चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि आगो बाल्न दाउरा वितरण

चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि आगो बाल्न दाउरा वितरण

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ६, २०७७

महोत्तरी । विगत १० दिनदेखि निरन्तररुपमा चलेको चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि नेपाली सेनाले आज बिहानै महोत्तरीको सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा दाउरा उपलब्ध गराएर न्यानोको लागि आगो बालेको छ । जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले जलेश्वर नपाको वडा नं १, २ र ६ का विभिन्न चोक र टोल बस्तीमा सर्वसाधारणलाई न्यानो बाँड्ने उद्देश्यले आगो बालेको गणपति शिवहरि केसीले बताउनुभयो । 

नेपाली सेनाले जलेश्वरको नगरपालिका चोक, शङ्करचोक, दुर्गाचोक, खैराचोक, बुद्धिजीवि चोक, अस्पताल चोक, जिरोमाइल चोक, डोमटोल, दुषाध टोल, मुसहर टोललगायतका ठाउँमा आगो बालेर जलेश्वर नगरपालिकाका आम नागरिकलाई जाडोबाट जोगाउने काम गरेको छ ।  जिल्लाभरि नै जाडोले जनजीवन प्रभावित भइरहेका बेला नेपाली सेनाले सदरमुकाममा दाउराको व्यवस्था गरी ठाउँठाउँमा आगो बालेपछि स्थानीयले राहत महसुस गरेका छन् ।