सत्ता, सनक र नेपाली राजनीतिः एक मनोवैज्ञानिक विश्लेषण

सत्ता, सनक र नेपाली राजनीतिः एक मनोवैज्ञानिक विश्लेषण

महेश पौड्याल  |  दृष्टिकोण  |  पुष ८, २०७७

४ पुस २०७७ का दिन दुई–तिहाइको असामान्य बहुमत बोकेको ओली सरकारले 'ताजा जनमतका लागि' भन्दै नयाँ चुनावको घोषणा गर्दै संसद भङ्ग गरिदियो । संविधानमै नभएको प्रावधानलाई आधार बनाइयो । ओलीसँग विकल्प थियो औ - राजीनामा दिने र सत्यकथा लिएर जनतामा जाने । तर, त्यसो भएन । प्रश्न स्वाभाविक रूपले उठ्यो - दुई–तिहाइ छ हातमा, किन चाहियो ताजा जनमत ?  पुरानो जनमतमा के खोट छ? जवाफ कसैसँग पनि छैन । 

पहिलो संविधानसभामा कम्युनिस्टहरूको बहुमत थियो । संविधान नबन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा भङ्ग गरे, र ताजा जनमातका लागि नयाँ संविधानसभाको घोषणा गरे । किन ? जवाफ कसैसँग पनि थिएन । तर्क जे गरिएको भए पनि, त्यो कदम सनकी नै थियो । 

अलि अगाडि आजौँ । देउवको सरकार चलेकै थियो । बहुमत थियो । राजाले देउबालाई अक्षम घोषणा गरे र सबै अधिकार आफ्नै हातमा लिए । किन ? कसरी ? कसैलाई भित्री कुरा थाहा भएन । निर्णय सनकी नै थियो । 

यो कुरा महेन्द्र-बीपीको युगदेखि नै हुँदैआएको छ नेपाली राजनीतिमा । कुनै निर्वाचित सरकारले पाँच वर्ष पूरा गर्नु यहाँ निकै ठूलो समाचार मानिन्छ । कसरी बीपी असक्षम भए र पञ्चायत आयो ? कसरी मनमोहन अधिकारीको सरकारले एक वर्ष पनि पूरा गरेन ?  कसरी वर्षेनीका सरकार बन्दै आए नेपालमा? के छ भित्री कुरा? यसको खासै विश्लेषण हुँदैन । तर, कसै कसैको सनक भने सबै ठाउँमा देखिन्छ । 

आजसम्म भन्दै आइयो- यो सब राजनैतिक अङ्कगणितको खेल हो । अल्पमत–बहुमतको सन्तुलनको कुरा हो । यो सन्तुलन बिग्रदा सत्ता हल्लिने हो । अथवा, शासकको सत्तामोहका कारण यस्तो हुने हो । तर, अहिलेको ओलीको कदमले यी मान्यता र अनुमानहरूमाथि पनि पानी फेर्दिएको छ । न यहाँ अल्पमत–बहुमतको कुरा छ, न नै सत्तामोह देखिन्छ । बहुमत त दुईतिहाइको छ नै । सत्तामोह हो भनौँ भने, सत्तामै त छन् ! कुर्सीमै त छन् । समय अझै बाँकी नै छ । 

नेपाली राजनीतिको विश्लेषणका अनेकन पाटा र आयाम होलन्, तर संसदलाई असमयमा भङ्ग गर्ने, सत्ता कब्जा गर्ने, 'कु' गर्ने, वा मध्यावधि चुनावको घोषणा गर्ने खेल जो छ, त्यसको मनोवैज्ञनिक विश्लेषण जरुरी छ, र त्यसबाट भोलिका लागि एउटा स्पष्ट पाठ सिक्नु जरुरी छ । 

अबको नेताले मर्यादाका अन्तर्राष्ट्रिय मान्यता नगुमाऊन् । कुनीतिक मर्यादाका अपेक्षित अभ्यासहरूमा लज्जास्पद सम्झौता नगरून् । जमिनसँग जोडिऊन् । जनताको दैनिन्दिनीसँग कुरामा होइन,  व्यवहारमा जोडिऊन् । बढ्दैगरेको युवा पुस्ताले राजनीतिलाई  एउटा सुन्दर विकल्पको रूपमा देखोस् । नेतामा आफ्नो नायक देखोस् । 

नेपाली राजनीतिको उच्चतम नेतृत्वको उमेर र अनुभव हेर्ने हो भने, त्यो मेहेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको तानाशाहीसँग लडेर आएको नेतृत्व हो । राणासँगै लडेर आएका त्यति धेरै मान्छे आज नेतृत्वमा छैनन् । जीवीतै पनि छैनन् भन्दा हुन्छ । विशेष गरी पञ्चायत कालमा मेहन्द्र-वीरेन्द्रका विरुद्ध र ६० को दशकमा ज्ञानेन्द्रको नेतृत्वमा रहेको राजसत्ता विरुद्धको आन्दोलनबाट दीक्षित भएर आएको नेतृत्व सक्रिय छ आज ।

यो नेतृत्व जीवनभर केसँग लड्यो ? जीवनभर यो नेतृत्व यस्तै तानाशाहीसँग लड्यो । छलछामसँग लड्यो । 'कु'हरूसँग लड्यो । संसदलाई भङ्ग गर्ने र लोकतन्त्रको हत्या गर्ने शक्तिसँग लड्यो । अँ, कहिलेकाही दृश्य–अदृश्य विदेशी शक्तिलाई पनि एउटा भयको छायाको रूपमा व्याख्यातित गर्दै अयो । तर, सारमा, यस्तै यस्तै 'सङेकथन'सँग लडेर आयो, जसको सम्बन्ध जनताको दैनन्दिनी वा जमिनमा विद्यमान वास्तविक समस्यासँग धेरै कम र सत्तासन्तुलनसँग बढी थियो । 

त्यसैले यस नेतृत्वले अन्य केही कुरा सिकेन, यही सिक्यो । यो पनि देख्यो- ती एकात्मवादी भनिएका, तानाशाह भनिएका र सर्वसत्तावादी भनिएका शक्ति पनि समय समयमा सत्तामा फर्किए, र सडकमा शक्तिप्रदर्शन गरि नै रहे, समाजको एउटा निकै ठूलो तप्कालाई आफ्नो स्थायी समर्थक बनाएर हिँड्न पनि सफल भयो । फलस्वरूप, यी नेतालाई लाग्यो, केही नबिग्रने रहेछ । पारा यही रहेछ । यही पो रहेछ तरिका । 

यो नेतृत्व इतिहासमा कहिल्यै पनि गरिबीसँग लडेर उभिएको होइन । देशका युवाहरूको आकांक्षा समातेर उभिएको हैन । विश्वका देशहरूले गरेको आर्थिक र वैज्ञानिक विकासबाट इख लिएको वा त्यसलाई चुनौतीको रूपमा स्वीकारेको पनि होइन । अलिकति लज्जाबोध गरेर उभिएको पनि होइन । 'लोकतन्त्रलाई खतरा छ' भन्दै भारत, सामन्तवाद र राजालाई देखाएर उभिएको नेतृत्व हो । सधैँ, दशकौँ अघि सान्दर्भिक रहेका र समयसँग असान्दर्भिक हुँदै गएका महेन्द्र, वीपी, पुष्पलाल वा मदन भण्डारीका कुराको काँचुली समातेर हिँडेको नेतृत्व हो । 

त्यसैले यस नेतृत्वको दृष्टि यिनै तीन स्थायी 'सङेकथन' कै वरिपरि सीमित रह्यो । नेता पनि पढेर, लेखेर, बौद्धिकता प्राप्त गरेका, दृष्टि बोकेका भन्ने खासै छैनन् । सबैको सफलताको फेहरिस्त भनेको राजासँग लडेका, जेलनेल खाएका, पञ्चायत विरुद्ध लडेका, प्रजातन्त्रका लागि सङ्घर्ष गरेका, आदि छन् । र, तिनै प्रज्ञातन्त्रको गला घोट्छन् । कहिलो संविधानसभा भङ्ग गर्छन्, कहिले निर्वाचित संसाद । आफू अनुकूलका मान्छेलाई अख्तियार प्रमुख, सर्वोच्चको प्रधान न्यायाधीश, प्रमुख चुनाव आयुक्त, प्रहरी महानिरीक्षक र सेना प्रमुख, विश्वविद्यालयका कुलपति आदि बनाउँछन् ।  

यस क्रममा कहीँ न कहीँ भङ्गता आउनु नितान्त जरुरी देखिन्छ । हामीलाई माथि उल्लेखित तीन सङ्कथनका विरुद्धमात्रै होइन, अन्तर्राष्ट्रिय लज्जाका विरुद्ध पनि लड्ने नेतृत्व चाहिन्छ । दृष्टि, अध्ययन र ज्ञान भएको नेतृत्व चाहिन्छ । युवाहरूको आकांक्षाको भाषा बुझ्ने नेता चाहिन्छ, पञ्चायतकालीन ग्राम पञ्चायतको पञ्चको जस्तो भाषा, स्वभाव र चिन्तन बोकेको नेतृत्व होइन । सूचना र प्रद्योगिकीको भाषा बुझेको, कृषि, डिजिटल र औद्योगिक क्रान्तिको सङ्गति र भाषा बुझेको र अबको पचासौँ वर्षअगाडिको विश्वको विकासको गतिलाई आकलन गर्न सक्ने दृष्टि भएको नेतृत्व चाहिन्छ । हामीलाई नयाँ सूचकाङ्क, शोध र अनुसन्धानका नयाँ खुलास र तथ्य तथा पार्टीका प्राज्ञ होइन कि ज्ञानबाट अनुप्राणित,  प्राज्ञिक समुदायको तटस्थ सल्लाहबाट निर्देशित हुने नेतृत्व चाहिन्छ । 

यसका केही बाटाहरू छन् । सधैँ महेन्द्र, बीपी र मदन भण्डारी देखाएर उभिन खोज्ने नेताबाट निवृत्ति लिनु जरुरी छ । उहाँहरू सोनामधन्य हुनुहुन्छ, तर आजाको परिवर्तित युग उहाँहरूको दृष्टिको अनुकूल छैन । उहाँहरू स्थान अब किताब, संस्मरण र इतिहास हुन् । सुदूरको देशबाट आयात गरिएको सिद्धान्तबाट पनि हात धुने बेला आइसकेको छ । यस्ता कुराले नयाँ पुस्तालाई सिद्धान्त र शब्दावली रटाउँछ, तर नयाँ समय र समस्यासँग परिचित हुनै दिँदैन । 

पार्टी यिनै रहलान्, तर नेतृत्वको हकमा भने अघिल्ला दशकका नेताको छायाबाट भन्दा पनि आजका समस्याको स्पर्शबाट पाइन् टिपेको नेतृत्व जरुरी छ । भन्नुको तात्पर्य के भने मौजुदा पार्टीबाटै पनि, देउबा, पशुपति सम्शेर, महन्थ ठाकुर, केपी ओली वा प्रचन्डको गुरुकुलबाट अनुप्राणित नेताबाट देशको विकास सम्भव छैन । ती आए भने पुनः अहिले केपी ओलीले गरेजस्तै गर्छन् । बुझ्नुपर्ने कुरा के छ भने, सतहमा देखिएका पात्र केपी भए पनि यस नाटकका सहायक पात्र प्रचन्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमहरू हुन्, र अकर्मण्यताको फर्समा बसेर रमिता हेर्ने देउबा, बाबुराम भट्टराई, कमल थापा र महन्थ ठाकुरहरू पनि हुन् । 

हरेक कुरालाई तर्क गरेर वा उखान र कथाकहानी भनेर बडार्ने नेतृत्वको समय गयो । धीरगम्भीर भएर समयका कुरा सुन्ने र अन्तर्राष्ट्रिय मर्यादाको ज्ञान भएको, आजका समस्यासँग जुझेर दीक्षित भएको नेतृत्व देशलाई चाहिन्छ । नेतृत्वमा त्यो तहको परिपक्वता पनि चाहिन्छ, जो आवश्यक परे गठबन्धनको संस्कृति अँगाल्न सक्छ, सही छ भने विपक्षको दलिल र सुझवलाई स्वीकार्न पनि सक्छ । स्पष्ट भन्दा, अहिलेका नेताले बनाएको बाटोलाई पूर्णतः तिरस्कार गरेर, नयाँ मान्यता र पद्धति बनाएर हिँड्ने आँट भएको नेतृत्व चाहिन्छ । 

अबको नेताले मर्यादाका अन्तर्राष्ट्रिय मान्यता नगुमाऊन् । कुनीतिक मर्यादाका अपेक्षित अभ्यासहरूमा लज्जास्पद सम्झौता नगरून् । जमिनसँग जोडिऊन् । जनताको दैनिन्दिनीसँग कुरामा होइन,  व्यवहारमा जोडिऊन् । बढ्दैगरेको युवा पुस्ताले राजनीतिलाई  एउटा सुन्दर विकल्पको रूपमा देखोस् । नेतामा आफ्नो नायक देखोस् । 

पार्टीहरूले गुरुकुलको विरासतलाई अब निरुत्साहित गरून् । वर्तमानको बोधमा टेकेर, नयाँ समस्याको सापेक्षतामा आफूलाई विकसित गरेको नेतृत्वलाई बागडोर सुम्पिऊन् । जतना पनि परम्परागत धारको होइन कि, आजको समयका समस्याको फेरो समातेर आउने नेतृत्वको पक्षमा उभिऊन् । 

देशले तब निकास पाउँछ । नत्र, केपी ओलीहरूका दशौँ अवतारलाई ब्रह्मा आफैँले पनि रोक्न सक्दैनन् ।