भारतमा लोकसभा निर्वाचन सुरु

पहिलो चरणमा ९१ सिटका लागि चुनाव हुँदै

भारतमा लोकसभा निर्वाचन सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

काठमाडौं । भारतमा पहिलो चरणको लोकसभा निर्वाचन बिहीबार सुरु भएको छ । 

निर्वाचनअन्तर्गत २० राज्यका ९१ सिटका लागि मतदान भइरहेको छ । जसअन्तर्गत आन्ध्र प्रदेशमा २५, अरुणाचल प्रदेशमा २, उत्तराखण्डमा ५, तेलंगानामा १७, उत्तर प्रदेशमा ८, विहारमा ४, आसाममा ५, महाराष्ट्रमा ७ सिटका लागि मतदान भइरहेको छ । यस्तै, उडिसामा ४, पश्चिम बंगालमा २, छत्तिसगढमा १, मेघालयमा २, मिजोरममा १, नागाल्याण्डमा १, सिक्किममा १, लक्षदीपमा १, अंडमान निकोवार दिपमा १, जम्मू कश्मिरमा २, मणिपुरमा १ र त्रिपुरामा १ सिटका लागि उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ । 

बिहान ११ बजेसम्म झण्डै २५ प्रतिशत मत खसिसकेको छ । अहिलेसम्म नागाल्याण्ड राज्यमा सर्वाधिक मत खसेको छ । नागाल्याण्डमा ४१ प्रतिशत मत खसेको भारतीय समाचार एजेन्सीले जनाएका छन् । यसैगरी पश्चिम बंगालमा ३८, उत्तराखण्डमा २३.७८ र विहारमा २२ प्रतिशत मत खसेको छ ।

पहिलो चरणको निर्वाचनअन्तर्गत जुन मुख्य नेताको भाग्य इबिएममा कैद हुन गइरहेको छ, ती हुन्, केन्द्रीय मन्त्री जनरल वीके सिंह, नितीन गडकरी, हंशराज अहिर, किरण रिजिजु र महेश शर्मा । 

चार प्रदेशमा विधानसभाको पनि चुनाव 

चार प्रदेशमा लोकसभा चुनावसँगै विधानसभाको निर्वाचन पनि हुँदैछ । आन्ध्रप्रदेश, सिक्किम, अरुणाञ्चल प्रदेश र उडिसामा विधानसभाका लागि पनि निर्वाचन भइरहेको छ । 

अघिल्लो निर्वाचनमा यस्तो थियो नतिजा

आज निर्वाचन भइरहेका ९१ क्षेत्रमा २०१४ को चुनावमा दलहरूको विजयीस्थिति यसप्रकार रहेको थियो ।

भाजपा– ३२
कांग्रेस– ७
टिडिपी– १६
टिआरएस– ११
वाइएसआर– ९
बिजेडी– ४
शिवसेना– २
टिएमसी– २
सिपिएम– १
एलजेपी– १
एनसिपी– १
एनपिआई– १
एनपिएफ– १
पिडिपी– १
एसडिएफ– १
एएमआइएम– १