बुकर इन्टरनेसनल पुरस्कार : पोल्याण्डकी ओल्गासँगै पाँच महिला होडमा

बुकर इन्टरनेसनल पुरस्कार : पोल्याण्डकी ओल्गासँगै पाँच महिला होडमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

लण्डन । यस वर्षको बुकर इन्टरनेसनल पुरस्कारको नोमिनेसनमा महिलाको दबदबा देखिएको छ । 

पुरस्कारका लागि नोमिनेसनमा परेका ६ उपन्यासकारमध्ये पाँच महिला छन् । 

गत वर्षकी अवार्ड विजेता पोल्याण्डकी लेखिका ओल्गा टोकरिजुक पनि पुरस्कारको नोमिनेसनमा परेकी छन् । उनलाई ‘ड्राइभ योर प्लो ओभर द बोन्स अफ द डेडु’बाट नोमिनेसन गरिएको छ । उनले गत वर्ष ‘बेगुनी’को अंग्रेजी अनुवाद ‘फ्लाइट्स’बाट पुरस्कार जितेकी थिइन् । 

ओल्गासँगै ओमानकी जोखा अल–हार्थी, फ्रान्सकी एनी एर्नाेक्स, जर्मनीकी मैरिन पाँसमैन र चिलीकी आलिया ट्राबुलाई पुरस्कारका लागि नोमिनेसन गरिएको छ । 
यस्तै, पुरस्कारमा कोलम्बियाका उपन्यासकार जुआन गर्बियल एक मात्रै पुरुष दाबेदार छन् । उनलाई ‘द सेफ अफ द रुइंस’बाट नोमिनेसन गरिएको छ । 

बुकर इन्टरनेसनल साहित्यको क्षेत्रमा दिइने ब्रिटेनको प्रतिष्ठित पुरस्कार हो । यो विश्वभरका उपन्यासको अंग्रेजी अनुवादका लागि दिइन्छ । 

सन् २००५ मा सुरु भएको यो पुरस्कार सुरुमा प्रत्येक दुई वर्षमा दिने गरिन्थ्यो । तर, सन् २०१६ बाट यो पुरस्कार हरेक वर्ष दिन थालियो । पुरस्कार जित्नेलाई ६५ हजार डलर नगद पुरस्कार दिइन्छ । त्यो रकम लेखक तथा अनुवादकबीच बाँडिन्छ । 

पुरस्कार विजेताको घोषणा मे २१ मा हुने खबर एएफपीबाट साभार गरिएको हो ।