लोकसंवाद संवाददाता | समाचार | मंसिर ३०, २०७७
काठमाडौं । अन्ततः नाै महिनादेखि बन्द रहेकाे पशुपतिनाथ मन्दिर भाेलिदेखि खुल्ने भएकाे छ । आज बिहान क्षमा पूजापछि भाेलिदेखि मन्दिर खाेल्न लागिएकाे हाे ।
काेराेनाका कारण प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेशमा बन्देज गरिएपछि साेकाे लागि क्षमा पूजा समेत गरिएकाे हाे ।
स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि पशुपतिनाथ मन्दिर खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयाे ।
पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुनेछैन ।
नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक रुपमा बिरोध प्रदर्शन समेत गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि मङ्गलबार नै पशुपति प्राङ्गणमा विशेष पूजा आराधना गर्ने तयारी गरेका छन् ।
नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो ।