देवताको भजन र शरीर त्याग : सांस्कारिक अन्त करणमा संस्कारसहितको प्रभाव

देवताको भजन र शरीर त्याग : सांस्कारिक अन्त करणमा संस्कारसहितको प्रभाव

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  पुष ४, २०७७

 यान्ति देवव्रता देवान् पितृन् यान्ति पितृव्रताः ।
 भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनो ऽपि माम् ।। २५ ।।

अन्वय र अर्थ – देवव्रताः = सकाम भावले देवताको पूजागर्नेहरू, देवान् = देवताहरूलाई, यान्ति = प्राप्त हुन्छन्, पितृव्रताः = पितृहरूको पूजा गर्नेहरू, पितृन् = अग्निष्वात्तादि पितृहरूलाई, यान्ति = प्राप्त हुन्छन्, भूतेज्याः = भूतहरूको पूजागर्नेहरू, भूतानि = भूतहरुमा, यान्ति = प्राप्त हुन्छन्, मद्याजिनः = मेरो पूजागर्नेहरू, मां अपि = ममा नै, यान्ति = प्राप्त हुन्छन् ।

भावार्थ – देवपूजकगण देवताहरूमा प्राप्त हुन्छन्, पितृ पूजकगण पितृहरूमा प्राप्त हुन्छन्, भूतपाजिगण भूतहरूमा प्राप्त हुन्छन्, मद्याजिगण ममा नै प्राप्त हुन्छन् ।

विशिष्टार्थ– कुनै कार्य एकपटक गरिसके पछि त्यसको शक्तिले अर्को पटक गर्न सजिलो हुन्छ र धेरै पटक गरिसकेपछि त्यो अभ्यासमा परिणत हुन्छ । अभ्यास ज्यादा भयो भने त्यो संस्काररूपमा परिणत हुन्छ । 

इच्छा नहुँदा नहुँदै पनि अज्ञातभावले स्वतः सोही कार्यलाई गराइदिनु संस्कारको कार्य हो । किन कि सांस्कारिक अन्तःकरण संस्कार विना अरू कसैलाई जान्दैन । 

यदि मैले कुनै देवताको भजन गरें भने मेरो अन्तःकरणमा ती देवताको संस्कारको प्रभाव पर्दछ । शरीर त्याग गर्ने बेलामा संस्कारको शक्तिले मनमा उनै देवताको आकारको उदय हुन्छ । यदि ती देवताको संस्मरण गर्दै शरीर त्याग हुन्छ भने सोही देवलोकमा गएर उनै देवताको आकार धारण गरेर उनै देवताको सालोक्य (स्वर्गलोक) भोग गर्नु पर्दछ । 

त्यस्तै जसले पितृहरूको आराधना गर्दछन्, ती सबैका अन्तःकरणमा पितृलोकको संस्कार दृढीभूत भएर शरीरान्तमा पितृलोकमा गएर सोही लोकको भोग गर्नु पर्छ । 

जुन मनुष्यहरू भूतादिका याजक छन्, ती सबैको अन्तःकरण पाञ्चभौतिक योनिमा भ्रमण गरिरहन्छ । यी देवता–पितृ–भूतहरूका उपासकहरू पुनरावृत्ति (जन्म मरण) भोग गरिरहन्छन् ।  

परन्तु जुन भक्तिमान् कृतज्ञ पुरुषको ती दुबै इष्ट देवताहरू प्रति इष्ट देवता बुद्धि रहन्छ, तिनै महापुरुषले संझन सक्छन् – गुरुवाक्यमा अटल विश्वासको फल के हो ?  सर्व बाधा अतिक्रम गरेर गुरुवाक्यको अनुष्ठानमा दृढव्रती भएमा तितिक्षा रूप महासाधनको फलले के गराउन सक्दैन ? 

परन्तु जुन साधक मेरो उपासना गर्दछन् तिनीहरू ‘म’ मा प्राप्त भएर  ‘म’ मा मिलेर ‘म’ हुन्छन् । तिनीहरूको फेरि पुनरावृत्ति हुँदैन । 

साधक ! विचार गरी हेर, जब तिमीले पहिलो पटक साधना प्रारम्भ गरेका थियौ, तब तिमीले जुन बाहिर देखिने मूर्तिलाई लिएर कार्य प्रारम्भ गरेका थियौ ती सबै मूर्तिहरू तिम्रो चित्तमा उब्जेर प्रत्यक्ष तैजसमूर्तिले तिम्रो चित्तको एकाग्रतालाई आकर्षण गरेका थिए हैन ? 

ती सबै मूर्तिहरूको आकार देखिए ता पनि स्थूल शरीर जस्ता ती छायाधारी थिएनन्, ती सबै देवता हुन्, किन कि तिनीहरूको छाया हुँदैन । कहिले काहिं मरेर गएका पितृहरू पनि देखिन्छन् ती सबै पितृलोक हुन् । 

अनि कहिले काहिं कैयौं अभूतपूर्व, अदृष्टपूर्व, यस जन्ममा कसैले कहिल्यै नदेखेका र नसुनेका त्यस्ता विकट स्वरूपहरू पनि सामुन्ने आएर खडा हुन्छन्, ती सबैलाई भूत भन्दछन् । 

त्यस्तै – भूत भनेका पृथ्वी, जल, अग्नि, वायु र आकाश हुन्, यी सबै देखिन्छन् पनि । क्रियामा बस्दा पहिले पहिले जुन धेरैजसो मनमा आउँछ, प्रायः त्यस दिनको क्रियामा त्यसको छवि अन्तःकरणमा खेलेर चित्तलाई माथितिर जान दिंदैन । 

त्यसबेला यदि यिनीहरूमध्ये कुनै एकलाई लिएर शरीर त्याग भयो भने जति दिन अव्यक्तभावमा रहनु पर्छ अर्थात् जति दिन पुनः देह धारण गरेर जन्म हुँदैन त्यतिञ्जेल त्यस लोकको भोग गरेर बल संचय गर्नु पर्छ । 

पछि त्यसै बलले सोही आकार लिएर त्यसै गुणमा गुणी भएर जन्म लिएर पुनः संसारको लीलामा नाच्नु पर्छ । यो निश्चय हो । 

त्यस्तै अरू पनि एक निश्चय छ – यदि तिमी ब्रम्हनाडीको भित्र भित्रै माथितिर उठेर चित्तभेद गरेर ‘म’ मा पुग्यौ र त्यस अवस्थामा देह त्याग ग¥यौ भने फेरि तिमी यस मत्र्यलोकमा आउनु पर्दैन । तिमी  ‘म’ हुने छौ ।

    पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति ।
    तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः ।। २६ ।।

अन्वय र अर्थ – यः = जुन साधक (भक्त) ले, मे = मलाई, भक्त्या = भक्तिका साथ, पत्रं = पत्र, पुष्पं = फल, फलं = फल,  तोयं = जल, प्रयच्छति = दिन्छ, अहं = म, प्रयतात्मनः = शुद्धबुद्धि भएको भक्तद्वारा, भक्त्यु पहृतं = भक्तिपूर्वक प्रदत्त, तत् = ती पत्रादिहरू, अश्नामि = ग्रहण गर्दछु ।

भावार्थ – मलाई जो कोहीले भक्तिका साथ पत्र, पुष्प, फल, जल दिन्छ, त्यस शुद्धबुद्धि सम्पन्न भक्तको  भक्रिले दिएका ती पत्रादिहरू म ग्रहण गर्दछु ।

विशिष्टार्थ –‘पत्र’ = वेद, पत्रले छाया दिन्छ, यस छायामा उभिंदा उष्णताको ज्वालायन्त्रणाबाट शान्ति मिल्दछ, त्यस्तै वेदबाट ज्ञानोत्पत्ति हुन्छ, जुन ज्ञानले भवयन्त्रणाबाट अव्याहति (निवृत्ति) प्राप्त हुन्छ । त्यसैले वेद संसारवृक्षको पत्र हो ।

‘पुष्प’– गुरूपदेश, वृक्षको सर्वोत्कृष्ट अंश पूmल हो, त्यस्तै यस शरीर धारणको सर्वोत्कृष्ट अंश गुरूपदेश हो । जसबाट सन्ताप नष्ट तथा आत्मप्रीतिको उठ्भव हुन्छ ।

‘फल’ – गुरूपदेशबाट कृतत्व (अनुष्ठित) लाभ गर्नु ।

‘जन’ – गुरूपदेश ग्रहण गर्ने शक्ति । यस शक्तिद्वारा नै ती पत्र, पुष्प, फलको परिपूर्ण पुष्टि साधन हुन्छ । गुरु वाक्यमा अटल विश्वास गरेर जुन पुण्यवान्ले  यी पत्र, पुष्प, फल, जल ममा अर्पण गर्दछ उसको त्यो अर्पणले ‘म’ लाई ग्रहण नगराई छोड्दैन् ।

यो जुन अर्पणको कुरा गरियो त्यो भित्रको कुरा हो, अन्तर साधनाको फल हो । यस अर्पणको अधिकारी हुनका लागि बाह्य साधनाको प्रयोजन छ । 

बाह्य साधनाले मनको मयल सफा गरेर मनको कृपणता हटाउन नसकेमा अन्तर साधनाको अधिकार प्राप्त हुँदैन । त्यसकारण यस श्लोकको बाह्यभाव प्रकाश गरेर बाह्य साधनाको विषय भनिएको हो ।

मनुष्य जब जीव जगत्मा प्रवेश गर्दछ, तब उसलाई दयाका आधार ममताका उत्स (स्रोत) स्वरूप दुई जीवित इष्ट देवता – माता र पिता प्राप्त हुन्छन् । यी दुबै देवताहरूको शरीर, मन, धन र प्राणको सहायताले उसको त्यही विवश, असक्त, शिशु शरीर विस्तारै विस्तारै वढ्दै गएर मनुष्य हुन्छ । 

ती इष्ट देवताहरूले आफ्नो तन, मन, धन दिएर यति ठूलो बनाए, कुसंग दोष तथा दुष्क्रियाको फलले यदि मानवले तिनै दुबै जीवित देवताहरूको उपासना आप्mनो शरीर, मन, धन र प्राण दिएर गर्न सकदैन भने उसका अर्को – इष्ट देवता भनौं, योगयज्ञ भनौं, अथवा योग समाधि नै भनौं कुनैले पनि राम्रो फल दिन सक्दैन । 

किन भने त्यस मनुष्यले मनसंग मन र प्राणसंग प्राण मिलाउन सिकेको छैन ।     माता–पिता प्रति जसको भक्ति श्रद्धा मन तथा प्राणले हुँदैन कुनै पनि पारमार्थिक कार्यमा उसको अधिकार हुँदैन ।

किन भने, जगत्को जे जस्तो शिक्षा हो, ती निःस्वार्थ दुबै सुहृत्बाट प्राप्त गरेर पनि जुन मनुष्यले ती दुबै प्रति अपव्यवहार गर्दछ, त्यसमा मनुष्यत्व रहदैन । जसमा मनुष्यत्व छैन त्यसले मनोधर्म संझन सक्दैन । 

जसले मनोधर्म संझदैन उसमा ‘म’ संझने शक्ति रहदैन, किन कि ‘म’ पनि पिता–माता स्वरूपले जगत्को पालन कर्ता हुँ, अतः यहींबाट भक्तिको प्रारम्भ हुनुको प्रयोजन हो । 

परन्तु जुन भक्तिमान् कृतज्ञ पुरुषको ती दुबै इष्ट देवताहरू प्रति इष्ट देवता बुद्धि रहन्छ, तिनै महापुरुषले संझन सक्छन् – गुरुवाक्यमा अटल विश्वासको फल के हो ? 
सर्व बाधा अतिक्रम गरेर गुरुवाक्यको अनुष्ठानमा दृढव्रती भएमा तितिक्षा रूप महासाधनको फलले के गराउन सक्दैन ? 

ती इष्ट देवताको पूजाका लागि (शरीर धारणोपयोगी आहारका लागि) पत्र, पुष्प, फल र जलको प्रयोजन हुन्छ । 

पिता– माताको परितृप्तिका लागि भक्ति पूर्वक उनीहरूलाई पत्र, पुष्प, फल र जल प्रदान गर्नाले परमपिता परमेश्वर परब्रम्हमा नै त्यो सबै अर्पित हुन्छ । 

पिता–माताको परितोष साधनले नै मनको मैलो हटेर जान्छ, संकोचता रहदैन, अतः अन्तरमा प्रवेश गर्ने अधिकार पनि प्राप्त हुन्छ ।
     यत् करोषि यदश्नासि यज्जुहोषि ददासि यत् ।
    यत् तपस्यसि कौन्तेय तत् कुरुष्व मदर्पणम् ।। २७ ।।

    सुभासुभफलैरेवं मोक्ष्यसे कर्म बन्धनैः ।
     सन्यास योगयुक्तात्मा विमुक्तो मामुपैस्यसि ।। २८ ।।

अन्वय र अर्थ – कौन्तेय = हे कुन्तीनन्दन ! यत् = जुन कर्म, करोषि = गर्दछौ, यत् = जुन कुरा, अश्नासि = खान्छौ, यत् = जुन वस्तु, जुहोषि = हवन गर्दछौ, यत् = जुन वस्तु, ददासि = दिन्छौ, यत् = जुन, तपस्यसि = तपस्या गर्छौ, तत् = त्यो सबै, मदर्पणं = मलाई अर्पण, कुरुष्व = गर, एवं = यसरी गर्नाले, शुभाशुभफलैः = शुभ र अशुभ फल दिने, कर्मबन्धनैः = कमरूपी बन्धनहरूबाट, मोक्ष्यसे = मुक्त हुने छौ, विमुक्तः (सन्) = कर्म बन्धनबाट मुक्त भएको छँदो, सन्यासयोगयुक्तात्मा (सन्यासः = कर्मणां मदर्पणं, स एव योगः = तेन युक्तः आत्मा = चित्तं, यस्य = तथाभूत त्वं) = सन्यास रूप योगले जसको अन्तःकरण युक्त छ त्यस्तो तिमी, मां = ममा, उपैष्यसि = प्राप्त हुने छौ ।

भावार्थ – हे कौन्तेय ! जे काम तिमी गर्छौ – भोजन नै गर, हवन  नै गर, दान नै गर, तपस्या नै गर, ती सबै मलाई अर्पण गर्नू; यसरी अर्पण गर्नाले नै शुभाशुभ फल दिने कर्मबन्धनबाट मुक्त हुने छौ, विमुक्त भएर संन्यासयोगमा युक्त चित्त नै बनेर मलाई प्राप्त गर्ने छौ ।

विशिष्टार्थ – हे अर्जुन (साधक) ! जब तिमी विषय भोगको लालसा लिएर रहन्छौ, तब तिम्रो विषयासक्तिको लागि मातृभावले प्रकाश पाउँछ । अनि त्यस आसक्तिलाई तिमीले छोड्न सक्दैनौ भने त्यसलाई कृपणता भन्दछन् । 

फेरि जब तिमीले त्यस कृपणतालाई त्यागेर यथारीति उपदेश अनुसार पृथ्वीलाई जलमा, जल तेजमा, तेज वायुमा, वायु आकाशमा, आकाशलाई पराकाशमा लैजाऊ, त्यसैलाई करण भन्दछन्, यही पितृभाव हो । अनि यो जुन गरिरहेका छौ, त्यसैलाई भोग भन्दछन् । 

(विषय भोग गर्नुको नाम नै भोग हो । यसमा सुध्नु, चाख्नु, देख्नु आदि सबै पर्छन् । ) जब यसलाई लिएर अहंत्व ‘म’ त्व मा लगेर फालि दिन्छौ, यसैलाई नै हवन भन्दछन् । 

त्यो जुन विषयादि भोग छोडेर आयौ त्यही दान हो । र त्यो जुन माया विकारको ब्रम्हाग्निमा जलाएर भस्म गरि दियौ, त्यसैलाई तपस्या भन्दछन् । यी सबैलाई लगेर ‘म’ मा छोडि दिन्छौ (पारि दिन्छौ ) । 

यस ‘म’ मा पर्नुको नाम ‘मदर्पण’ हो । यस प्रकारको अर्पणमा कर्मकृत शुभ अशुभ फलले छुन सक्दैन, अतएव कर्म बन्धनबाट मुक्ति हुन्छ । संन्यास – स=सम्यक्, न्यास= निक्षेप, त्याग । जब सबै त्याग भयो, तत्क्षणात् तिम्रो ‘म’ विशुद्ध ‘म’ मा पर्‍यो, योग पनि भयो । 

दुबै ‘म’ मिलेर एक भयो, यही नै युक्त हुनुको अवस्था हो । तब अरू देह अर्थात् देहबुद्धि रहेन, ‘विमुक्ति’ अर्थात् विशेष मुक्ति (सबैबाट पृथकता) प्राप्ति भयो । यही तिम्रो ‘म’ हुनुको अवस्था हो ।

समोऽहं सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रियः ।
ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम् ।। २९ ।।

क्रमश

 यो पनि 

काठभित्रकाे अग्नि : उत्पत्ति हुने स्थानलाई नै खान्छ अनि पछि आफूले पनि विश्राम लिन्छ

धर्म संकल्प र विकल्प :मनको त्राण जसले गर्छ त्यही मन्त्र हो

जगतको मतमा मत : बाँच्नुको नाम कल्याण हो र मृत्युको नाम अकल्याण

जसको एक निश्वास पनि खेर जाँदैन त्यही सुरेन्द्र हो

वायु जब समतामा प्राप्त हुन्छ सोही अवस्थाको नाम निर्वाण हो