'अन्य खर्च कटाएर अटोबाट दैनिक सरदर एक हजार रुपैयाँ जोगिने गरेको छ '

'अन्य खर्च कटाएर अटोबाट दैनिक सरदर एक हजार रुपैयाँ जोगिने गरेको छ '

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ८, २०७७

टिस्टुङ । विश्वभर कोभिड–१९ को भाइरस सङ्क्रमणका कारण बन्दाबन्दी बेहोर्नु नपरेको भए उहाँलाई थप सात महिना बिनापारिश्रमिक विदेशमा बस्नुपर्ने थिएन । विदेशमा अलपत्र नेपालीको सूची बनाएर नेपाल फर्काउने सरकारको निर्णयले थाहा नगरपालिका–६ बज्रबाराहीकी ३१ वर्षीया श्रमिता महर्जनलाई ठूलो राहत मिल्यो । 

 जसोतसो नेपाल फर्किएपछि उहाँलाई त्यत्तिकै बस्न मन लागेन । आम्दानीका लागि केही त गर्नै पर्‍यो भन्ने लागेपछि अन्ततः उहाँले  यात्रुबाहक अटो किन्नुभयो र नगर क्षेत्रमा चलाउन थाल्नुभयो । अहिले त्यसैको आम्दानीले घरखर्च चलाउन सकेको उहाँको भनाइ छ ।  

पहिलोपटक वैदेशिक रोजगारीअन्तर्गत ओमानमा दुई वर्ष बसेपछि उहाँ नेपाल फर्किनु भएको थियो । नेपाल फर्केपछि उहाँले नगरमा इन्टरनेट सेवा प्रदायक संस्थामा काम गर्नुभयो । तैपनि उहाँलाई विदेश मोहले भने छाडेको थिएन । 'ओमानमा हुँदा प्रवेशाज्ञाको म्याद नसकिँदै बिरामी भएँ, त्यसपछि जसोतसो म्याद गुजारेर नेपाल फर्किएँ', उहाँले भन्नुभयो । 

नेपाल फर्किएपछि घरटोलमै पाएको रोजगारीबाट सन्तुष्ट हुन नसकेपछि उहाँ फेरि वैदेशिक रोजगारीका लागि कस्सिनुभयो र कुवेत पुग्नुभयो । कुवेतमा पुग नपुग दुई वर्ष बस्दा उहाँ घर फर्किने तयारी गर्दै हुनुहुन्थ्यो । त्यहीबीच कोभिड–१९ को महामारी फैलियो । बन्दाबन्दी घोषणासँगै अन्तरराष्ट्रिय उडान बन्द भए र थप सात महिना कुवेतमै अड्किनु पर्‍यो । 'सात महिनासम्म तलब नपाउँदा एकदमै समस्या भएको थियो, त्यसपछि घरबाट झण्डै  एक लाख रुपैयाँ झिकाएर नेपाल फर्किएँ', महर्जनले सुनाउनुभयो । 

महर्जनले अटो किनेर चलाउन थालेको धेरै दिन भएको छैन ।  केही दिनअघि मात्रै उहाँले अटो किन्नुभएको थियो । अटो चलाउन थालेपछि अहिले उहाँको दैनिकी फेरिएको छ । बिहान उठ्नेबित्तिकै उहाँको अटो यात्रा शुरु हुन्छ । धेरैजसो थाहा नगरपालिकाको बज्रबाराही क्षेत्रमा चल्ने अटो यात्रुको मागअनुसार दामन, पालुङ, टिस्टुङ, चित्लाङ र इन्द्रसरोवरको मार्खु क्षेत्रसम्म पुग्नुपर्ने हुन्छ । 'अटो किनेर ठीकै गरेछु भन्ने लागेको छ, खाली बस्नु परेको छैन,' उहाँ भन्नुहुन्छ, 'अन्य खर्च कटाएर अटोबाट दैनिक सरदर एक हजार रुपैयाँ जोगिने गरेको छ ।'  थाहा नगरपालिकामा अहिले करीब डेढ सय अटो सञ्चालनमा छन् । तीमध्येमा हाल महिला चालक महर्जन मात्र हुनुहुन्छ ।