व्यावसायिक घाँसखेतीबाट मनग्य आम्दानी

व्यावसायिक घाँसखेतीबाट मनग्य आम्दानी

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ६, २०७७

झिमरुक । सरुमारानी गाउँपालिका–२ ददेरीका ५३ वर्षीय धनबहादुर कुमालले एक दशकदेखि घाँसखेती गर्दै आउनुभएको छ ।

 करिव १६ वर्ष नेपाल प्रहरीको सेवामा बिताउनुभएका उहाँ रोजगारीका लागि चार वर्ष मलेशिया समेत बस्नुभयो । विदेशमा दुःख गर्नुुको साटो आफ्नै ठाउँमा केही गर्ने सोचसहित घर फर्किएर उहाँले विसं २०६८ जेठमा आठ सय गाँजबाट घाँसखेती शुरुआत गर्नुभएको हो  । उहाँ भन्नुहुन्छ'बाँझोबारीमा परम्परागत रुपमा अन्नबाली लगाउँदा परिवार पाल्न गाह्रो भएपछि घाँसखेतीमा लागेँ ।  ' 

उहाँले विसं २०७१ मा हरियाली ताजा केरा तथा घाँस नर्सरी फार्म दर्ता गरी व्यावसायिक रुपमा घाँसखेती शुरु गर्नुभएको थियोे । 'परम्परागत रुपमा खेती गर्दा ६ महिना पनि खान पुग्न छाडेपछि घाँसखेतीतर्फ आकर्षित भएँ' ,उहाँले भन्नुभयो,'अहिले घाँसखेतीबाट राम्रै आम्दानी लिएको छु । आफ्नै २० रोपनी क्षेत्रफल जग्गामा घाँस लगाएको छु  । ' 

फार्ममा  १४ प्रजातिका पाँच हजार घाँसका गाँज हुर्किएका छन् । उहाँले तत्कालीन भेटनरी कार्यालयबाट निःशुल्क रुपमा घाँस लिई उत्पादन शुरु गर्नु भएको थियो । 

फार्ममा हाल डाले तर्फ शितलेस, इपिलिपी, बगानो, भटमासे, नेपियर, सिओ फोर, सियो थ्री, सुपर नेपियर, मलाटो, पाँच फलामलगायतका घाँस रहेका छन् । 

फार्ममा उत्पादन भएका घाँसका बिरुवा बेच्नका लागि समस्या नभएको किसान कुमालले जानकारी दिनुभयो ।  उहाँका अनुसार घाँस खरिद गर्नका लागि ग्राहक घरमै आउने गरेका छन् । उहाँले उत्पादन गरेका घाँसका बेर्ना जिल्लासँगै छिमेकी जिल्ला रोल्पा, दाङ, बाँके, सुर्खेतलगायतका क्षेत्रमा खपतहुँदै आएको छ । 

दुई लाख ५० हजार रुपैयाँ लगानी भएको घाँसखेतीबाट आम्दानी सोचेजस्तै भएको उहाँले जानकारी दिनुभयो । 'विदेशमा भन्दा यहाँ खुशी छु ', उहाँले भन्नुभयो,'अन्यखेतीको तुलनामा घाँस खेती गर्न सहज छ ।' घाँसखेतीलाई वर्षमा एक पटक मलजल गरे पुग्ने उहाँको भनाइ छ । 

घाँसखेतीबाट उहाँले अघिल्लो वर्ष चार लाख ५५ हजार रुपैयाँ र चालु वर्ष २०७७ को हालसम्म दुई लाख ८२ हजार रुपैयाँ आम्दानी लिनुभएको थियो । साविकको जिल्ला पशुसेवा कार्यालय प्यूठान र किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयूबिके)मार्फत घाँसको बीउ उपलब्ध भएको बताइएको छ । 

 यस्तै सिँचाइका लागि पशुसेवा केन्द्र दाङले घाँस सिँचाइका लागि २०७६ मा पाँच लाख रुपैयाँको ट्याङ्की अनुदानमा समेत दिएको थियो ।   ट्याङ्की भएपछि सिँचाइका लागि थप सहज भएको समेत उहाँले बताउनुभयो ।

घाँससँगै केराखेती

किसान कुमालले घाँससँगै केराखेती पनि गर्दै आउनुभएको छ । उहाँले तत्कालीन कृषि कार्यालयबाट ५० प्रतिशत अनुदानमा डेढ बिघा क्षेत्रफलमा मालभोग जातको पाँच हजार केरा लगाउनुभएको छ । उहाँले भन्नुभयो 'अगिल्लो वर्ष एक लाख ६५ हजार रुपैयाँ र चालू आवमा  एक लाख रुपैयाँ बराबरको केरासमेत बिक्री गरेँ । 'उत्पादित केरा घरबाटै खपत हुने गरेको उहाँको भनाइ छ ।