आदेश्वर दक्ष्य कुण्डमा किरियापुत्री आवासीय भवन निर्माण

आदेश्वर दक्ष्य कुण्डमा किरियापुत्री आवासीय भवन निर्माण

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ७, २०७७

काठमाडाैं । नागार्जुन नगरपालिका–५ स्थित आदेश्वर दक्ष्य कुण्डमा किरियापुत्री आवासीय भवन निर्माण गरिएको छ । नगरपालिकाको ५० लाख रुपैयाँ लागतमा छ कोठे किरियापुत्री आवासीय भवन निर्माण गरिएको वडाध्यक्ष महेश रिमालले बताउनुभयो ।

यहाँका किरियापुत्रीलाई बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको हो । यस क्षेत्रमा किरियापुत्रीका लागि छुट्टै भवन नहुँदा घर भाडा बस्नेलाई काजकिरिया गर्न समस्या परेको थियो । 

यस्तै नागार्जुन नगरपालिका–५ स्थित आदेश्वरमा धार्मिक तथा ऐतिहासिक महत्व बाकेको आदेश्वर उद्यानको निर्माण भइरहेको छ । नगरपालिकाको  ५० लाख रुपैयाँको लागतमा उक्त उद्यानको निर्माण शुरु गरिएको वडाध्यक्ष रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार सो उद्यानभित्र स्थानीय ऐतिहासिक तथा धार्मिक महत्व झल्किने वस्तु राखिनेछ ।

करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्यान निर्माण भएपछि वृद्धवृद्धा, बालबालिका र मुख्यगरी धार्मिक आस्था भएका बढी मात्रामा लाभान्वित हुने बताइएको छ । उद्यानमा हरियाली वातावरणसँगै वनभोजस्थल, स–साना कार्यक्रम आयोजना गर्न डबली, मन्दिर/स्मारक, बालबालिकाका लागि चिप्लेटी निर्माण गरिनेछ । आदेश्वर मन्दिरको नामबाट उक्त उद्यानको नाम आदेश्वर उद्यान राखिएको हो ।

स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको आधा शरीर पतन भएको र महादेव उत्पन्न भएको विश्वासमा उक्त स्थानमा आदेश्वर महादेवको मन्दिर स्थापना गरी पूजा गर्न थालिएको हो । पुरानो तथा पुरातात्विक महत्व बोकेको उक्त मन्दिरमा हरेक सोमबार भक्तजनको भीड लाग्ने गर्छ ।