खार्पुको तातोपानी कुण्डमा तातोपानीमा नुहाउने र कुण्ड बस्नेको सङ्ख्या बढ्याे

खार्पुको तातोपानी कुण्डमा  तातोपानीमा नुहाउने र कुण्ड बस्नेको सङ्ख्या बढ्याे

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ७, २०७७

हुम्ला । हिउँद शुरुसँगै जिल्लाका तातोपानी कुण्डमा नुहाउँने बढ्न थालेका छन् । खार्पुनाथ गाउँपालिकाको खार्पुको तातोपानी कुण्डमा यतिबेला तातोपानी नुहाउने र कुण्ड बस्नेको सङ्ख्या बढेको छ । त्यहाँ दैनिक पाँचदेखि दश जनासम्म नुहाउने र तातोपानीको बाफ लिन आउने गरेको स्थानीयवासी सम्झना शाहीले बताउनुभयो । 
   
 कर्णाली नदी नजिकका तातोपानी कुण्डमा महिला, वृद्धवृद्धा र बाथरोगका बिरामी आउने गरेका छन् । बाथ तथा छाला सम्बन्धी रोगी तातोपानी कुण्डमा नुहाउँदा उपचार हुने मान्याताले टाढाटाढा गाउँबाट पनि मानिस आउने गरेको शाहीले बताउनुभयो । खार्पुमा नुहाउन तथा बाफ लिन राहदेव फुचा, दुर्पा, ठेहे ताक्लालगायतका गाउँबाट आउने गरेको अर्का स्थानीयवासी धीरु भण्डारीले बताउनुभयो ।

 हुम्लामा चखेलीको दर्बी, सर्केगाडको उनापानी, खार्पुनाथको खार्पु र नाम्खाको केर्मीमा तातो पानी कुण्ड छन् । स्थानीयवासी एक सातादेखि दश दिनसम्म तातोपानी कुण्डमा बस्ने गर्दछन् ।