मनोज गजुरेलद्वारा गाली बेइज्जती, अनावश्यक तनाव दिने पूर्व पत्नी विरुद्ध अदालत जान लागेको जानकारी

मनोज गजुरेलद्वारा गाली बेइज्जती, अनावश्यक तनाव दिने  पूर्व पत्नी विरुद्ध अदालत जान लागेको जानकारी

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर २९, २०७७

काठमाडौँ । चर्चित हास्य कलाकार मनोज गजुरेलले गाली बेइज्जती, अनावश्यक तनावको शृङ्खला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न  थालेको भन्दै  अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्न लागेको जानकारी  दिनु भएको छ । 

२०७७ साल मङ्सिर २९ गते सोमबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै  उपरोक्त कुराको जानकारी  दिनु भएको हो । 

गजुरेलले फेसबुक  स्ट्याटसमा भन्नु भएको छ -  'प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरू ! सामाजिक सञ्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोस्ट, नबक्स, फोनमा तपाईँहरूले पठाउनु भएका क्रिया प्रतिक्रिया मेरो गम्भीर ध्यानाकर्षण भएको छ । 

१. झन्डै तीन बर्सअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरूलाई विदितै छ । तर, कानुनी रूपमै आ- आफ्ना बाटो लागि सकेपछि पनि अर्को पक्षबाट विभिन्न माध्यमाबाट बारम्बार गाली बेइज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिभावकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेइज्जती, अनावश्यक तनावको शृङ्खला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले बाध्य भएर केही प्रस्टीकरण गर्न भएको छु । 

२.  सकिएको सम्बन्धको आधा रहिन आरोप र प्रत्यारोपले मेरा छोराछोरीलाई धेरै ठुलो असर गर्न थालेको महसुस हुँदै छ । मेरो चरित्र माथि खेलबाड भएको ठान्दै छु । अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई अब सार्वजनिक गर्न  बाध्य भएको ठान्दै छु । सहनुको सीमा कटेपछि  कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुङ्गोमा पुगेको छु ।

३. अंश सहित आफूसँग बस्न लगेकी छोरी डिभोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजनिक गर्दै छु । अर्को पक्षले भनेझैँ हामी बिच कुनै लेनदेन बाँकी छैन छोरीको नाममा लगेको अंश बाहेक । तर, सामाजिक सञ्जालमा अर्को पक्षबाट बारम्बार ममाथि हुने अनावश्यक टीका टिप्पणी, युट्युबमा उनीहरूका फोटोको दुरुपयोगले मेरा सन्तानकाे पढाइ र जीवन आघात परिरहेको छ ।

४.  युट्युब तथा अनलाइनका साथीहरू,  तपाईंहरुलाई पनि यही स्ट्याटसबाट अनुरोध गर्दछु- मेरो नाम, फोटो र प्रसङ्ग जोडेर कसैसँग 'अन्तर्वार्ता' लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्,  पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशको कानुनलाई मनन गर्नोस्  भन्ने अनुरोध गर्दछु जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।

५.  यो पोस्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तकको धेरै पटकको आग्रह पछि लेख्दै छु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दै छु । चासो र चिन्ताका लागि धन्यवाद ।