तनहुँमा उत्पादन गरिएका मह बिक्रीका लागि बजारको समस्या छैन

तनहुँमा उत्पादन गरिएका मह बिक्रीका लागि बजारको समस्या  छैन

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ८, २०७७

तनहुँ । तनहुँमा उत्पादन गरिएका मह बिक्रीका लागि बजारको समस्या नरहेको तथा मह बिक्रीका लागि घरघरमा धाउनु नपर्ने भएकाे छ । माग राम्राे भएका कारण घरमा नै आएर मह लैजाने गरेका छन् । फार्ममा उत्पादन भएको मह लिनका लागि टाढा–टाढादेखि मानिस आउने गर्छन् ।

बजारमा डुलाएर बिक्री गर्ने मह अधिकांश नक्कली हुने भएकाले डुलाएर हिँड्नेसँग सजग रहन सबैमा, मह कृषक रामनाथ मिश्रले आग्रह गर्नुभयो । मह बालबालिका, वयस्कदेखि वृद्धवृद्धा सबैको लागि उत्तम मानिन्छ । रुघाखोकीका लागि मह अचूक औषधिको रूपमा लिइन्छ ।
 
वार्षिक कम्तीमा ४०० माना मह उत्पादन गर्दै आउनुभएका मिश्रले यस वर्ष मह उत्पादन ह्वात्तै घटेको बताउनुभयो । यस वर्ष अत्यधिक वर्षा भएका कारण मह उत्पादन घटेको हो । अहिले मुस्किलले बाह्र माना मह उत्पादन भएको उहाँले जानकारी दिनुभयो । लामो समय पानी परिरहेकाले चर्नका लागि बाहिर निस्के पनि फूलको रस पानीले पखालिदिने भएकाले सोचेअनुरूपको मह उत्पादन नभएको उहाँ बताउनुहुन्छ । मौरीका लागि अरिङ्गाल, माउसुली, सुलसुले, गँगटे, बिच्छीलगायत मुख्य शत्रु मानिन्छन् । 

पछिल्लो समयमा विदेशिने युवालाई सकारात्मक सन्देश किसान मिश्रले दिनुभएको छ । मेहनत र परिश्रम गर्न सके स्वदेशमै बसेर मनग्य पैसा कमाउन सकिने उहाँको धारणा छ । 'वार्षिक आठ/दश लाख कमाउन विदेशिनु पर्दैन', उहाँले भन्नुभयो, 'एक सय घार मौरी पाल्न सके विदेशमा कमाउने पैसा आफ्नै देशमा घरपरिवारसँग बसेर कमाउन सकिन्छ ।' मौरीपालनका लागि धेरै लगानी गर्न नपर्ने, दिनहुँ खटिनुनपर्ने, धेरै जनशक्ति नचाहिने हुँदा अन्य पेशाको तुलनामा सजिलो पेशाका रूपमा लिने गरिन्छ ।