दिल्लीले कोलकातालाई घरेलु मैदानमा हराउन सक्ला ?

दिल्लीले कोलकातालाई घरेलु मैदानमा हराउन सक्ला ?
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २९, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शुक्रबार राति कोलकाताको इडन गार्डेन मैदानमा दिल्ली क्यापिटल र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दैछन् । 

चालू आइपिएलमा दुवै टिमले समान ६ खेल खेलेका छन् । कोलकाता ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ भने दिल्ली ६ अंकका साथ छैठौं स्थानमा छ । यस्तोमा दुवै टिम खेल जितेर अंक बढाउन चाहान्छन् । तर, दुवै टिमलाई खेल जित्न सहज भने छैन । 

किनकि दुवै टिममा घातक ब्याट्सम्यान छन् । कोलकातामा सबैभन्दा घातक आन्द्रे रसल देखिएका छन् । चालू आइपिएलमा उनको स्ट्राइक रेट सर्वाधिक २१२.३९ छ । 
अलराउन्डर सुनिल नरैन पनि दिल्लीको जितमा बाधक बन्न सक्छन् । त्यसकारण दिल्लीले जितका लागि नैरनको आक्रामक ब्याटिङ र बलिङलाई रोक्नुपर्ने देखिन्छ । 

कोलकातालाई पनि खेल जित्न सहज छैन । किनकि दिल्लीमा रिसभ पन्तजस्ता आक्रामक ब्याट्सम्यान छन् । चालू आइपिएलमा पन्त निकै आक्रामक देखिएका छन् । उनी चालू आइपिएलमा आक्रामक ब्याटिङ गर्नेको सूचीमा उनी चौथो स्थानमा छन् । उनले चालू आइपिएलमा १७२.५४ को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् । 

यस्तै, कप्तान श्रेयर एैयर पनि लयमा देखिएका छन् । उनी चालू आइपिएलमा सर्वाधिक रन बनाउनेको सूचीमा छैठौं स्थानमा छन् । उनले चालू आइपिएलका ६ खेलबाट ३५.८३ को औसतमा २१५ रन बनाएका छन् । 

दिल्लीको अर्काे बलियो पक्ष हो, बलिङ आक्रमण । अहिलेसम्म सर्वाधिक विकेट लिने खेलाडी दिल्लीमै छन् । दिल्लीका कागिसो रवाडाले चालू आइपिएलका ६ खेलबाट ११ विकेट लिएका छन् । 

यी खेलाडीलाई रोक्न सके मात्रै कोलकाताले आजको खेलमा जित निकाल्न सक्छ । तर, कोलकातालाई घरेलु मैदानको साथ रहनेछ । 

हेड टु हेडमा कोलकाता अघि 

हेड टु हेड खेलमा कोलकाता अघि देखिएको छ । यी दुई टिमबीच भएका २४ खेलमा कोलकाताले १३ खेलमा जितेको छ भने दिल्लीले १० खेलको नतिजा मात्रै आफ्नो पक्षमा पारेको छ । 
घरेलु मैदानमा भने कोलकाता निकै अघि छ । घरेलु मैदानमा भएका ८ खेलमध्ये ७ मा कोलकाता विजयी भएको छ । यस्तोका कोलकाताको मनोवल बलियो देखिन्छ ।