क्यान्सरपीडित नेपालीलाई आमा समूहको ११ हजार ६४५ रुपैयाँ आर्थिक सहयोग

क्यान्सरपीडित नेपालीलाई आमा समूहको ११ हजार ६४५ रुपैयाँ आर्थिक सहयोग

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर ३०, २०७७

पाेखरा । घाँटीको क्यान्सरबाट पीडित शङ्कर नेपालीलाई शुभकामना आमा समूहले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्राका ६५ वर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समूहले ११ हजार ६४५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

नेपालीको निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच शुभकामना आमा समूहका अध्यक्ष हिरादेवी अधिकारीले क्यान्सरपीडित नेपालीकी श्रीमती रत्नकुमारी नेपालीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । सबैको सहयोगले क्यान्सरजस्तो रोगसँग लडिरहनुभएका नेपालीको उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ समूहले सानो भए पनि सहयोग गरेको उपस्थित आमा समूहको सामूहिक धारणा रहेको छ ।

ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका नेपालीको हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बन्दाबन्दीसँगै उहाँले बाँसका विभिन्न सामग्री बनाएर बिक्री गर्दै आउनुभएको थियो । कमाउने श्रीमान्लाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा  तीन लाखभन्दा बढी खर्च भइसकेको उहाँकी श्रीमती रत्नकुमारी नेपालीले गहँभरि आँशु पारेर दुखेसो पोख्नुभयो ।

यसअघिको उपचारमा स्वास्थ्य बीमा र गाउँपालिकाको सिफारिसमा अस्पतालले केही रकम छुट भएर सुविधा पुगे पनि आगामी दिनमा उपचारका लागि कुनै पनि विकल्प नभएको भन्दै उहाँले विभिन्न सङ्घसंस्था एवं व्यक्तिसँग सहयोगका लागि आग्रह गर्नुभएको छ ।

कोरोना भाइरसका कारण मुलुकमा बन्दाबन्दी भएसँगै श्रीमान्ले बाँसका चोयाका सामग्री बनाएर बिक्री गर्नु र आफू तरकारी खरिद बिक्री गर्दै आउनुका साथै छोराछोरीले पनि मजदूरी गरेर उहाँको सिङ्गो परिवार चल्दै आएको थियो  ।