प्रज्ञा–प्रतिष्ठानद्वारा  प्रज्ञाहरुलाई  पुरस्कार तथा सम्मान  प्रदान  गर्ने घोषणा

प्रज्ञा–प्रतिष्ठानद्वारा  प्रज्ञाहरुलाई  पुरस्कार तथा सम्मान  प्रदान  गर्ने घोषणा

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष २, २०७७

 काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले  विभिन्न प्रज्ञा पुरस्कारको घोषणा गरेको छ । मङ्गलबार सम्पन्न प्रतिष्ठानको प्राज्ञ सभाको ३५ औँ बैठकले सो निर्णय गरेको हो । बैठकले प्रा.डा.  वीरेन्द्रप्रसाद मिश्रलाई नगद दुई लाखको नेपाल सामाजिकशास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार र नगद दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकरलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसै गरी एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले दुई दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत, आसामका लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने ३ हजार अमेरिकी डलर वा सो बराबरको नेपाल प्रज्ञालङ्कार सम्मान चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गर्ने निर्णय गरेको प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा। जगत्प्रसाद उपाध्यायले जानकारी दिनु भएको छ । 

सुवेदी र पन्तलाई मानार्थ, भट्टलाई आजीवन

बैठकले प्रा.डा.  सूर्यप्रसाद सुवेदी र इतिहासकार डा. महेशराज पन्तलाईलाई मानार्थ सदस्यता दिने निर्णय गरेको छ । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापनरत डा. सुवेदी काठमाडौँको ल क्याम्पस हुँदै बेलायतको हल र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका व्यक्ति हुन् ।

हालसम्म प्रज्ञा–प्रतिष्ठानबाट धनशमसेर जबरा, धरणीधर कोइराला, गोविन्दबहादुर मल्ल गोठाले, शम्भुप्रसाद मिश्र, सिद्धिमुनी शाक्य र तेजरत्न कंसाकार मानार्थ प्राज्ञमा मनोनित भएका छन् भने २०५१ सालपछि कालीदास श्रेष्ठ, जनकलाल शर्मा, दुर्गालाल श्रेष्ठ, नातिकाजी श्रेष्ठ, बदरीनाथ भट्टराई, सुन्दर झा शास्त्री र केशव दुवाडीले मानार्थ सदस्यको सम्मान पाएका छन् । जसमध्ये तेजरत्न कंसाकार, कालीदाश श्रेष्ठ र दुर्गालाल श्रेष्ठ मात्र हाल जीवित रहनु भएको छ ।