सरकारी चिकित्सकको आन्दोलनलाई चिकित्सक संघको समर्थन

सरकारी चिकित्सकको आन्दोलनलाई  चिकित्सक संघको समर्थन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २९, २०७५

काठमाडाैं । डाक्टरहरूको छाता संगठन नेपाल चिकित्सक संघले आन्दोलनरत डाक्टरको माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ । संघका महासचिव डा. लोचन कार्कीले सो अवधिभित्र माग सम्बोधनको पहल नभए देशभरका सबै सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिएका छन् । बिहीबार सबै अस्पतालका पदाधिकारी, डाक्टरका विभिन्न संघसंगठनको भेलापछि संघले सरकारलाई चेतावनी दिएको हो । 

समायोजनसँग असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले एक सातादेखि सरकारी अस्पताल ठप्प पारेका छन् । हडताल गर्ने डाक्टरलाई कारबाही गर्ने बताउँदै आएको सरकार पछिल्ला केही दिन मौन छ । 

‘१४ सय डाक्टरलाई जसरी पनि ठेगान लगाउन सकिन्छ भनेर पेल्न खोज्नु दुर्भाग्य हुन्छ,’ चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने । उनले डाक्टरको ज्ञान, सीप र योग्यताका आधारमा समायोजन गर्नुपर्ने बताए । ‘विशेषज्ञता हासिल गरेको सर्जन कुनै स्थानीय तहमा समायोजन भएको छ, उसले टिम र उपकरणविना कसरी अप्रेसन गर्छ ?’ अध्यक्ष श्रेष्ठले प्रश्न गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।