अविवेकी सरकारकाे गौरव : विदेशी मुद्राका खातिर शिक्षित जनशक्तिको विदेशी भूमिमा रगत पसिना !

अविवेकी सरकारकाे गौरव : विदेशी मुद्राका खातिर शिक्षित जनशक्तिको विदेशी भूमिमा रगत पसिना !

रामहरि सुबेदी  |  दृष्टिकोण  |  पुष ६, २०७७

कल्पना गर्नु भएको छ ? भोलिको संसारमा हाम्रो देशको भविष्य कस्तो होला ? कुनै पनि देश आफैँ सम्पन्न हुँदैन, कि त अरबमा जस्तो अथाह पेट्रोल र ग्याँसका खानीहरू हुनुपर्‍यो, कि त जापानका जस्ता मेहनती जनता,  वा निस्वार्थ लगनसिल र देश प्रेमी नेता । अन्यथा आफ्नो देशमा उत्पादित बस्तुहरू बाह्य देशमा निर्यात गरी आर्थिक क्षेत्र बलियो बनाउन सक्नुर्‍यो, कि भने पर्यटकीय नगरी बनाई पर्याप्त पर्यटकहरू भित्र्याइ देशलाई आफ्नै खुट्टामा उभ्याउन सक्नुपर्‍यो । 

हाम्रो देशमा यी मध्ये कुनै पनि क्षेत्र सन्तोषजनक छैन । देशले ओझेलमा परेका अनगिन्ती बहुमूल्य खनिज पदार्थहरूको सदुपयोग गर्न सकेको छैन,न त पर्याप्त पर्यटकहरू नै भित्र्याउन सकेको छ, यस्तो अवस्थामा हाम्रो भविष्य कस्तो होला ? गम्भीर समस्या त अझ कृषि क्षेत्रमा पो छ, सम्पूर्ण खाद्यवस्तुहरू बाह्य देशहरूबाट आयात नगरी सुखै छैन, अरबौँ डलर त्यसैका लागि बिदेसिइरहेको छ भने हामी कहिले खाद्यसंकटबाट मुक्ति पाई आत्म निर्भर हुनसक्ने होला ?

अझै पनि समय छ, हामी सम्पूर्ण नेपाली जनताका अवश्य पनि बालबच्चा छन् र होलान् पनि यदि हामीले आजैदेखि एउटा योजना सुरु गर्‍यौं भने भोलि सजिलैसँग बाँच्ने आधार बन्न सक्छ र सन्ततिले धन्यवाद दिनेछन् । नभए बच्चा मात्रै पाएर के गर्नु उनीहरूलाई सुलभ तरिकाले गाँस, बास र कपासको व्यवस्था गरिदिन सकिएन भने, के त्यसो गर्नु हाम्रो कर्तव्य होइन र ? त्यसको लागि बलियो सरकारी नीति ल्याएर देशभरका खेतीयोग्य जग्गामा कसैको/कुनै पनि किसिमको निर्माण कार्य बन्द गरी नक्सा पासै नगर्ने र ‘त्यस्ता खेतीयोग्य जग्गा केबल कृषि उत्पादनको लागि मात्र हो’ भन्ने नारालाई सरकारले कडाइका साथ लागू र पालना गरे मात्र हाम्रा सन्तानलाई खाद्यसंकटमा केही राहत पुर्‍याउन सक्छाै‌ं । 

यस्तो विकराल स्थितिमा नेताहरू चाहिँ विभिन्न बहानामा देशमा तनावको स्थिति मात्र सृजना गरी देशको बजेट स्वाहा पार्नेतिर मात्रै लागेका छन् । संविधान बनाउने बहानामा म्याद थपी रहने, अनावश्यक कुरामा झैँ–झगडा झिकी एक पार्टीले अर्को पार्टीको मान्छे मार्ने अनि सहिद घोषणा गरी उही राष्ट्रकै ढुकुटीबाट क्षतिपूर्ति दिई देश कङ्गाल बनाउने जस्ता गहन विषयतिर कसैको ध्यान गएको छैन । भोलिको विषयमा नसोची संधैभरी यसै गरी यत्तिकै सजिलैसित चल्ला भन्नु महान् मूर्खता हो । 

विश्वका राष्ट्रहरूले हामी सबै चिजमा सम्पन्न छौँ भनेर गर्व गरे पनि आखिर खाद्यान्न बिना कसैले सास फेर्न सक्दैन भने यता जनसङ्ख्या तीव्र वृद्धिले सबै खेतीयोग्य भु–भाग बस्तीमा परिणत भई देशै ढाकिएका छन् । देशको नक्सा तन्कीदैंन, जग्गा–जमिनको क्षेत्रफल बढदैन, हिमाल फैंलिंदैन, खोला नाला बढ्दैन उल्टै फराकिला खोला नालाहरू कुलो जस्तो र कुलो गोरेटो बाटोमा परिणत हुने क्रममा तीव्र छ ।

दिनहुँ फैलिने र बढेन क्रम केबल मानिसहरूको मात्र छ । हरेक वर्ष उब्जनी घट्ने र खाने मुख बढ्ने क्रम पनि त्यत्तिकै गतिमा दौडिरहेको छ, यसैगरी खेतीयोग्य जमिनमा बस्ती बस्न लाग्यो भने भोलिका सन्ततिलाई के खान दिने ? जनसङ्ख्या वृद्धिको क्रम रोकिएन भने भोलि समस्याले विकराल रूप नलिएला भन्न सकिन्न ।

अहिलेसम्मका सरकारले जलश्रोतको अपार भण्डार भएको देशमा पानी त पर्याप्त खान दिन सकेनन् भने अबका यी बर्सौटे सरकारहरूबाट अरु के के मात्रै आसा गर्न सकिएला र ? अब भविष्य प्रति साँच्चिकै चिन्तित हुने बेला आइसकेको छ । अधिकांश समुद्र भएका देशहरू त पानी र वातावरणको विषयमा आत्तिई गम्भीर भइसके भने हामीकहाँ यस विषयमा कुनै पाइला समेत चालिएको छैन ।

देशभरका जङ्गल मासेर सर्वत्र उजाड बनाइसके, प्रकृति संरक्षण प्रति पटक्कै सचेत छैनन्, अलि अलि भएका हरिया डाँडाकाँडामा पनि बस्ती बसाउने क्रममा प्रकृति मासेर बस्ती बसाइँदैछ, त्यस्ता नयाँ बस्तीहरूका लागि पूर्वाधारहरू केही छैन यसरी वातावरण विनाश हुँदैछ भने अबका दिनहरुमा कसरी पानी पर्छ त ?

अबका केही बर्सहरूमा त वर्षामा पनि पानीको आसा नगरे हुन्छ । बाह्य देशहरूमा जता हेर्‍यो त्यतै हरियाली नै हरियाली पानी पानी छ, हामीकहाँ भने एउटा मेलम्ची आयोजना सुरु गरेको पनि २० वर्ष भइसक्यो अझै पत्तो छैन भने जलश्रोतको अपार धनी देशका हामीलाई पानीको सधैँ हाहाकार छ । 

सिँचाइको अभावले देशका ८० प्रतिशत खेतीयोग्य जमिन आकासे पानीको भरमा परेर प्राय बाँझै रहेका छन् उनीहरूको जीविकोपार्जन कसरी होला ? देशमा उद्योग–धन्दा कल–कारखानाको गति हरेक दिन खस्किंदैछ भने बेरोजगार बढेका बढ्यै छन् । आफ्नै देशमा रोजगारको श्रोतहरू खुलिदिएको भए नेपाली युवा/युवतीहरू किन विदेशी भूमिमा रगत बगाउन जान्थे ?

कसलाई रहर छ र आफ्नो जन्मभूमि र परिवार छाडेर जाने ? आखिर आफ्नो देशका नेताहरुले गर्दा नै बाध्य भई बिदेसिनु परेको छ । विदेशमा पनि उनीहरूकै जनताले ओगटेका छन् भने संधैभरी नेपालीहरूलाई मात्र प्राथमिकता दिई रहलान् भन्न सकिंदेन । कुनै न कुनै निहुँमा बन्द गरिदिए भने के गर्ने ? यसर्थ सबै क्षेत्रमा हाम्रो देश हजारौँ वर्ष पछाडि परेको कुरा साह्रा जनतालाई थाहा छ । देशका गन्न सक्ने सरकारी/गैर सरकारी सङ्घ संस्थाहरूले सम्पूर्ण जनतालाई रोजगार दिएर धान्न सक्ने स्थिति छैन ।

यस्तो विकराल स्थितिमा नेताहरू चाहिँ विभिन्न बहानामा देशमा तनावको स्थिति मात्र सृजना गरी देशको बजेट स्वाहा पार्नेतिर मात्रै लागेका छन् । संविधान बनाउने बहानामा म्याद थपी रहने, अनावश्यक कुरामा झैँ–झगडा झिकी एक पार्टीले अर्को पार्टीको मान्छे मार्ने अनि सहिद घोषणा गरी उही राष्ट्रकै ढुकुटीबाट क्षतिपूर्ति दिई देश कङ्गाल बनाउने जस्ता गहन विषयतिर कसैको ध्यान गएको छैन । भोलिको विषयमा नसोची संधैभरी यसै गरी यत्तिकै सजिलैसित चल्ला भन्नु महान् मूर्खता हो । 

बर्सेनि लाखौँ बिद्यार्थीहरु कलेजबाट उच्चशिक्षा हासिल गरी रोजगारका विकल्पहरू खोज्दै हिंडने क्रममा देशमा रोजगार नपाएपछि बिदेसिन्छन्, दुःख पाउँछन्, मारिन्छन्, देशको राष्ट्रसेवक, देशको रगत, बेकम्मा भई विदेशी भूमिमा पीडाले अर्धमुर्छित भएर आत्महत्या गर्न समेत बाध्य भएका छन् । यदि देशले रोजगार दिन सकेको भए बिदेसिने थिए ?

सरकार त सकेसम्म विदेश पठाउनु मानै गौरव ठान्दछ, विदेशी मुद्रा भित्रिन्छ भनेर, किन गर्थ्यो देशमै रोजगारका विकल्पहरूको सृजना ? कुनै एउटा क्षेत्र त होस् जनताले सन्तोष मान्न सक्ने ? यो देशका जनता तनावै तनावमा बाँच्न बाध्य छन् । यही नै परम्परा रहिरहने र तत्कालै कुनै परिवर्तन नहुने हो भने सोमालिया र युगान्डा भन्दा पनि तल झर्न के बेर ? १०/१२ वर्ष पछि त्यो दिन हामीकहाँ पनि नआउला भन्न सकिन्न । 

अन्त्यमा,  आज देश वास्तवमै टुहुरो भएको छ, बिना लगामको घोडा झैँ संरक्षणहीन, अस्तव्यस्त भएको छ । सार्वजनिक सम्पत्ति जस्तो जसले पायो त्यसैले लुटेन ठाउँ भएको छ । हिजो पो जता जे भत्के बिग्रिए पनि राजाको टाउकोमा हालि दिने परम्परा थियो र राजाले पनि आफ्नो देश मैले नबनाए कसले बनाउँछ भन्ने ठानी जिम्मा लिएका थिए अनि राजाले गर्छन् भनेर जनता पनि केही हदसम्म ढुक्क थिए फेरी राजाको डरले सरकार अलिकति संवेदनशील पनि थियो, तर आज  कसलाई दोष लगाउनु ?

कसले जिम्मा लिने यो देशको ? सरकारको अविवेकी अवस्था अस्थिरत र हुती देखि सकेकाे छ । त्यसैले हामी यो देशका जनताहरूले भविष्यको लागि सुरक्षित हुने बाटाेकाे खाेजी गर्नुको बिकल्प छैन् ।