कोरोना परीक्षणमा यातायात शुल्कसहित तीन हजार रुपैयाँ लिएको स्वीकार

कोरोना परीक्षणमा यातायात शुल्कसहित तीन हजार रुपैयाँ लिएको स्वीकार

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष ६, २०७७

चितवन । सरकारले कोरोना परीक्षणमा दुई हजार रुपैयाँ मात्र लिन गरेको निर्देशन विपरित यहाँको कलेजअफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप एक हजार रुपैयाँ लिएको पाइएको छ । 

कलेजका निर्देशक डा मनोहर प्रधानले पहिले अतिरिक्त शुल्क लिएको स्वीकार गर्दै हाल भने नलिएको जिकिर गर्नुभयो । उहाँका अनुसार यहाँ सङ्कलन गरिएको स्वाब परीक्षणका लागि काठमाडौँको स्टार हस्पिटलमा पठाइँदै आइएको छ । सो अस्पतालले परीक्षण शुल्क दुई हजार ४०० रुपैयाँ लिने हुँदा आफूहरुले यातायात शुल्कसहित तीन हजार रुपैयाँ लिएको स्वीकार गर्नुभयो । 

हाल भने अस्पतालले ४०० रुपैयाँ थप गरेर परीक्षण गराउँदै आएको उहाँको दाबी छ । यद्यपि जिल्लाकै दुई सरकारी अस्पताल र एक मेडिकल कलेजमा पिसिआर परीक्षण हुँदै आएको छ । प्रधानले भने यहाँका अस्पतालले ढिलो नतिजा दिने र सिटी भ्यालुको नतिजा नदिएपछि काठमाडौँ स्वाब पठाउने गरेको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय चितवनले यहाँको चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वाब परीक्षणमा ५०० रुपैयाँ बढी लिएको भन्दै मुद्दा चलाएको छ । कलेजका प्रतिनिधिले  १८ लाख रुपैयाँ र क्यान्सर अस्पतालका प्रमुखले रु आठ लाख धरौटी जम्मा गरेर मुद्दा लडिरहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सो मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको जानकारी प्राप्त भएको भन्दै कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।