होमियो चिकित्सा पद्धति एक जानकारी

होमियो चिकित्सा पद्धति एक जानकारी

शिरिष अर्ज्याल  |  जीवनशैली  |  चैत्र २८, २०७५

होमियो चिकित्सा पद्धतिको आविष्कार तथा यसको व्यवस्थित विकास जर्मनका वैज्ञानिक तथा अनुसन्धानदाता डा. स्यामुयल हैनमिनद्वारा सन १७९६ मा भएको थियोे । साथै यस चिकित्सा प्रणालीको विकासको श्रेय डा. कान्सटेन्टिन हैरिङ, एमएल टाइलर र आर. ह्युग्स आदिलाई पनि छ । 

होमियोप्याथिक चिकित्सा प्रणाली नेपालमा एउटा भरपर्दो चिकित्साको रुपमा विकसित हुँदै गएको चिकित्सा प्रणाली  हो । यो सस्तो चिकित्सा प्रणाली पनि भएका कारण आर्थिक रुपले विपन्न परिवारले यसबाट लाभ उठाई स्वस्थ र निरोगी जीवनयापन गर्न सक्छन् । 

यस चिकित्सा प्रणालीका आविष्कारक जर्मन वैज्ञानिक डा. स्यामुयल हैनमिन हुन् भने यस चिकित्सा प्रणालीलाई नयाँ प्रयोग गरी विकसित गर्ने श्रेय वा यस चिकित्सा प्रणालीलाई प्रयोगात्मक सिद्धान्तद्वारा परिमार्जित गर्ने श्रेय डा. कान्सटेन्टिन हैरिंगलाई प्राप्त छ । 

डा.हैरिंगले होमियो चिकित्सा प्रणालीमा गर्नु भएको आविष्कार तथा उहाँको सिद्धान्तलाई ‘हैरिंग्स ल’ भनेर भनिन्छ । यस सिद्धान्त अनुसार होमियोप्याथिक औषधिले रोगीमा कस्तो असर गरिरहेको छ भन्ने कुराको जानकारी प्राप्त गरिन्छ । डा. हैरिंगको सिद्धान्त अनुसार कुनै पनि रोगको लक्षण भित्रैदेखि सुरु हुन्छ र त्यो बाहिर आएर समाप्त हुन्छ । वा भनौं होमियोप्याथिक चिकित्साले रोगको निदान हुन्छ । 

शरीरको  महत्वपूर्ण अंगबाट सुरु भई शरीरको कम महत्वपूर्ण अंगमा गई समाप्त हुन्छ । यस प्रणालीको महत्वपूर्ण सिद्धान्त अनुसार जुन रोगको लक्षण सबैभन्दा पछि देखापरेको हुन्छ त्यो रोग सबैभन्दा पहिले निको हुन्छ भने जुन रोगको लक्षण सबैभन्दा पहिले देखा परेको हुन्छ त्यो रोग सबैभन्दा पछि गएर निको हुन्छ । 

होमियोप्याथिक चिकित्सा विधि वा पद्धति भन्नाले एउटा भिन्दै किसिमको चिकित्सा विधि हो । यस विधि अनुसार उपचार वा औषधि गरिएका विरामीको रोग जरै देखि निको हुने गर्छ । केही रोगहरु जस्तै पाइल्स, फिस्टुला, मुसा, पोतो, दुबी, फुन्सी, छाला सम्बन्धी रोगहरुमा होमियो चिकित्सा पद्धति अति कारगर सावित भएकोे छ । यस्ता रोगहरुको अप्रेसन गरे पश्चात पुनः पलाउने सम्भावना रहन सक्छ भने होमियोप्याथिक औषधिको नियमित सेवनले केही समय लागे पनि अन्तत्वोगत्वा रोग समुल निको हुन्छ । विरामीले औषधि भने होमियोप्याथिक चिकित्सकको सम्पर्क तथा सल्लाह बमोजिम लिने गर्नुपर्छ ।  

होमियोप्याथिक विधि वा पद्धति भन्नाले अथवा होमियोप्याथिक पद्धतिको मूल कुरा भन्नाले ‘विषष्य औषध विष’ भन्ने सिद्धान्तमा आधारित छ । 

यस सिद्धान्त अनुसार एउटा लक्षणको जुन रोग देखियो त्यही रोगका तत्वहरुलाई सुक्ष्म बनाएर तथा शुद्धिकरण गरेर रोगीको शरीरमा औषधिको माध्यमबाट प्रवेश गराई कृतिम रोग श्रृजना गरी मूल रोगसँग लड्ने विशिष्ट शक्ति तथा जैविक शक्तिको विकास गराई रोगको समुल निदान गराउने गरिन्छ । 

होमियोप्याथिक चिकित्सा प्रणाली प्रायशः रोगहरुमा अपनाउन सकिन्छ । यो एक सस्तो सुलभ एवं भरपर्दो चिकित्सा प्रणाली हुनुका साथै प्राकृतिक उपायद्वारा औषधिको नियमित सेवनद्वारा विना अप्रेशन तथा चिरफार रोगलाई जरैदेखि निको पार्न सकिन्छ । यस चिकित्सा प्रणालीको एउटा विशेष पाटो भनेको विना (टक्सिक इफेक्ट) विषको प्रभाव नहुनु पनि रहेको छ । 

साथै यस चिकित्सा प्रणाली अपनाउँदा झन्झटिला रोग निदानका विधिहरुबाट मुक्त भई सस्तो तथा सुलभ दरमा उपचार हुन गई रोग निको पार्न सकिन्छ । 

यस चिकित्सा विधिमा चिकित्सकले औषधिकोे कस्तो प्रभाव परिरहेको छ भनेर निरन्तर जानकारी राखी रहने हुनाले रोगीको अवस्था रोगीमा आउँदै गरेको स्फूर्ति आदिलाई पनि ख्याल राख्ने गरिन्छ । 

यस रोगको उपचार गर्ने क्रममा चिकित्सकले रोगीको विगत, पारिवारिक, सामाजिक अवस्था, रोगीको मनपर्ने खानेकुरा तथा स्वभाव आदिको पनि जानकारी राखेर औषधि सिफारिश गर्ने गरिन्छ । उदाहरणको लागि रोगी चिकित्सक समक्ष पुग्दा रोग पत्ता लागे पश्चात रिस कत्तिको उठ्छ ? गुलियो, नुनिलो के खान मन पर्छ ? त्यस्तै सुतेका बखत मुखबाट र्‍याल बग्छ कि बग्दैन् ? आदि प्रश्न गरी रोगीको स्वभाव तथा लक्षण बमोजिम औषधि सिफारिश गर्ने गरिन्छ । यसमा कुन खानेकुरामा पथपरहेज गर्ने, कस्ता खानेकुरा सेवन गर्ने जस्ता कुरापनि चिकित्सकले रोगीलाई जानकारी गराउने गर्छन् । 

होमियोप्याथिक औषधीलाई अति सुक्ष्म बनाई झोलको रुपमा तयार गरिने हुनाले थोरै परिणाममा दिइन्छ । औषधिको एक थोपाले पनि पूर्ण असर गर्ने हुनाले औषधिसँग सेतो चिनीबाट बनेको सुक्ष्म दाना गुलियो पदार्थ दिने गरिन्छ । 

यस उद्देश्यका पछाडी  औषधिको परिणाम कम तथा किफायत गर्न तथा निश्चित परिणामको औषधि मात्र सेवन गराउनु रहेको छ । 

उक्त सेतो गुलियो दाना वास्तवमा औषधि नभई औषधि राख्न एवं सुरक्षित गर्न तथा सही परिणाममा औषधिको सेवन गराउन दिइने एउटा सहायक पदार्थ मात्र हो । 

होमियोप्याथिक औषधि उत्पादन पश्चात मानव शरीरमा परीक्षण गरेर मात्र बाहिर वा बजारमा ल्याइने हुनाले यो एक भरपर्दो वैज्ञानिक उपचार प्रणाली हो । 

होमियोप्याथिक औषधिलाई दक्ष चिकित्सकद्वारा मात्र सिफारिश गरिने हुनाले यसको उपचार विधिलाई भरपर्दो तथा विश्वसनिय मानिन्छ । यो परम्परागत तथा भरपर्दो उपचार प्रणाली भएपनि समय विकास क्रमसँगै आफूलाई आधुनिक बनाउँदै लगेका कारण यो उपचार पद्धति लोकप्रिय वैकल्पिक चिकित्सा विधिका रुपमा हाल देखापरेको छ ।