आमाको किरिया गर्दै छोरी

आमाको किरिया गर्दै छोरी

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ३, २०७७

चितवन । समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै महिला अधिकारका क्षेत्रमा अग्रणी मीना खरेल यतिबेला आमाको किरियामा हुनुहुन्छ । सोह्र वर्षअघि पनि उहाँले बाबुको किरिया गरेर काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यताको विरुद्ध उभिनुभएको थियो । त्यसयता धेरै छोरीले बाबुआमाको किरिया गर्ने गरेका छन् । 

छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै अधिकारकर्मी खरेलले दाजुहरुसँगै आमाको किरिया बस्नुभएको हो । गत मङ्सिर २३ गते ८६ वर्षको उमेरमा आमा झगडी खरेल (पार्वती) को मृत्यु भएपछि अधिकारकर्मी खरेल आफ्ना दाजु युवराज खरेलसँगै कोरामा बस्नुभएको हो । 

समाज परिवर्तनको संवाहक छोरी पनि हुन सक्छ भन्ने मान्यताअनुसार आफू किरिया बसेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'बाबुआमाप्रति छोराछोरी दुवैको बराबर अधिकार र जिम्मेवारी रहन्छ ।'

मीनाले आमाको शवको अन्तिम संस्कार गर्नुभयो, चितामा दागबत्ती दिनुभयो र सेतो कपडा लगाएर कोरामा बस्नुभएको छ । बाबुको किरिया बस्दा मीनालाई कोराभित्र बस्न परिवारले नदिए पनि मीनाले शास्त्रीय नियमअनुसार बाबुको मृत्यु संस्कार गर्नुभयो । त्यसपछि हिन्दूसंस्कारअनुसार बाबुको श्राद्ध मीना आफैँले गर्दै आउनुभएको छ । पचपन्न वर्षीया अविवाहित मीनालाई यसपालि भने किरियामा बस्न परिवारले रोकेन । 

पण्डितले पनि शास्त्रमा छोरो छोरी समान भन्ने उल्लेख भएको जनाएपछि मीनालाई आफ्नो इच्छाअनुसार बस्न सहज भयो । “समय परिस्थिति बदलिँदै जाँदा छोरीले पनि छोरासरह मृतक बुबाआमाको काजकिरिया गर्नु सकारात्मक पक्ष हो' अधिवक्ता फुलमाया रानाभाटले भन्नुभयोे, “बुबाआमाको पालनपोषण र अन्तिम संस्कारमा छोरीको सहभागिताले सांस्कृतिक परिवर्तन गरेको छ ।'भरतपुर महानगरपालिका–४ लकु घर भएकी स्व पार्वती खरेलका नौ छोरी र तीन छोरा हुनुहुन्छ । स्व खरेल आफैँ पनि सामाजिक अभियानमा तल्लीन हुनुहुन्थ्यो ।