स्थानीय तहमै पहिलोपटक जलजलामा भू–सेवा केन्द्र स्थापना

स्थानीय तहमै पहिलोपटक  जलजलामा भू–सेवा केन्द्र स्थापना

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ७, २०७७

पर्वत । धवलागिरिको स्थानीय तहमै पहिलोपटक पर्वतको जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना भएको छ । स्थानीय तहबाट जनतालाई जग्गासम्बन्धी लिखत प्रमाणित, अंशवण्डा, राजीनामा, नामसारीलगायत जग्गा प्रशासनसम्बन्धी कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापनाको गरिएको हो ।

सोमबारदेखि शुरु भएको केन्द्रको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सदरमुकाम कुश्मामा रहेका कार्यालयबाट प्रदान हुने सेवा विस्तारै गाउँपालिकाबाटै जनतालाई उपलब्ध गराउन लागिपरेको बताउनुभयो ।
      
कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानून व्यवसायीमार्फत हुने भू–सेवाको काम स्थानीय तहबाटै हुने भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । उहाँले केन्द्रबाट उपलब्ध गराइने सेवासुविधाका बारेमा वडा कार्यालयमा समेत आवश्यक कागजपत्रसहित विवरण जनप्रतिनिधिमार्फत जानकारी लिन सकिने बताउनुभयो ।

प्राविधिक सामग्रीसहित जनशक्तिको व्यवस्थापन गरी भू–सेवा केन्द्रबाट हुने सेवाका बारेमा समुदायस्तरमा प्रचारप्रसार गरिने उहाँले बताउनुभयो । अनलाइनमा भएको फाराम भरेर प्रिन्ट गरी प्रमाणीकरणका लागि मालपोत कार्यालयमा निवेदन र लिखत पठाउँदा सेवा प्रवाह सहज हुने प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाइ छ । गाउँपालिकामा सेवा शुरु हुनु अगाडि कर्मचारीलाई भू–सेवा केन्द्रमार्फत गर्ने काम गराउनका लागि तालिमसमेत दिइएको थियो । केन्द्रले स्मार्ट मालपोतको अभ्यास हुने गाउँपालिकाले जनाएको छ ।