पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्कियो

पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको स्वाब अस्पतालमै  थन्कियो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष १, २०७७

सल्यान । स्वास्थ्य सेवा कार्यालय सल्यानमा आर्थिक अभाव हुँदा पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ । सङ्कलन गरिएको स्वाब सुर्खेतसम्म पुर्याउन अर्थाभावका कारण पठाउन नसकिएपछि अस्पतालमै थन्किएको हो ।

कोरोना परीक्षण केन्द्र सुर्खेतसम्म सङ्कलन गरिएको स्वाब पठाउन यातायातका लागि दिनुपर्ने रकम अभाव हुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनुभयो । स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाले महिनाको दुईपटक स्वाब पठाउनका लागि यातायात खर्च व्यहोर्ने भए पनि उक्त खर्च पनि पर्याप्त नभएको पुनको भनाइ छ ।

'एउटा गाडीले सुर्खेतसम्म पुगेको सात हजार ५०० रुपैयाँ लिन्छ तर संस्थाले सात हजार रुपैयाँ मात्र पठाउने गर्छ । थप पैसा उपलब्ध हुन नसकेपछि एक हप्ता अगाडिदेखि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ', पुनले भन्नुभयो ।

स्वाब सङ्कलन गरेर पनि पिसीआर रिपोर्ट नआउँदा स्थानीयवासी समस्यामा पर्न थालेका छन् । 'स्वाब दिएको एक हप्ता भइसक्यो, होमआइसोलेसनमा छु, स्वाब दिएको लामो समय बितिसक्दा पनि रिपोर्ट नआउँदा कामकाज गर्न समस्या भयो', पत्रकार सरिता चलाउनेले बताउनुभयो ।

कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएर स्वाब दिएको एक हप्ता बितिसक्दा पनि रिपोर्ट नआउँदा मानसिक तनावसमेत हुन थालेको स्वाब दिएकाहरुले बताउन थालेका छन् । 'कोरोना सङ्क्रमण भएको १४ दिनमा निको हुन्छ भन्ने छ तर स्वाब दिएको १४ दिनसम्म पनि रिपोर्ट नआएपछि किन परीक्षण गराउने', स्वाब दिएका एक स्थानीयवासीले भन्नुभयो ।

सङ्कलन गरिएको स्वाब कहिलेसम्म पठाउने भन्ने यकिन नभएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा समेत गाडी भएको तर निकै पुरानो भएकाले समस्या भएको छ । कतिपय स्थानीय तहहरुसँग समन्वय गरेर स्वाब पठाउने गरे पनि सरकारले नै लक्षण देखिएमा मात्र स्वाब सङ्कलन गर्नु भनेपछि स्थानीय तहहरुले समेत स्वाब सङ्कलन गर्न छाडेका छन् ।