कर्णाली करिडोर हुम्ला सडकखण्डको ९० प्रतिशत काम सम्पन्न

कर्णाली करिडोर  हुम्ला सडकखण्डको ९० प्रतिशत काम सम्पन्न

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ७, २०७७

हुम्ला । यस्तै नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डको आफूले जिम्मा लिएको काम ९० प्रतिशत सम्पन्न गरेको जानकारी दिएको छ । 

आगामी चैत महिनासम्म सवारी साधन सञ्चालनमा ल्याउनका लागि नेपाली सेना लागिपरेको छ । मेसिन र कामदारबाट सडक निर्माण भइरहेकाले आउँदो चैतसम्ममा यो सडकखण्डमा सवारी साधन सञ्चालन हुने नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख कार्कीले बताउनुभयो ।

सेनाले निर्माण गरिरहेको बाजुरा र हुम्लाको सीमा कवाडीबाट सर्केगाड र चखेली गाउँपालिकाको सीमा सलिसल्लासम्म चैतसम्ममा सवारी साधन चलाउनयोग्य बनाउने उहाँले जानकारी दिनुभयो ।
    
कवाडीबाट सलिसल्लासम्मको ३९ किलोमिटर सडकमध्ये ताजाकोट गाउँपालिकाको कवाडीबाट सर्केगाड गाउँपालिका–१ बालुकुनासम्मको २७ किलोमिटर सडक सवारी साधन चलाउन सकिने भएको छ । सवारी साधन सञ्चालन गर्न सिफारिससमेत भइसकेको छ ।

बालुकुनाबाट सर्केगाड–१ खच्चासम्मको साढे नौ किलोमिटर सडकमा सामान ढुवानी गर्ने र सेनाको गाडी चलिरहेका छन् । बाँकी साढे दुई किलोमिटर क्षेत्रमा मात्र सडक निर्माण पूरा भएको छैन । नेरघाट, पम्पडे र सलिसल्लाको चट्टानी भागको साढे दुई किलोमिटर भाग मात्र बाँकी रहेको सेनाको निर्माण दलले जनाएको छ । सो क्षेत्रमा पनि काम भइरहेको छ ।
     
सडक निर्माणमा दैनिक नेपाली सेनाका ९० र अन्य २०० कामदार संलग्न छन् । ग्याबिन लगाउने, माटो भर्ने, सिमेन्टको काम र विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाउने काम एकसाथ अगाडि बढिरहेको छ ।