स्थानीय तहद्वारा न्यानो लुगा तथा आगो बाल्न दाउरा वितरण कार्यलाई तीव्रता

स्थानीय तहद्वारा न्यानो लुगा तथा आगो बाल्न दाउरा वितरण  कार्यलाई तीव्रता

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ६, २०७७

लहान । लहान– चिसो बढ्दै गएपछि सिरहाका स्थानीय तहले सक्रियता बढाएको छ । शीतलहर र चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले न्यानो लुगा तथा आगो बाल्न दाउरा वितरणको कार्यलाई तीव्रता दिएको छ । 

सिरहाको विष्णुपुर गाउँपालिकाले विभिन्न स्थानमा आगो बाल्न आज बिहानैदेखि दाउरा वितरण कार्य शुरु गरेको छ । चिसो र शीतलहरका कारण विपन्न तथा गरिब परिवार समस्यामा परेपछि सामूहिकरुपमा आगो बाल्न चोक तथा बस्तीमा दाउरा वितरण शुरु गरेको गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले जानकारी दिनुभयो । पहिलो चरणमा जाडो छल्न दाउरा वितरण गरेको र केही दिनपछि न्यानो कपडा वितरणसमेत गरिने उहाँले बताउनुभयो । 

यस्तै सिराहा नगरपालिकाले वडा नं १७ खैरटोलका विपन्न तथा दलित परिवारलाई कम्बल र त्रिपाल वितरण गरेको छ । बस्तीमै पुगेर नगरपालिकाका प्रमुख अशेश्वर यादवले १५ परिवारलाई कम्बल र त्रिपाल वितरण गर्नुभयो । 

चिसोबाट जोगिन तत्काललाई दुई थान कम्बल र एक थान त्रिपालका दरले दलित विपन्न परिवारलाई वितरण गरेको नगरप्रमुख यादवले बताउनुभयो । यस्तै नगरपालिकाको विभिन्न वडामा आगो बाल्न दाउरासमेत वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

चिसो प्रभावित भएका सिराहाको सुखीपुर नगरपालिका– ८ र गोलबजार नगरपालिका–१३ का १५० परिवारलाई स्वदेश लघुबित्त वित्तिय संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको थियो । सुखीपुर नगरपालिका– ८ अस्पताल चोकका १३० र गोलबजार नगरपालिका– १३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो लुगा वितरण गरेको जनाइएको छ । केही दिनयता बढेको अत्यधिक चिसोका कारण विगत एक साताको अवधिमा सिरहामा पाँच जनाको मृत्यु भइसकेको छ ।