किराँत लिम्बूका मौलिक संस्कृति र परम्परा

किराँत लिम्बूका मौलिक संस्कृति र परम्परा

हरिचन्द्र लावती  |  जीवनदर्शन  |  चैत्र २८, २०७५

प्रारम्भ

मुन्धुम् एउटा शास्त्र वा दर्शन हो, जुन मानिस, धर्म, संस्कृति, भाषा, साहित्य, कलासँग सम्बद्ध हुन्छ । धार्मिक रूपले मुन्धुम् वेद, त्रिपिटक, बाइबल वा कुरान जस्ता ग्रन्थजस्तै मान्न सकिन्छ । मुन्धुम्ले ‘जीवन र जगत अथवा विश्व ब्रम्हाण्ड के हो ? तिनीहरूसँग मानव र चराचर जगतको के सम्बन्ध छ ?’ जस्ता जिज्ञासा पैदा गराउने र त्यस्ता जिज्ञासाको निरुपण समेत गराउने भएकाले यसलाई दर्शनको रूपमा पनि लिइन्छ । यस अर्थमा धर्म र धार्मिक ग्रन्थले मानिसलाई कुनै न कुनै रूपमा पथ–प्रदर्शन  वा प्रभाव पारेको हुन्छ, किनकि यसले उसको पौराणिक इतिहास, जीवनगाथा र जीवनशैलीको व्याख्या गरेको हुन्छ । साथसाथै मुन्धुम् वा शास्त्रले मानिसको नित्य कर्मकाण्डीय अनुष्ठानको समेत व्यवस्था गरेको हुन्छ– माङ्घ मुन्धुम् वा अनुष्ठान सम्पन्न गर्ने मन्त्र, सामग्री, विधि, इत्यादि यसमा हुन्छ । 

धर्म

धर्म एउटा आस्था हो, विश्वास हो । मानिसलाई धर्मग्रन्थको स्वरूप र व्याख्याले ठूलो प्रभाव पार्छ । मानिसले आफूलाई जहाँ पाउँछ त्यहीँ आफ्नो विश्वास र सम्मति प्रकट गर्छ । त्यहीँ विश्वासको आधारमा मानिस आफ्नो जीवन पद्धतिलाई रूपान्तरित गर्छ– धार्मिक आस्था र विश्वासको आधारमा । लिम्बू (याक्थुङ्) भाषामा ‘धर्म’लाई ‘साम्यो’ भनिन्छ, जहाँ ‘साम्’को अर्थ ‘आत्मा’ र ‘यो’ को अर्थ ‘अनन्त क्षेत्र’ हुन्छ, जसले साम्योको अर्थ ‘आत्माको अनन्त क्षेत्र’ भन्ने बुझाउँछ । संस्कृत भाषामा धर्मको अर्थ र व्याख्या यस्तो छ– धर्म भनेको संस्कृतको ‘धृ’ धातुबाट बनेको हो, जसको अर्थ हुन्छ– धारण गर्नु । ‘धृ धारयति इति धर्मः ।’ ‘धारणाद धर्मः’ अर्थात् ‘धर्म त्यो हो, जसले हामीलाई सबै प्रकारका विनाश र अधोगतिबाट बचाएर उन्नति÷प्रगतितर्फ अग्रसर गराउँछ ।’ टायलरको भनाइ अनुसार आध्यात्मिक शक्तिमा विश्वास गर्नु धर्म हो । 
त्यस्तै मेलिनोवस्कीका विचारमा धर्म क्रियाको एउटा विधि हो ।

विश्वका प्रमुख धर्म र तिनका धर्मग्रन्थ

विश्वका केही प्रमुख धर्म र तिनका धर्मग्रन्थ उल्लेख गर्न मनासिव हुन जान्छ, किनकि मानवको हरेक कृत्यमा उसको आस्था र विश्वासले काम गरेको हुन्छ । सबै धर्मको एउटै लक्ष्य हो– मानवलाई ‘मोक्ष प्राप्ति’ गराउनु । 

हिन्दू (वेद, भागवत गीता, उपनिषद),  बौद्ध (त्रिपिटक), इस्लाम (कुरान), किराँत (मुन्धुम्), क्रिश्चियन (बाइबल), जैन (जैन आगामास), शिन्तो (कोजिकि),   जुदाइ/Judaism (तोराह/Torah),  शिख/Sikhism (गुरु ग्रन्थ साहिब/Guru Granth Sahib)  ताओ धर्म/Taoism (दाओदेजिङ/ Tao-te-ching/daodejing) ।

धर्मले मानव, जीव, प्रकृति, शान्ति, मेलमिलाप, प्रेम, मित्रता, सहिष्णुतालाई बुझाउने हुनुपर्छ न कि अविश्वास, घृणा, अशान्ति र बहुलट्ठीपनालाई । धर्मको व्यावहारिक पक्ष भनेकै यसले मानवको आचरण कस्तो बनाउने भन्ने नै हो । अन्धतामा भन्दा पनि मानव एकताको पक्षमा धर्मले काम गर्दैछ कि छैन भन्ने नै हो वा सो अनुसार गरिनुपर्छ कि पर्दैन भन्ने नै हो । 

नेपालका धर्म र तिनका धर्मग्रन्थ

नेपालमा १० धर्म रहेका छन् (नखुलेका बाहेक) -CBS Report 2011। ती यस प्रकार छन् :

१. हिन्दू (२,१५,५१,४९२), २. बौद्ध (२३,९६,०९९), ३. इस्लाम (११,६२,३७०), ४. किरात÷किराँती (८,०७,१६९), ५. क्रिश्चियन (३,७५,६९९), ६. प्रकृति (१,२१,९८२), ७. बोन (१३,००६), ८. जैन (३,२१४), ९. बहाइ (१,२८३), १०. सिख (६०९) र अन्य (६१,५८१) -CBS Report 2011

नेपालका १० धर्मअन्तर्गत प्रमुख पाँचका धर्मग्रन्थ यहाँ उल्लेख गरिएका छन्, ती हुन्– 

१. हिन्दू (वेद, भागवत गीता, उपनिषद), २. बौद्ध (त्रिपिटक), ३. इस्लाम (कुरान), ४. किराँत/किराँती (मुन्धुम्लिम्बू /मुदुम्राई/मुन्थुम्याक्खा /मुक्दुम्सुनुवार ) र ५. क्रिश्चियन (बाइबल) । 

यस सन्दर्भमा मुन्धुम् किराँत धर्मसँंग सम्बन्धित भएकाले यहाँ किराँत धर्मको विषयमा प्रस्तुति राख्न चाहान्छु ।

किराँत धर्म

किरात/किराँत धर्म किराँत धर्मावलम्बी (नेपाल राजपत्र, खण्ड ६७, अतिरिक्ताङ्क ४७, ९.२ ख) भनेर नेपाल सरकारले प्रयोग गर्ने व्याख्या र सम्बन्धित जाति स्वयंले संस्थागत रूपमा नै स्वीकार गरेर अङ्गीकार गरेको मूल आधिकारिक शब्दावलीलाई नै तत् तत् जातिको खास धर्म मान्न सकिन्छ । 

२०७५ असार १५ गते राई, लिम्बू, सुनुवार, याक्खा, थामी, जिरेल छ जातिको जातीय संस्थाले एक संयुक्त अपिल जारी गरेका छन् । उक्त अपिलमा उनीहरू नेपालका आदिवासी जनजाति भएकाले राई, लिम्बू, सुनुवार, याक्खा, थामी, जिरेल नेपालका आदिवासी जनजातिले २०४८, २०५८ र २०६८ सालमा सम्पन्न राष्ट्रिय जनगणनामा जातिको महलमा आ–आफ्ना जाति, मातृभाषाको महलमा आ–आफ्ना भाषा, थरको महलमा आ–आफ्ना थर, धर्मको महलमा किराँत धर्म लेखाएर आ–आफ्ना पहिचानलाई राज्यमा स्थापित गरेको सबैमा गर्वसाथ जानकारी गराउँछौं भनेर पुनः आगामी राष्ट्रिय जनगणना २०७८ मा पनि त्यसै गर्न सम्बन्धित सबैमा अनुरोध गरेका छन् (हे. परिशिष्ठ १) । यहाँ ‘किराँत’, ‘लिम्बू’ र ‘मन्धुम्’ किराँत धर्मसँग सम्बन्धित भएकाले यहाँ ‘किराँत’, ‘लिम्बू’ र ‘मन्धुम्’ विषयमा चर्चा गरिने छ ।

किराँत: संक्षिप्त परिचय

किरात/किराँत शब्द महावंश वा साझाबोधक शब्दावली हो । किरात (तत्स.) संस्कृत शब्दावली हो । अतः यो लिम्बू, राई, याक्खा र सुनुवार भाषामा छैन भन्ने कुरा रहेन । लिम्बू, राई, याक्खा र सुनुवार गर्वसाथ आफूलाई किरात भन्न रुचाउँछन् (काइँला २०१७) । किरातलाई नै किराँत वा किराँती भनिन्छ । वर्तमान समयमा लिम्बू, राई, याक्खा र सुनुवारबाहेक नेपालका अन्य जाति पनि आ–आफ्ना संस्थामार्फत् औपचारिक रूपमा आफूहरू किरात भएको आधिकारिक जानकारी दिएका छन् (हे. परिशिष्ट १) । यहाँ किरात/किराँत/किराँती शब्दको अर्थ विभिन्न स्रोतमा उल्लेख गरिएको छ, जसलाई यहाँ प्रस्तुत गरिएको छ:

‘किरात /किरात्, किराँत्/ (तस.) ना. १.पूर्वी नेपालको पहाडी क्षेत्रमा बसोवास गर्ने एक जाति, राई लिम्बू २. राई लिम्बूहरू बस्ने पुरानो थलो ।’ (अधिकारी पु.मु. २०६६: पृ.१७७) । ‘किराँत (सं, किरात,ना.) पूर्वी नेपालको पल्लो किराँत र माझ किराँत नामको प्रशिद्ध भूस्थल । त्यही भूस्थलका निवासी । राई लिम्बू । हिमवत्खण्डमा उल्लिखित सिकार खेलेर जीविका गर्ने आदिम पहाडी जाति । अति प्राचीन नेपालको कुनै प्रदेशमा शासन गर्ने एक राजवंश । किरात = किराँत । (नेपाली शब्दसागर, पृष्ठ ३४७)” । “किराँत = १ पूर्वी नेपालमा पर्ने माझ किराँत तथा पल्लो किराँतका नामले प्रशिद्ध एक प्रदेश; किरात । २ त्यस प्रदेशमा बसोवास गर्ने प्राचीन एक जाति; राई लिम्बू । ४ प्राचीन नेपालमा शासन गर्ने एक राजवंश । (नेपाली बृहत शब्दकोश, पृष्ट २२६)” 

किरात सभ्यता अति प्राचीन सभ्यता हो । किरात सभ्यता पूर्व वैदिक कालदेखि अस्तित्वमा रहेको पाइन्छ । हिन्दू धर्मग्रन्थमा समेत वर्णित ‘किरात’ अस्तित्व महाभारतमा पनि वर्णन भएको पाइन्छ । यहाँ तल हेर्नुहोस: 
 
यवना: किराता गान्धाराश्चीना: शबरबर्बरा :
शकास्तुषारा : कन्हश्च पद्ववाश्चान्धमद्रका ।। (१२, ६५, १३ )

अब रह्यो महाभारत युद्ध कहिले भएको थियो भन्ने । वास्तबमा समय बित्दै जाँदा नयाँ प्रविधि र तथ्य फेला पर्दै जान्छन् । भर्तक (१९८९, पृ.६३) का अनुसार महाभारत युद्ध इ.पू.५५६१ मा भएको थियो । So the date of the Mahabharata war is pin-pointed as 16th October 5561 BC (Vartak 1989:63)Ú यसले के प्रमाणित गर्छ भने किरात जाति र सभ्यता पूर्व वैदिक र अति प्राचीन छ ।

किरात शब्दावली सरकारी तवरले भने वि.सं. १८१४ मा पृथ्वीनारायण शाहबाट दिइएको ताम्रपत्रबाट प्रयोमा आएको पाइन्छ । यहाँ उक्त ताम्रपत्रको केही अंश उदृत गरिएको छ– 

‘...स्वस्ती श्री श्री श्री राज विविध वंशावली आगे ताहा तादी देखिन किराँत मुलुक बराह–क्षेत्र साङ महाङगढ, लोहाङगढ, इलाम मोरोङगढ, साङलीगढ, गढसाङ इत्यादि विविध पुस्ता राजवंशी आपुङगे राज थामी लियौं । अरु राजा रजौटे मासिने, तिमी किराँतेसोर नमासिने...।’ 

यसले ‘नेपाल’, ‘किरात’ र ‘लिम्बू’बीच प्रत्यक्ष ऐतिहासिक सम्बन्ध रहेको देखाउँछ । 

लिम्बू जाति

लिम्बू आगन्तुक शब्द हो । लिम्बूहरू आफूलाई याक्थुङ् भन्छन् । स्त्री लिम्बूलाई याक्थुङ्मा ? याक्थुङ् + स्त्री.श्र र पुरुष लिम्बूलाई याक्थुङ्बा ?याक्थुङ् + पु.श्र भनिन्छ । लिम्बूलाई खाम्बोःङ्बा–लुङ्बोःङ्बा (धर्ती–पुत्र/पुत्री) वा सावावायेÞहाङ्को सन्तान भनिन्छ । अहिले पनि दुःख–सुखको जस्तोसुकै कार्यमा पनि ‘दश लिम्बू सत्र थुम्को थिति अनुसार...।’ भन्ने गरिन्छ । लिम्बूको मुन्धुम्मा ‘सिन्युक् मुदेÞन्’ पटक–पटक वर्णनमा आउँछ । ‘सिन्युक्’को अर्थ ‘चीन’ र ‘मुदेÞन्’को अर्थ ‘भोट/भोटे’ हुन्छ । लिम्बू भाषा भोट–बर्मेली भाषा परिवारमा पर्छ । यसरी मुन्धुम् र भाषाको सन्दर्भमा पनि लिम्बूको चीन–तिब्बतसँग कुनै न कुनै परिवेश र भौगोलिक अर्थमा सम्बन्ध रहेको पाइन्छ, जुन कुरा समाजशास्त्रीय एवं पुरातात्विक अध्ययनसँग तादाम्यता राख्छ । 

लिम्बू शब्दावली सरकारी तवरले वि.सं. १८३१ मा पृथ्वीनारायण शाहबाट दिइएको लालमोहरबाट प्रयोगमा आएको पाइन्छ । यहाँ उक्त लालमोहरको केही अंश उदृत गरिएको छ– ‘...तिमीहरूको आँपै आँप आपुंगी खैंन पैंन माथि लेखेबमोजिम जिमीं भूमि जानी चलन गरी खानू । हामीले खोसी मांस्ये मानी पूजी ल्याएको देवताले हाम्रो राजकाज भंङ नासोस् भन्या ताँम्ब्राँ पत्र वाचाको तंसली मुलुको लालमोहोर बाँधी माथि लेखिन्ये लिम्बू कुल भाइलाई दिञ्युं इति सम्बत् १८३१ साल मिति श्रावण सुदि २२ रोन २ बार मुकांम कान्तिपुर राजधानी...।’

‘लिम्बू’ शब्दावलीको अर्थ विभिन्न स्रोतमा यसरी अर्थ र परिभाषा निम्नानुसार दिइएको छ –

लिम्बू ? भो.ब., ना.श्र लिम्बूआनमा बस्ने एक किराँत जाति । (नेपाली शब्दसागर, पृष्ठ १५१५)
लिम्बु–ना. ?भो.ब.श्र लिम्बूवान क्षेत्रमा बस्ने एक किराँत जाति । (नेपाली बृहत् शब्दकोश, पृष्ठ १११३)

पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, सङ्खुवासभा, मोरङ, झापा र सुनसरी लिम्बूको बसोवास रहेका प्रमुख जिल्ला हुन् । यीमध्ये पाँचथर सबैभन्दा सघन लिम्बू बस्ती भएको जिल्ला हो । यसबाहेक काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लामा पनि लिम्बूको बसोवास छ । नेपालबाहिर भारत, हङकङ, बेलायत, अमेरिका, ब्रुनाइ लगायतका देशमा पनि लिम्बूको बसोबास छ । नेपालमा लिम्बूको जम्मा संख्या ३ लाख ८७ हजार ३ सय रहेको छ, जुन नेपालीको जनसंख्याको क्रमसंख्यामा चौधौं स्थानमा पर्छ । -C.B.S. 2011_

लिम्बू संस्कृति र परम्परा

किरात लिम्बू जाति मौलिक सस्कृतिले सम्पन्न जाति हो । विभिन्न चाडपर्व, विविध सांस्कृतिक क्रियामा अनेक संस्कार मान्ने परम्परा छन् । केही महत्वपूर्ण मौलिक चाडपर्व यहाँ वर्णन गरिन्छ ।

लिम्बू चाडपर्व

कःक्फेक्वा तङ्नाम् र कुसङ्तङ्बे 

कःक्फेक्वा तङ्नाम् कःक्फेक्वा महिनामा मनाइन्छ । यही महिनाको १ गतेदेखि नयाँ येले संवत सुरु हुन्छ (लावती ५०७९) ।
यक्वा तङ्नाम् 

अन्नबाली लगाउनुअघि समयमा पानी परोस्, अन्नबाली सप्रियोस्, बाढीपहिरो नलागोस्, सुख्खा नहोस् भनी गरिने प्रकृति पूजालाई यक्वा तङ्नाम् भनिन्छ । 

सिसेःक्पा तङ्नाम् 

सिसेःक्पा महिनामा मनाइने यो पर्वमा, त्यो साल उत्पादित अन्नबाली फलफूल नयाँ बाबियोको डोरीमा झुण्ड्याई चढाइन्छ, ‘साक्च्योङ् लन्देपेःगे (साक्च्योङ् निस्किजा)’ भन्दै भोकमरीको देवता ‘साक्च्योङ्’लाई धपाइन्छ, आदि ।

वलिहाङ् तङ्नाम् 

हरेक वर्ष सिसेःक्रो र सेन्छेङ्ला महिनाको लाःसिःबाको दिन वलिहाङ् राजाको स्मृतिमा लाःरिङ्गेत् ?लाः–लिङ्–केत्श्र र नाम्लिङ्गेत् ?नाम्–लिङ्–गेत्श्र खेलिन्छ । 

चासोःक् तङ्नाम् 

हरेक सालको सेन्छेङला र सिसेःक्ला महिनामा यो पर्ब मनाइन्छ । नयाँ साल उत्पादित अन्नबाली कृषियुगको आरम्भकर्ता सिबेरा एक्थुक्माको स्मरण गर्दै तागेरानिङ्वाभुमाङ्लाई अर्पण गरिन्छ ।

तङ्सुम् तङ्नाम् 

कुम्मायक् गाउँपाकिामा अवस्थित कुम्मायक् कुस्सायक्मा हरेक तीन वर्षमा लाग्ने पूजा तथा मेला/पर्बलाई तङ्सुम् तङ्नाम् भनिन्छ, इ. ।

लिम्बू लोकभाका

लिम्बू संस्कृतिमा सुख–दुःख कार्यमा, पूजाआजामा तथा चाडपर्वमा गाइने लोक भाकामा माङ्घ भाका, तुवा भाका, ख्यालि भाका, तुम्याहाङ् साम्लो, नुवाप्मा भाका, पालाम् भाका, खाहुन् भाका, केसाम् भाका, हाक्पारे भाका, हाम्लाक्वा भाका आदि पर्छन् ।  

लिम्बू लोकनृत्य

लिम्बू जातिमा प्रचलित नृत्यमा या?लाङ्, केलाःङ, येबा/येमा लाःङ्, माङ् लाःङ्, ताम्क्या हाङ्साम् नाच आदिलाई प्रमुख रूपमा लिन सकिन्छ । या?लाङ् कृषिसँग सम्बन्धित छ । केलाःङ् घर निर्माणमा थक्थामा (घुन झार्ने) क्रियासँग सम्बन्धित छ । येबा/येमा लाःङ् तङ्सिङ् तक्मा मुन्धुम्सँग सम्बन्धित छ । माङ् लाःङ् पूजा अनुष्ठानँंग सम्बन्धित छ । ताम्क्या कृषि व्यवसायमा खासगरी धान रोप्दै वा मकै गोड्दै नाच्ने लिम्बू जातिको लोक परम्परासँग सम्बन्धित छ । 

लिम्बू लोकबाजा

लिम्बू संस्कृतिमा ‘के’ नामक बाजा सर्बाधिक लोकप्रिय र महत्वपूर्ण बाजा मानिन्छ । विवाह, चाडपर्व, कार्यक्रममा ‘के’ को प्रयोग गरिन्छ । आवाजको आधारमा ‘के’लाई ‘च्याब्रुङ्’ पनि भनिन्छ । ‘चेथ्या’ अर्को सांगीतिक साधन हो । पःङ्गेतुङ्गे पनि येबाले समेत प्रयोग गर्ने सांगितिक साधन हो । 

लिम्बू खाना

लिम्बू खाना परम्परागत र प्राकृत किसिमका छन् । यहाँ केही लिम्बू खानाको उदाहरण दिइएको छ: याङ्बेन्, चेम्बिगिक्, पपन्दा, पेनागोल्या, सिगोल्या, माङ्दक्, सार्ग्याङ्मा, लुङघाक्चा, सगि सुम्बाक्, वम्युक्, फान्दो, मेसु, थि, तोङ्बा, सेजङ्वा, पेना मान्दा, खरेङ् आदि ।

लिम्बू भेषभूषा र गरगहनाे

लिम्बू जातिको पोशाक मौलिक र प्राकृत किसिमका छन्– उत्पादन, निर्माण र प्रयोगको पक्षमा । ती हुन्, सर्दक्पा (भाङ्ग्रे सिस्नुको कपडाबाट तयार गरिएको घुँडासम्म आउने भोटो जस्तो पोशाक), तागाबा (सेतो फेटा जस्तो पोशाक), मेख्लि (सर्दकपाझैं स्त्री पोशाक), कान्धि (प्वाँलो), कोथिमोडा फेजा? कोथिमोडा खुकुरी आदि । 

लिम्बू भाषा र लिपि

लिम्बू भाषा भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । लिम्बू भाषालाई ‘याक्थुङ् पाःन्दाङ्’ वा ‘याक्थुङ् पाःन्’ भनिन्छ । लिम्बू भाषा लेख्न प्रयोग गरिने लिपिलाई ‘किरात सिरिजङ्गा लिपि’ अथवा ‘सिरिजङ्गा लिपि’ भनिन्छ । यो भाषामा २४+१ व्यञ्जन वर्ण छन्– क(ग), ख(घ), ङ, च(ज), त(द), थ(ध), न, प?(ब), फ(भ), म, य, ल(र), व, स(छ)–(श), ह ।

लिम्बू भाषामा प्राथमिक स्वर ध्वनि ९ वटा हुन्छन् (अ, आ, इ, उ, ए, ऐ, ओ, औ, ए) जसमा ऐ र औ बाहेक सबै प्राथमिक स्वर ध्वनिमा स्वरदीर्घता (:) प्रयोग हुन्छ । 

परम्परागत रूपले कण्ठ्य स्पर्श स्वभाव भएको चिन्हलाई मुक्फ्रङ्   भनिन्छ र यसलाई सिरिजङ्गा लिपिमा (ऋ) लेखिन्छ । यसलाई कण्ठ्यस्पर्शी व्यञ्जन वर्ण (काइँला २०५९: ३५) को समूहमा राखिएको पनि छ । स्वरदीर्घता (:) स्वभाव हुने यो चिन्हलाई केःम्भङ्/केःम्पेङङ्लाई सिरिजङ्गा लिपिमा (:) लेखिन्छ । हलन्त स्वभाव भएको चिन्हलाई सइ ( ् ) भनिन्छ, जसलाई सिरिजङ्गा लिपिमा ( () लेखिन्छ । यहाँ केःम्भेङ् र सइको सन्तुलित प्रयोगले हलन्त, स्वरदीर्घता र सइको राम्ररी संयोजन गरिएको छ, उदाहरणको लागि–   ।

लिम्बू भाषा लेख्न स्वर वर्णको आधारभूत लेख्य चिन्ह -basic graphem_ एउटै मात्र हुन्छ (लावती २०७३) त्यो हो ‘अ’ । त्यही ‘अ’ मा यी क्रमश   उप–चिन्हहरू थप्दा आधारभूत स्वर वर्ण बन्छन् । 

नेपालमा लिम्बूभाषीको जम्मा संख्या ३ लाख ४३ हजार ६ सय १ रहेको छ, जुन नेपालमा बोलिने भाषा संख्याको क्रमसंख्यामा बाह्रौं स्थानमा पर्छ -C.B.S. 2011

Hodgson (1847) जो Assistant Resident को रूपमा नेपाल आए ले आफ्नो 'Asiatic Researches' vol.xvi p.409 मा उसबखत नेपालमा १३ भाषा थिए भनेका छन् । पुस्तकले के संकेत दिएको छ भने नेपालमा केवल तीन भाषिक समूह (नेवारी, लिम्बू र लेप्चा)सँग मात्र आफ्नो लिपि थियो ।
 
हेना मःमा: लिम्बू संस्कार 

लिम्बू जातिमा पाहुना लगायतका व्यक्तिलाई सत्कार गर्दा, जस्तै: खाना दिएको बखत पाहुनाको अगाडि खानेकुरा राखिदिएर विशेष सत्कारको अनुरोध गरिन्छ, जसलाई ‘हेना मःमा’ भनिन्छ । यसको नमुना यहाँ तल दिइएको छ ।

 भावार्थ:

घरधनी: हजुर श्रद्धेय व्यक्तित्वज्यूहरू, सुख–दुःख खाऔं है । खै के गर्नु र सिस्नुको बोट चढ्न सकिन्न, आफ्नो दुःख  लुकाउन सकिन्न । घाम लाग्नाले अन्न भएन, तिरो तिरानले रूपैयाँ सकियो । यस्तै मात्र भयो है । मीठो भए/नभए पनि समातौँ है, खाऔँ है । हात जोडेँ है, अनुरोध गरेँ है । सरम नगरी खाऔँ है ।

पाहुना: सुख–दुःख है भन्नुहुन्छ । तर, हाम्रो अगाडिको खाना हेर्दा त तपाईँ घरधनी हुने–खाने मानिस हुनुहुन्छ होला है ।
क्रमश:

हरिचन्द्र लावतीले नेपाल प्रज्ञा–प्रतिष्ठान तथा दमक नगरपालिका, दमक प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आयोजित प्रदेश नं. १ स्तरीय त्रिदिवसीय बृहत् वाङ्मय सङ्गोष्ठी– २०७५ मा प्रस्तुत गरेको ‘किराँत मुन्धुमको दार्शनिक चिन्तन’ विषयक कार्यपत्रलाई आलेखको रूपमा प्रस्तुत गरेका छौं । किराँत धर्म र लिम्बू जाति, मन्धुमको सृष्टिसँगको नाता, मुन्धुम् र सामाजिक जीवन  मुन्धुम् र तान्त्रिका विषयमा क्रमशः प्रकाशन गरिनेछ ।