दुई वर्षसम्म कमाएको ७१ लाख नगद लिएर श्रीमान् फरार

दुई वर्षसम्म कमाएको ७१ लाख नगद लिएर श्रीमान् फरार

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ७, २०७७

बागलुङ । विदेशको कमाइ कुम्ल्याएर श्रीमान् फरार भएको भन्दै एक महिलाले श्रीमान्को खोजी गर्नुभएको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी एक महिलाले सरोकारवालालाई खोजी गरिदिन अनुरोध गर्नुभएको हो ।

श्रीमान् प्रेम पौडेलले जापानमा रहँदा आफूसमेतले कमाएको रकम बोकेर फरार भएको भन्दै सरीता सुवेदी पौडेलले जिल्ला प्रहरी कार्यालय बागलुङ र आप्रवासी स्रोत केन्द्र बागलुङलाई अनुरोध गर्नुभएको हो ।

तीन वर्ष पहिले श्रीमान्सँग ‘डिपेन्डेण्ट’ ९आश्रित० भिसामा जापान पुग्नुभएकी उहाँले दुई वर्षसम्म कमाएको ७१ लाख नगद लिएर श्रीमान् फरार भएको प्रहरीमा दिएको निवेदनमा उल्लेख छ । विसं २०७१ मा विद्यार्थी भिसामा जापान पुगेका प्रेमले तीन वर्ष पहिला सरीतालाई डिपेन्डेण्ट भिसामा जापान लग्नुभएको थियो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थान माइतीघर भएकी सरीता र प्रेमबीच विसं २०६७ मा परम्परागत विवाह भएको थियो । 'जापान पुगेपछि दुई वर्षको भिसा लगाइदिनुभयो, काम पनि थालेँ, तर कमाइ मैले राख्न पाइनँ', उहाँले भन्नुभयो, 'कुटपिट गरेर सबै पैसा लगेपछि म शरणार्थी बन्नुपर्यो ।' उहाँले जापान पुगेदेखि नै सम्बन्ध राम्रो नभएको बताउनुभयो ।

धेरैपटक सम्बन्ध सुधार गर्न खोजे पनि श्रीमान् फरार भएको उहाँले बताउनुभयो । लामो समय सम्बन्धमा दरार आएपछि उहाँहरू एनआरएनए जापान र बलेवा सेवा समाजको पहलमा नजिकिनुभएको थियो । भिसा सकिएपछि डिपेन्डेण्टमा जापान पुगेकालाई सहमति आवश्यक पर्छ । श्रीमान्ले सहमति नदिएपछि एक वर्षसम्म शरणार्थीका रूपमा आफन्तकोमा बस्नुपरेको सुवेदीले बताउनुभयो ।

'पछि छलफल भएर नेपालसँगै फर्किने, सँगै बस्ने र फर्किँदा भिसाको प्रक्रिया गर्ने भनेपछि नेपाल आयौँ, नेपाल आएपछि काठमाडौँमा दुई दिन र बागलुङमा १२ दिनको क्वारेन्टिइन बसेर उहाँ फरार हुनुहुन्छ', उहाँले भन्नुभयो, 'होटलमा क्वारेन्टिनका फरक–फरक कोठा थिए, मङ्सिरको २३ गतेदेखि सम्पर्क छैन ।' उहाँहरू मङ्सिरको १३ गते नेपाल आउनुभएको थियो । सँगै आएको श्रीमान् र कमाएको पैसासमेत नरहेकाले आफू बेसहारा भएको भन्दै उहाँले खोजीका लागि आग्रह गर्नुभएको हो ।

उहाँहरूको आठ वर्षको छोरा छन् । 'पहिले देवरसँग घरमा रहेको छोरा माइतीमा राखेकी छु', उहाँले भन्नुभयो, 'पहिलेदेखि नै मसँग टाढिन चाहनुभएका श्रीमान् हराउनुभयो, मेरो न टेक्ने डाली छ न समाउने हाँगा ।' सुवेदीले निवेदन दिएपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय र त्रिभुवन विमानस्थलमा समेत प्रहरीले फरार भएका उनका श्रीमान्को हुलिया पठाएको छ ।