल्लो समय नेपालीका लागि विशेष गरी मुटु रोग र दम अशक्तता मृत्युको प्रमुख कारणका रूपमा देखा परेको छ ।

‘अहिले नेपालीलाई मार्ने नम्बर एक रोग इस्केमिक हर्ट डिजिज हो,’ परिषद्द्वारा बुधबारदेखि राजधानीमा आयोजित स्वास्थ्य तथा जनसंख्यामा वैज्ञानिकको पाँचौं शिखर सम्मेलनमा ‘नेपालमा रोग भार’ बारे अध्ययन प्रस्तुत गर्दै मेघनाथ धिमालले भने, ‘दमका रूपमा चिनिने क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) नेपालीलाई मार्ने दोस्रो सबैभन्दा ठूलो रोग हो ।’

इस्केमिक हर्ट डिजिज मुख्य रूपले गलत जीवनशैली, धूमपान, बढी तौल, उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, निष्क्रिय जीवनशैली, मधुमेह आदिको परिणाम हो । सन् २०१७ मा नेपालमा भएको कुल मृत्युमध्ये नसर्ने रोगबाट ६६ प्रतिशत र चोटपटकबाट ९ प्रतिशत एवं बाँकी २५ प्रतिशत सरुवा रोग, मातृ नवजात शिशु तथा पोषणसम्बन्धी रोगबाट भएको थियो । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।