'प्रतिभा सम्मान र प्रतिभा पुरस्कार २०२०’ क्रमशःराजेन्द्र विमल र विमला तुम्खेवालाई

'प्रतिभा सम्मान र  प्रतिभा पुरस्कार २०२०’ क्रमशःराजेन्द्र विमल र  विमला तुम्खेवालाई

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष ७, २०७७

बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको जनाएको छ ।

आइतबार प्रतिष्ठानकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा‍. राजेन्द्र विमललाई ‘प्रतिभा सम्मान २०२०’ र युवा कवि विमला तुम्खेवालाई ‘प्रतिभा पुरस्कार २०२०’ प्रदान गर्ने निर्णय गरेको हो । सम्मानमा पचास हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद राशि र ताम्रपत्र रहेको प्रतिष्ठानले जनकारी गराएको  छ ।

वि.सं. २००३ साल चैत्र १२ गते जनकपुरधाममा जन्मिनुभएका डा. विमलले लामो समय प्राध्यापन पेशा अँगालेर नेपाली तथा मैथली भाषा साहित्य र संस्कृतिको क्षेत्रमा सेवा गर्दै आउनु भएको छ ।  उहाँका कृतिहरुमा समयका आँखा, राजेन्द्र विमलका कथाहरू, इतिहासक धाव र हमरे कथा थिक कथासंग्रह, फिस्टि रानी वालकथा, रोएको जुन र खहरेको तिर्खा रहेका छन । यसका साथै उहाँका इतर ब्रहृमाण्ड नाटक, सूर्यस्तंस पहिले गजल संग्रह, मिथिला गौरव र मिथिलाको इतिहास, सस्कृति र कला–परम्परा, गद्य, पद्य र नाटक समालोचना, नेपाल परिचय नवनीत र नेपाली, अग्रेजी, मैथली शब्दकोश लगायत दुई दर्जन भन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् । उहाँलाई साहित्य तथा कला, संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुुर्‍याएवापत ‘प्रतिभा सम्मान २०२०’ प्रदान गर्न लागेकाे जनाइएको छ । 

यसैगरी वि.सं.२०४२ सालमा तेह्रथुम जिल्लाको ओख्रेमा जन्मिनुभएका कवि विमला तुम्खेवाले वालापन हुदैदेखि निरन्तर कविता लेख्दै आउनु भएको छ । उहाँका विमला तुम्खेवाका कविताहरू, नदी छाल र तरङ्गहरू, संस्मरण एउटा बूढो रुखको र हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे लगायतका कविता कृतिहरू प्रकाशित छन् । उहाँको कविताहरू हिन्दी, अग्रेजी, कोरियन र लिम्बू भाषामा अनुवाद भएको पाइन्छ । तुम्खेवा कविता लेखनको साथै पत्रकारिता तथा आख्यान लेखनमा समेत सकृय हुनुहुन्छ भने बिभिन्न सामाजिक कार्यहरूमा पनि संलग्न रहँदै आउनु भएको छ । कविता साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएवापत कवि तुम्खेवालाई ‘प्रतिभा पुरस्कार २०२०’ प्रदान गर्न लागेको प्रतिष्ठानले  जानकारी  दिएकाे छ ।  प्रतिष्ठानले यसअघि दिँदैआएको ‘प्रतिभा सम्मान’ को राशि बीस हजारलाई यस वर्षबाट बढाएर पचास हजार पुर्‍याएको छ ।        
सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम, भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो दार्जिलिङ र गोपाल पराजुली सम्मानित भइसक्नु भएको छ ।  यसैगरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी र टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी र शुभ मुकारूङ पुरस्कृत भइसक्नु भएकाे छ ।     

यसैबीच आइतबार सम्पन्न प्रतिष्ठानको भर्चुअल सभाले वरिष्ठ साहित्यकार गणेश राईको अध्यक्षतामा चौथो कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा टंक वनेम, महासचिवमा देवेन्द्र खेरेस, सचिवमा नरेश नाति, सहसचिवमा अन्जु अन्जली, कोषाध्यक्षमा चोक गुरुङ र सहकोषाध्यक्षमा निर्मला परिवेश राईलाई चयन गरेको छ ।  

अहिलेको विषम परिस्थितिमा सभासमारोहको आयोजना गर्न कठिनाई भएपनि स्थिति समामन्य हुँदै गएपछि काठमाडौँमा एक समारोहको आयोजना गरी ‘प्रतिभा सम्मान’ तथा ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने प्रतिष्ठानका नवनिर्वाचित महासचिव देवेन्द्र खेरेसले जानकारी दिनुभएको छ ।