भूमिहीन र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न कार्यालय स्थापना

भूमिहीन र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न कार्यालय स्थापना

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ६, २०७७

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न कार्यालय स्थापना गरेको छ । 

अध्यक्ष इस्तियाक अहमद साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अव्यवस्थित बसोबासीको लगत सङ्कलन कार्यविधि २०७७ अनुसार कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले उक्त प्रयोजनका लागि चालू आर्थिक वर्ष २०७७/७८ को पारित वार्षिक बजेटबाट  कार्यालय स्थापना गर्नका लागि  २५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

बसोबासका लागि सरकारी जग्गा खोजी तथा संरक्षण शीर्षकमा १० लाख रुपैयाँ, अध्यक्षको सिफारिस कार्यान्वयन हुने योजना तथा आयोजना शीर्षकमा १० लाख रुपैयाँ र उपाध्यक्षको सिफारिसमा कार्यान्वयन हुने योजना तथा आयोजना शीर्षकमा  पाँच लाख रुपैयाँ छुट्याइएको प्रशासकीय शाहीले जानकारी दिनुभयो ।

गाउँपालिकाको १ देखि ६ नम्बर वडामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न वडा नं ४ मा  कार्यालय स्थापना गरिएको छ । कार्यपालिका बैठकले  कार्यालयको प्रमुख गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत अधिकृत विजयकुमार यादवलाई तोक्ने निर्णय पनि आइतबार गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार सो एकाइ कार्यालयमा खटाइने अन्य कर्मचारीको व्यवस्थापन पनि गरिएको छ । अमिनको रुपमा गाउँपालिकामै कार्यरत अमिन धनराज कठायत, सामाजिक परिचालकका रुपमा गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक सुजित तिवारी, मनोजकुमार तमोली र हुसुन बानो दर्जीलाई तीन महिनाका लागि खटाउने निर्णय भएको छ । 

तथ्याङ्क सङ्कलकमा वडा कार्यालयमा कार्यरत राकेशकुमार शर्मा र दाताराम यादवलाई खटाइने तथा कम्युटर अपरेटरका रुपमा गाउँपालिकामै कार्यरत विनोद चौधरीलाई पठाउने निर्णय बैठकले गरेको छ ।