केही दिन स्थिर जस्तै रहेको सुनको मूल्य ८०० को वृद्धि

केही दिन  स्थिर जस्तै रहेको सुनको मूल्य ८०० को वृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १, २०७७

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । मङ्गलबारको तुलनामा प्रतितोला ८०० रुपैयाँले उकालो लागेको महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५० रुपैयाँमा कारोवार भएको छ । मङ्गलबार भने ९१ हजार  ८५० रुपैयाँमा कारोवार भएको थियो । यस्तै, चाँदीमा पनि प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ । मङ्गलबार एक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँमा कारोबार भएको छ ।