प्रज्ञा–प्रतिष्ठानको ३५ औँ प्राज्ञ सभा : १९ करोड ५० लाखको अनुमानित बजेट पारित

एक आजीवन र दुई जनालाई मानार्थ सदस्यता प्रदान

प्रज्ञा–प्रतिष्ठानको ३५ औँ प्राज्ञ सभा : १९ करोड ५० लाखको अनुमानित बजेट पारित

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १, २०७७

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३५ औँ बैठक मङ्गलवार सम्पन्न भएको छ । बैठक उद्घाटन सत्रको समुद्घाटन पानसमा दीप प्रज्वलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले गर्नुभएको थियो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रेषित गर्नुभएको भिडियो सन्देश देखाइएको थियो । भिडियो सन्देशमार्फत् प्रधानमन्त्री ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेका नकारात्मक प्रभावका बिच समस्याभित्रबाट समाधानको उपायको खोजी गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताउनुभएको थियो । उहाँले प्राचीन तथा वैदिक सभ्यता र ज्ञानभूमि नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य भएको विचार व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गराउने क्रममा हरेक क्षेत्रको भूमिका हुने भएकाले मानवीय अन्तरप्रज्ञालाई जागृत गर्दै त्यसमा मानव समाजलाई सार्थकरुपमा हिँडाउनु प्राज्ञिक निकायको दायित्व भएको पनि बताउनुभयो । तपोभूमि र अमूल्य वरदानयुक्त नेपालका पाखा र खोँचमा अनेक महाकाव्य लुकेर बसेका तथा कैयौँ आविष्कार गर्भमा रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रज्ञा–प्रतिष्ठानले नेपाल र नेपाललाई चिनाउने आधिकारिक र प्रामाणिक ग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशनको योजना अगाडि बढाएकोमा आफूलाई हर्षित तुल्याएको बताउनुभएको थियो । उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय सङ्ग्रहालय निर्माणको प्रक्रिया शुरु हुनाले अग्रजको सम्मानको प्राज्ञिक थालनी भएको र यस्ता काममा सरकारको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभएको थियो ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले सभालाई सम्बोधन गर्नुहुँदै पछिल्लो समयमा नेपाली संस्कृतिमाथि अतिक्रमण बढ्दै गएकाले त्यसलाई रोक्न सम्पूर्ण संस्कृतिकर्मीहरूलाई आग्रह गर्नुभयो । उहाँले देशको कला, साहित्य, इतिहास र संस्कृतिको संरक्षण गर्न प्राज्ञिक वर्गलाई संवेदनशील हुन आग्रह गर्नुभयो । नेपालको विविध भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल विश्वका ठूला मुलुकहरुको भन्दा कम नभएको भन्नुहुँदै  मन्त्री भट्टराईले पूर्वीय संस्कृतिभित्रको  विविधता जोगाउन विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई अनुरोध गर्नुभयो ।

कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्यक्रमहरूको समीक्षा र भावी कार्यक्रमिक योजनाबारे सभामा छलफल हुने बताउनुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानको जीवनमा प्राज्ञ सभाको विशिष्ट भूमिका रहने उल्लेख गर्नुभयो । उपकुलपति डा‍. जगमान गुरुङ र सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले क्रमशः स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले ३५ औँ प्राज्ञ सभा बैठकको सफलताको कामना गर्नुभएको थियो ।

सभाको बैठक आरम्भ हुनुअघि पदेन प्राज्ञ सभा सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई सभाका अध्यक्ष कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानको प्रतीक चिन्ह लगाइदिनुभएको थियो ।  

त्यसपछि प्राज्ञ सभाका अध्यक्ष गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको प्राज्ञ सभाको ३५ औँ बैठकले गत आ।व।को खर्च पारित गर्दै चालू आवका लागि १९ करोड ५० लाखको अनुमानित बजेट पारित गरेको छ । सभाले वार्षिक नीति र कार्यक्रमसमेत पारित गरेको छ । यसै गरी प्राज्ञ सभाको ३५ औँ बैठकले आ।व। २०७७/०७८ का लागि विभिन्न प्रज्ञा पुरस्कारहरूको निर्णय गरेको छ भने एक जना आजीवन सदस्य र दुई जना मानार्थ सदस्य मनोनयन गरेको छ ।

बैठकले प्रा.डा.  वीरेन्द्रप्रसाद मिश्रलाई नगद दुई लाखको नेपाल सामाजिकशास्त्र/संस्कृति/ दर्शन शास्त्र पुरस्कार र नगद दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकरलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले दुई दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत, आसामका लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने ३ हजार अमेरिकी डलर वा सो बराबरको नेपाल प्रज्ञालङ्कार सम्मान चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी बैठकले डा.महेशराज पन्त र प्रा.डा. सूर्यप्रसाद सुवेदीलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यता र आनन्ददेव भट्टलाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।