भोजपुर–चखेवा भञ्ज्याङमध्ये पहाडी लोकमार्ग निर्माणको काम ७५ प्रतिशत सकिंदै

भोजपुर–चखेवा भञ्ज्याङमध्ये पहाडी लोकमार्ग निर्माणको काम ७५ प्रतिशत सकिंदै

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ८, २०७७

भोजपुर । भोजपुर–चखेवा भञ्ज्याङमध्ये पहाडी लोकमार्ग निर्माणको काम ७५ प्रतिशत सकिएको छ । सो सडक खण्डको ४२ किलोमिटरमध्ये ३२ किलोमिटर कालोपत्रको काम सकिएको हो । आगामी छ महिनाभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ । 

छ महिनाभित्रै सक्ने गरी कामलाई गति दिइएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख सुुरेश न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, 'यो सडक निर्माणको काम तीव्रगतिमा बढेको छ, बन्दाबन्दी तथा प्रतिकूल मौसमको कारण कालोपत्रको काममा केही बाधा पुगे पनि छ महिनाभित्र सम्पूर्ण काम सक्नेछौँ ।'

सडकको निर्माण लागत करिब ६५ करोड रुपैयाँ रहेको छ । तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष २०७२/७३ बाट कालोपत्रको काम थालनी गरेको थियो । खासगरी कालोपत्रको काम गर्ने समय पाँच महिना मात्र उपयुक्त हुने भएकाले समयमै सम्पन्न गर्न कठिनाइ भएको कम्पनीका इन्जिनीयर शैलेन्द्र मल्लले जानकारी दिनुभयो ।  

सडक निर्माण भइरहेको स्थलको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्का, प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीसहित इन्जिनीयरको टोलीले अनुगमन गरेको छ । प्रजिअ पुरीले भन्नुभयो, 'हामीले यस सडकको नियमित अनुगमन गरिरहेका छौँ, अहिलेसम्मको काम गुणस्तरीय नै देखिएको छ ।'