विमला थापा : स्विटर बुनाई हुँदै बेचिएका चेलीहरूको उद्धारदेखि पुनर्स्थापनासम्म

विमला थापा :  स्विटर बुनाई हुँदै बेचिएका चेलीहरूको उद्धारदेखि पुनर्स्थापनासम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  पुष ४, २०७७

कुनै बेला लेख्नका लागि बाँसको कलममा मसी समेत नभएर सिमी माडेर मसी बनाएर लेख्न सुरु गर्नुभएको उहाँ हाल संसारका कुनै पनि पिएचडी होल्डरका अगाडी आफ्ना कुरा मजाले राख्नु सक्नु हुन्छ । 

विभिन्न देशको भ्रमण र त्यहाँका उच्च पदस्थसँग पनि मजाले बसेर आफ्ना कामका कुरा राखेर प्रभाव पार्न सक्ने उहाँलाई देखी, सुनी, पढी, गुनी भन्ने कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण रहेछ भन्ने लाग्छ । यो उहाँको लामो सङ्घर्ष र अनुभवको निष्कर्ष हो । 

हाल आशा नेपाल नामक संस्था मार्फत बेचिएका चेलीहरूलाई ल्याएर पुनर्स्थापना कार्यमा लाग्नु भएको विमला थापाको दुःख, घरेलु हिंसा अनि अनगिन्ती पीडाका पहाडको सङगालो हो यो आलेख । 

पारिवारिक अवस्था 

दाल, भात, तरकारी, दही, दूध, मोही, घ्यू खान दुःख नभएको परिवार हो उहाँको । प्रशस्त पनि नभएको र नभएर तन्नम नै पनि होइन । त्यस अर्थमा पनि उहाँ आफूलाई मध्यम वर्गीय परिवारको नै भन्न रुचाउनुहुन्छ । 

बुवा आमा खेती किसानी गर्नुहुन्थ्यो । खेती किसानी भनेर आफैँले खनजोत नगरे पनि जीविका भने खेती किसानीबाटै चल्थ्यो । त्यसैले किसान परिवार हो उहाँ भन्नुहुन्छ । उहाँको बुवा भने राजनीति पनि गर्नुहुन्थ्यो । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०२० सालमा रामेछापको रामरीममा भएको हो । अहिले भने काभ्रे भएको छ । उहाँको बुवाका छ सन्तान । जेठो दाइ अनि दिदी त्यसपछि उहाँ । अनि उहाँ पछिका फेरी तीन भाइ । रामेछापमा जन्मिए पनि उहाँको बुवा बसाई सरेर सिन्धुलीको मरुन खोलामा आउनु भयो । पहाडमा खानेकुराको दुःख भएर होला शायद बसाई सरेको । 

अनि मरुन खोलामा भने धान खेती प्रशस्त । त्यसैले त्यहाँ भने भात खान दुःख भएन । सँगै रहेका माझीहरूसँग बुवाले मित लगाएपछि माछा भात खान पनि दुःख भएन उहाँ भन्नुहुन्छ । पोखरीमा पानी खेल्दै, खोला किनार डुल्दै बित्यो उहाँको बाल्यकाल । 

त्यस बेला त्यहाँ स्कुल पनि थिएन । उहाँको बुवा पनि शिक्षक हुनुहुन्थ्यो पहाडमा । त्यसैले पढाउनु पर्छ भनेर होला काठको पाटीमा अँगार दलेर त्यसमा खरी अर्थात् चकले लेख्नुहुन्थ्यो उहाँ ।  मैलो भएपछि फेरी अङ्गार दलेर त्यसलाई ‘पुर्नताजगी’ दिनुहुन्थ्यो उहाँ । यस्तै पाटीमा क,ख लेख्न सिक्नुभएको हो उहाँले ।

विद्यालय बिलकुल थिएन उक्त ठाउँमा । पछि भने पन्ध्र, बीसजना रुखको फेदमा भेला पारेर पढाउने काम सुरु भयो उहाँ भन्नुहुन्छ ।  घरमा घोडा पालेको थियो बुवाहरू घोडा चढेर हिँड्नुहुन्थ्यो । त्यस बेला यातायातको साधन भनेकै घोडा थियो । उहाँ पनि सानोमा यताउती जान पर्‍यो भने घोडा चढेर जानुहुन्थ्यो । 

बसाई सर्दै सर्लाही 

मरुन खोलाबाट उहाँहरू फेरी सर्लाही सर्नुभयो । सर्लाही नौ कोसको दूरीमा थियो । अनि उहाँहरूलाई घोडामा हालेर सर्लाही पठाइन्थ्यो । घोडा उहाँहरूलाई पुराएर फर्किन्थ्यो । उहाँहरू सानो भएका कारण ओर्लन भने अलि अग्लो कान्लो भएको खेत हेर्नुपर्थ्यो, उहाँ भन्नुहुन्छ । मरु खोलामा धान मात्रै धेरै भयो अरु भएन भनेर बुवाहरू सर्लाही आउनु भएको हो । 

पछि फेरी दिने बेलामा आधा जग्गा चाहिँ मलाई अनि घर जति संस्थाको नाममा लैजा भनेर भन्नुभयो उहाँको श्रीमानले ।  आखिर त्यस्ता केटी राखेर संस्था श्रीमानले चलाउन नसक्ने थाहा छँदै थियो उहाँलाई । अनि उहाँले यो मेरो होइन, ती केटीहरूको नामको कमाई हो त्यसैले कि सबै संस्थाको कि तपाईँ नै लैजानुस् भनेपछि उहाँको श्रीमानको पक्षका भनिएकाहरूले पनि उहाँले नै संस्था राम्रोसँग चलाएकोले उहाँलाई नै दिनुपर्छ भनेपछि यो करिब करिब टुङ्गोमा पुगेको हो उहाँ भन्नुहुन्छ ।

करिब नौ वर्षको उमेरमा सर्लाही आएपछि उहाँ स्कुल जानुभएको हो । चर्तुभुजेश्वर माध्यमिक विद्यालय । करिब तीन किलोमिटरको दूरीमा थियो होला स्कुल उहाँ भन्नुहुन्छ । 

मानिसको बस्ती त्यति नभएको हुनाले बाटो पनि खास थिएन । बारी बारी दौडँदै स्कुल गयो, आयो । बाटोमा उखु लगायत जे भेट्यो त्यो खायो । पकेट खर्च, खाजा टिफिन भन्ने हुने कुरै भएन । अनि यसो कहिलेकाहीँ बुवामालाई थाहा नदिई भागेर बाग्मती नदीमा गएर पौडी खेलिन्थ्यो, उहाँ भन्नुहुन्छ । 

कक्षाको उत्ति सारो मतलब थिएन त्यस बेला । अलि खर्रर पढ्न जान्यो कि चार पाँच कक्षामा फिट । उहाँको पनि त्यस्तै भयो । चार, पाँच कक्षामा बल्ल अङ्ग्रेजी अर्थात् एबीसीडी सुरु भयो, उहाँ भन्नुहुन्छ ।  बस्नलाई भने विद्यालयमा डेस्क बेन्चहरू नै थिए । केटा र केटीको बस्ने लहर फरक फरक नै हुन्थ्यो । उहाँ अगाडी नै बस्नुहुन्थ्यो । स्कुलको फी भने याद भएन उहाँलाई । 

कक्षामा पन्ध्र, बिस जना विद्यार्थी हुन्थे । महिलाहरू भने पाँच, छ को सङ्ख्यामा हुन्थे ।  उहाँ त्यस्तो जान्ने विद्यार्थी होइन । लद्दु पनि होइन । सामान्य विद्यार्थी ।  उहाँले २०३७ सालमा एसएलसी दिनुभएको हो । त्यति बेला एसएलसी पास हुनु नै ठुलो थियो । उहाँ पनि पास हुनुभयो । यो नै महान् उपलब्धि थियो त्यस बेला । 

काठमाडौँ यात्रा

उहाँको मावली पनि मधेसमा नै । मावलीले पछि काठमाडौँको चाबहिलमा घर बनाउनु भएको थियो । अनि उहाँ मावली आउने सिलसिलामा पहिलो पटक काठमाडौँ आउनु भएको हो ।  सर्लाहीबाट काठमाडौँ बसमा आउनु भएको सम्म याद छ । कहाँ झरियो र पहिलो पटक काठमाडौँ टेक्दाको अनुभव भने खासै याद छैन, उहाँ भन्नुहुन्छ । बस भाडा पनि याद छैन । शायद बुवाले तिरेर पनि होला । 

त्यति बेला काठमाडौँमा चिया भने एक सुका कप पाइन्थ्यो, उहाँ भन्नुहुन्छ । ‘डोनट’ भने अहिलेको भन्दा धेरै ठुलो । त्यसको भने एक रुपैयाँ पर्थ्यो । अनि काठमाडौँमा एक स्टेसनबाट अर्को स्टेसनको गाडी भाडा पच्चीस पैसा थियो ।  चप्पल लगाएर एउटा झोला बोकेर मामाघर चाबहिलको बजार घुमेको सम्झना छ उहाँलाई काठमाडौँ पहिलो पटक आउँदाको । 

त्यति बेला बाहुनहरूमा रजस्वला नहुँदै विवाह गर्नुपर्छ भन्ने मान्यता थियो । उहाँको दिदीको पनि एघार वर्षको उमेरमा विवाह भएको हो । उहाँ पनि पन्ध्र वर्ष पुगिसकेकोले विवाह गर्नकै लागि भनेर काठमाडौँ आउनु भएको थियो ।  घरमा फलानो केटोको यति जग्गा जमिन छ, यस्तो छ भनेर कुरा हुन्थ्यो केटाको घरमा पनि यस्तै कुरा हुन्थ्यो होला शायद ! 

अनि उहाँ बजार जाँदा केटाहरूले पसल बाहिर आएर जिस्क्याउँथे । उहाँको भाइलाई पनि ऊ तेरो सालो आयो भनेर जिस्क्याउने पनि गर्थे रे !  बाहुनहरूमा पढ्ने चलन भए पनि छोरीको चाहिँ बिहे गर्न हतार नै हुन्थ्यो त्यो भएर होला बिहेको कुरो अघि बढेको, उहाँ भन्नुहुन्छ । तर, बिहेको विरोध नै गर्न नसके पनि बिहे नगरी केही न केही गर्न पाए हुन्थ्यो भन्ने थियो उहाँलाई पनि । 

स्विटर बुनाई

उहाँको एक जना मामाको नातिनी स्विटर बन्ने काम गर्नुहुन्थ्यो । अनि उहाँलाई पनि तालिम लिएर स्विटर बन्न पाए हुन्थ्यो भन्ने लाग्यो र उहाँ पनि जानुभयो तालिममा । चाबहिलदेखि बानेश्वरसम्म हिँडेर । बाटो बिलकुल शून्य हुन्थ्यो । 

तालिम सकाएर उहाँले त्यहीँ जागिर पनि खानुभयो । अनि  एकै दिन बीसवटासम्म स्वीटर बुनेर सकाउनु हुन्थ्यो । तीनकेजीको बीस रुपैयाँ पाएजस्तो लाग्छ उहाँलाई । तर, त्यति हेक्का रहेन । त्यो नै उहाँको पहिलो कमाई थियो ।  बस्ने, खाने सबै मामाघरमा भएकोले त्यो पैसा केमा खर्च भयो थाहा भएन् । 

गोलचक्करमा पिसिंदा 

उहाँ बेलाबखत ठूलोआमासँग पशुपति जाने गर्नुहुन्थ्यो । अनि पशुपति जाँदा आउँदा एकजनाले उहाँलाई याद गर्नुभएको रहेछ ।  संयोगले एकदिन उहाँ जुत्ता लगाएरै पशुपति छिर्नु भएछ । अनि त्यो मान्छेले यहाँ जुत्ता लगाएर आउन पाइन्न भनेर फुकाल्न लगायो, उहाँ भन्नुहुन्छ । 

उहाँ दर्शन गरेर फर्केर आउँदा जुत्ता गायब । उहाँले जुत्ता खोज्न लागेको देखेर ती जुत्ता खोल्न लगाउने मान्छेले यहाँ छ जुत्ता भनेर अफिसमा लगेर जुत्ता दिनुभयो । अनि उहाँको हातमा रहेको प्रसाद मिठाई पनि खानु भयो । उहाँलाई के गरेको होला भन्ने त लाग्यो तर, बोल्न सक्नुभएन । 

ती महानुभावले पशुपतिका पुलिसलाई त्यो केटी कहाँ बस्छे हेरेर आइज भनेर घर पनि पत्ता लगाउन लगाएछन् । अनि बाक्लो बस्ती नभए पनि चाबहिलदेखि बानेश्वरसम्म पिछा गर्ने गरेको अलि पछि मात्रै याद गर्नुभयो उहाँले । 

यस्तो स्विटर बुन्ने काम त बालाजुको गोल्छा कम्पनीमा पाइन्छ गर्ने हो भन्ने सोध्नुभयो ती पशुपतिमा भेटिएका मानिसले । तर, उहाँलाई बालाजु कहाँ पर्छ भन्ने पनि थाहा थिएन । अनि उहाँ जान तयार हुनुभो बालाजु ती मान्छेसित । 

बाटोमा जाँदैगर्दा उहाँलाइ जागिर खान फोटो चाहिन्छ भनियो । अनि फोटो खिच्न स्टुडियो गएपछि ती भलादमी उहाँको छेउमा आएर बसे । नबस भन्न सक्नु भएन । अनि बाटोमा यो फोटो के गर्ने भन्दा बकाइदा साथसँग सजाएर राख्ने भन्नुभयो उहाँले । यति भनिसकेपछि उहाँको मनमा चिसो त पस्यो तर, कुरो के हो भन्ने खुट्टाउन भने सक्नुभएन ।  बालाजु भनेर ती भलाद्मीले आफ्नो घर पो लगे । बुवा बिरामी अनि बुहारीको धोको रहेछ । तर, उहाँको अर्को प्रेमीका समेत रहिछिन । उनी भने बिहे गर्न बाजा, जन्ती लिएर आउन भन्ने । यता केटाको आर्थिक अवस्था कमजोर भएका कारण त्यो सबै गर्न नसक्ने ।

यो सबै गोलचक्करमा उहाँ भने पिसिनुभयो । अब घरमा गएपछि सबैले बुहारी भनेर टिका पो लगाइदिए । यो जर्बजस्ती भयो भन्ने थाहा हुँदाहुँदै केही डर अनि के बोल्ने भन्ने कुराले उहाँ भने मौन बस्न वाध्य हुनुभयो । अब बिहे भनेपनि जे भनेपनि यही हो । यस्लाई के भन्ने उहाँको प्रश्न छ । 

अब यहाँ बसेपछि म घर जान्न उहाँले भन्नुभो । अब गलत भो भन्ने थाहा भएपछि उता माइतमा कसरी ढाँट्ने । ढाँट्ने बुद्धि पनि आएन उहाँ भन्नुहुन्छ ।  अब उहाँको भर्खरै बनेका श्रीमानले त खोजेकै त्यै । उहाँलाई त के खोज्छस कानो आँखो भैगो, उहाँ भन्नुहुन्छ । यो ०३६/०३७ सालको कुरा हो उहाँ भन्नुहुन्छ । अनि वर्ष दिनमै छोरी भयो । फेरि छोरी अनि छोरा । 

यसरी बिस वर्ष भित्रै उहाँ तीन सन्तानकी आमा भैसक्नु भएको थियो । यो जिन्दगीको शुरुवात हो कि अन्त उहाँ आफैंलाई थाहा भएन ।  अहिले पन्ध्र सोर्ह वर्षका केटीहरु गर्भवती भएर उहाँको संस्थामा आउँदा अन्तर्राष्ट्रिय समाचार बन्छ । यो देख्दा भने उहाँलाई आफू त्यस बेला साँच्चै शोषणमा परेको एउटा पीडित महिला जस्तो लाग्छ ।  अब जे जे भनेपनि अनि भए पनि ख्याल ख्यालमै बिहे भयो भन्नुपर्ला उहाँ भन्नुहुन्छ । 

लोग्नेले जाँड, रक्सी खाएर आएर थर्काउने, पिट्ने । घरमा बाहुनको छोरी ल्यायो भनेर मतलब नगर्ने । माइतीमा क्षेत्रीसँग पोइला गई भनेर वास्ता नगर्ने । अब त्यो बेला फेरी आमाबावुको इच्छा विना एउटासँग आएपछि अर्कोसँग जाँदा झनै मारी पो हाल्ने हो कि भन्ने डर हुन्थ्यो, उहाँ भन्नुहुन्छ ।  उहाँका तीन सन्तानमा छोराको भने अठार वर्षको उमेरमा देहान्त भयो । हाल एउटी छोरी अमेरिका तथा अर्को छोरी भने हाल अष्ट्रेलियामा हुनुहुन्छ । 

बिहेपछिको बेग्लै जिन्दगि 

श्रीमानको पशुपतिमा भनिएको जागिर पनि स्थायी थिएन । काम पनि खासै नगर्ने । घरको जेठो छोरो । बरालिएर हिंड्ने । काम थिएन । यसले जिन्दगि गार्हो भयो उहाँको ।  अनि श्रीमानले नै जग्गा राखेर ऋण झिकिदिए जस्तो लाग्छ उहाँलाइ नौ हजार रुपैयाँ । त्यसले मेशिन किन्नुभयो । अनि असनबाट ऊन लिएर गयो, स्विटर बुन्यो अनि बेच्यो ।

श्रीमान भने एसएलसी पास गरेर ल क्याम्पस जान थाल्नुभयो । त्यो पनि बीचैमा त्यसै छोड्नुभो । त्यस बेला पञ्चयती राजनीति पनि गर्ने । त्यसो गर्दा रक्सी खान छुट भयो, उहाँको आक्रोश निस्कियो । 

ठूलोछोरी पाँच वर्षको भएपछिको कुरा हो यो, अब यसरी नै घरमा बस्यो भने आफूले त दुःख पाइयो, पाइयो छोरा छोरीले पनि पाउँछन भनेर उहाँ क्षेत्रपाटीमा कोठामा बस्न थाल्नुभो । भाडा साठी रुपैयाँ थियो, उहाँ भन्नुहुन्छ । छोरीलाई पचास रुपैयाँ फी तिरेर बोर्डिङ पढाउन थाल्नुभो । जसका लागि गार्मेन्टको काम गर्नुहुन्थ्यो, उहाँ । श्रीमान् राजनीतिमा हिंडेपनि कहिले काँही भने खर्च ल्याउनुहुन्थ्यो, यसैले पनि केही चल्दै गयो उहाँ भन्नुहुन्छ ।

बम्बेको यात्रा 

उहाँको श्रीमानको व्यवहारमा परिवर्तन आएको थिएन । धर्म परिवर्तन गर्‍याे भने केही हुन्छ कि भनेर उहाँ बाहुनको छोरी भए पनि परिवर्तित हुनुभयो । त्यो बेला विभिन्न ठाउँमा समूह बनाएर प्रार्थना गर्न जाने भन्ने हुन्थ्यो । अनि बम्बेमा बेचिएका चेलीकोमा प्रार्थना गर्न जाने भए पाँचहजार प्लेन भाडा तिर्नुपर्ने बतायो संस्थाले । 

उहाँलाई पनि समुद्र हेर्न जान मन लाग्यो । बम्बेमा । पाँचहजार भाडा तिरेर जानुभयो बाइस दिनका लागि । अरु खर्च भने संस्थाले नै व्यहोर्यो ।  पछि ती चेलीलाई उद्धार गर्न जाने कुरो भयो । अब को को जाने त भन्दा कोही पनि जान मानेन् । त्यसपछि उहाँले आँट गरेर ल कोही नजाने भए म जान्छु भन्नु भो । 

अनि जुन संस्थाले उहाँलाई ती चेलीहरु उद्धार गर्न पठाएको हो त्यहाँ ल्याएर जिम्मा लगाइदिनु भयो । त्यस बेला उहाँका बच्चा भने हुर्किएर देहरादुन पढ्ने भैसकेका थिए । यो २०५५ साल तिरको कुरा हो ।  ती उद्धार गरेर ल्याएका चेली त भर्खर रेड लाइट एरियाबाट आएका मात्र थिए । उनीहरुले जे पनि बोल्ने जे पनि गर्न खोज्थे । तर, संस्थाले भने उनीहरुलाई एउटा सभ्य नागरिकका रुपमा खोज्यो । अनि ती चेलीले मारपिट गर्न थाले ।

संस्थाले उनीहरुलाई सम्हाल्न नसकेपछि उहाँलाई पाँचहजार तलव दिएर काम गर्न प्रस्ताव गरे । उहाँले तिनलाई भात पकाउने, ख्वाउने सफा सुग्घरदेखि आमाले गर्ने जस्तै व्यवहार गर्न थाल्नुभयो । अनि चेलीहरु उहाँसँग झन रत्तिन थाले । 

तर, ती माथिकाले  हाकिम बनेर संस्थाका नियम लगाउन थाले । यति बजे उठ्ने यति बजे खाने नभए खान नपाउने आदि आदि । यो उहाँलाई मन परेन । अनि उहाँले तिनलाई आफ्ना छोराछोरीले यति बजे खाएनौ भने भान्छा बन्द गर्न सक्छौ भन्दा निरुत्तर भए । 

उद्धारक हुँदै ‘आशा नेपाल’ 

अब बम्बेमा रातभरी नसुतेर काम गर्ने चेलीलाई उनीहरुले रातभरी सुत अनि बिहान यति बजे उठ भनेर नियम बनाएर संस्था चलाउन खोज्थे । तर, उहाँ भने व्यवहारिक बनेर मानविय स्वभावमा काम गर्नुहुन्थ्यो । यसले संस्था र उहाँ बीच मनमुटाव भयो । एकपटक उद्धार गरेर ल्याएको एक जना गर्भवती चेलीको गर्भपतन गर्ने कुरा चल्यो संस्थामा । कसरी पाल्ने त्यो बच्चा भन्ने कुरा चल्यो । 

अनि उहाँले गर्भपतन गर्न मिल्दैन र अरुले बच्चा जसरी पालेका छन् त्यसरी पाल्ने भनेपछि कोही पनि बोल्न सकेनन् ।  उहाँ पदले सानो भए पनि काममा निस्वार्थ हुनुहुन्थ्यो त्यसले उहाँलाई यस्ता कुरामा दृढ भएर निर्णय लिन मद्दत गर्थ्याे । पछि उहाँको पद बढेर हाउस मदर भयो । 

उहाँको काम देखेर विभिन्न संस्था तथा व्यक्तिहरुले उहाँलाई हाल उहाँको संस्था ‘आशा नेपाल’ रहेको स्थान गोदावरीमा जग्गा किन्न पैसा दिए । हाल त्यहाँ करिब पाँच रोपनी जमिनमा अवस्थित छ उहाँको संस्था आशा नेपाल । कसैले संस्थालाई एम्बुलेन्स दिए, कसैले भवन बनाउन पैसा दिए यसरी संस्था उकालो लाग्दै गयो । संस्थामा उहाँको श्रीमान् भने डाइरेक्टर हुनुहुन्थ्यो त्यस बेला ।  तर, उहाँको श्रीमान् भने पहिलेदेखि नै अलि चलाख । उहाँले भने ती जमिन संस्थाको नाममा नभएर आफ्नो व्यक्तिगत नाममा गर्नुभएछ । 

अठार वर्ष पछि उहाँको छोराको देहान्त भयो । त्यसपछि उहाँको श्रीमानले फेरी आफ्ना पुराना दुर्व्यवहार सुरु गर्नुभयो । यसो गर्न मिल्दैन भनेपछि उहाँले संस्थाको भनिएको घरजग्गा बेच्न हिँड्न थाल्नुभयो । 

अब बम्बेको त्यो नरकबाट उद्धार गरेर अनि एचआइभी लागेर लेराएको चेलीलाई सहयोगको रुपमा दिएको पैसाले किनेको घरजग्गा बेचेर खान थाल्नु जत्तिको महापाप केही होइन भन्ने लाग्यो उहाँलाई । अब यसलाई जसरी भए पनि रोक्नुपर्छ भन्ने लाग्यो उहाँलाई । अनि उहाँले घरजग्गा रोक्का हाल्नुभयो । 

फेरी सङ्घर्ष

अनि श्रीमानले उहाँलाई मुद्दामाथि मुद्दा हाल्नुभयो । अब त्यसको प्रत्युत्तर हाल्न जानुपर्ने भयो । श्रीमानले उहाँमाथि सम्बन्ध विच्छेदको मुद्दा हाल्नुभयो । त्यसको प्रत्युत्तरमा तायजात अर्थात् नेपाल अधिराज्यभर उहाँका नाममा भएका सम्पत्ति विवरण पेस गर्नुपर्ने भयो । 

अनि उहाँले जुन जुन वकिल लगाउनुहुन्थ्यो त्यो वकिल पनि सबै श्रीमानले किनिदिने । तर, एक जना उहाँको संस्थामा म्याद टाँस्न आएको मानिस संयोगले मावली गाउँले परेछन् । उनले त्यहीँको एक जना वकिल चिनाइदिएपछि बल्ल इमानदार कानुन व्यवसायी परेछन् र काम गर्न सजिलो भयो उहाँ भन्नुहुन्छ । 

अब मुद्दा गरेको पाँच वर्षपछि तायजात पेस गर्नुपर्ने भयो । श्रीमानले हार्ने करिब निश्चित देखिएपछि पाँच वर्षपछि श्रीमानले फोन गर्नुभयो । त्यसपछि उहाँले, यदि यो संस्थाको जग्गा फिर्ता नगरेका खण्डमा सम्बन्ध विच्छेद पनि नगर्ने र बहुविवाहको मुद्दा समेत हाल्ने बताउनु भयो ।  तर, यदि संस्थाको जग्गा फिर्ता गरेका खण्डमा सम्बन्ध विच्छेद समेत दिने र केही नलिने भनेर उहाँले भन्न लाग्नु भएको थियो । तर, वकिलले त्यसो गर्न हुँदैन भनेपछि उहाँले पच्चीस लाख र आधा रोपनी जग्गा चाहिन्छ भन्दा पाँच लाख र चार आना जग्गामा आएर मुद्दा टुङ्गियो ।  

विश्राम गृह’बाट ‘आशा नेपाल’

पहिले संस्था विश्राम गृहका नाममा संचालित थियो । तर, संस्थाको घरजग्गा चलाउन नपाएपछि श्रीमानले उक्त नामबाट संस्था चलाउन समेत दिनुभएन उहाँ भन्नुहुन्छ । अनि पछि मात्रै संस्था ‘आशा नेपाल’को नाममा सञ्चालन हुन लागेको हो, उहाँ भन्नुहुन्छ । 

पछि फेरी दिने बेलामा आधा जग्गा चाहिँ मलाई अनि घर जति संस्थाको नाममा लैजा भनेर भन्नुभयो उहाँको श्रीमानले ।  आखिर त्यस्ता केटी राखेर संस्था श्रीमानले चलाउन नसक्ने थाहा छँदै थियो उहाँलाई । अनि उहाँले यो मेरो होइन, ती केटीहरूको नामको कमाई हो त्यसैले कि सबै संस्थाको कि तपाईँ नै लैजानुस् भनेपछि उहाँको श्रीमानको पक्षका भनिएकाहरूले पनि उहाँले नै संस्था राम्रोसँग चलाएकोले उहाँलाई नै दिनुपर्छ भनेपछि यो करिब करिब टुङ्गोमा पुगेको हो उहाँ भन्नुहुन्छ । 

बल्ल डाइरेक्टर 

आशा नेपालका रुपमा सञ्चालन भएपछि पनि डाइरेक्टर अरु नै थिए । उनीहरूले पनि चलाउन नसकेपछि बल्ल उहाँले संस्था चलाउन थाल्नुभएको हो । 

हुन त त्यसपछि पनि उहाँलाई चलाउन जान्दिन, सक्दिन भन्नेहरू थिए तर, त्यसपछि भने उहाँले पहिले म नजान्ने पनि थिएँ होला सबै होला तर, अब म सबै जान्ने भैसकेको छु, म चलाउँछु भनेर चलाउन थाल्नु भएको हो । 

संस्था पहिलेदेखि नै उहाँले नै चलाउँदै आउनु भएको हो । तर, डाइरेक्टरका रुपमा उहाँले काम गर्न थाल्नुभएको पनि अहिले पन्ध्र, सोह्र वर्ष भयो, उहाँ भन्नुहुन्छ । अहिले आशा नेपालको नामबाट सिलाइ बुनाइको कम्पनी समेत खोल्नु भएको छ भने बम्बेमा पनि अफिस छ । त्यहाँबाट केटीहरूलाई उद्धार गरेर पुनर्स्थापना गर्ने काम हुन्छ गोदावरीमा । हाल संस्थामा केटाकेटी र महिला गरी करिब पैँतालिस जना रहेका छन् ।

हेटौँडामा पनि संस्थाले घर बनाएर जेलमा परेका तर असहाय मानिसका बच्चा ल्याएर राख्ने गरेको छ । बम्बेमा पनि संस्थाको अफिस छ । साथै नेपालगन्जमा पनि । 

सङ्घसंस्थामा संलग्नता

आफ्नो संस्था बाहेक उहाँको दर्जन बढी सङ्घसंस्थामा संलग्नता रहेको छ । 

सम्मान तथा पुरस्कार

राष्ट्रिय स्तरमा सरकारले उहाँलाई सम्मान गर्न नभ्याए पनि अनि थुप्रै सङ्घसंस्थाले भने उहाँलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

अन्त्यमा 

 पढ्दैमा मात्र मानिसले जान्ने र केही गर्न सक्ने होइन । त्यसका लागि आँट, लगन र निस्स्वार्थ भाव चाहिन्छ । एउटा सामान्य परिवारको यी नै गुणयुक्त भएका कारण यत्तिको उपलब्धि हासिल भएको हो भन्ने सिकाई उहाँको जीवनबाट लिन सकिन्छ ।