निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका निर्माणका लागि १० लाख सहयोग

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका निर्माणका लागि १० लाख सहयोग

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ९, २०७७

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले १७ लाख रुपैयाँ सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा  १० लाख रुपैयाँ प्रदान गरेको हो । नगरपालिकाको तर्फबाट  १५ लाख रुपैयाँ, जनप्रतिनिधिको तर्फबाट एक लाख रुपैयाँ र कर्मचारीको तर्फबाट एक लाख रुपैयाँ गरी  १७ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिएअनुसार सहयोग रकम हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई बुधबार १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा नगर प्रमुख वनले कोरोना महामारीका कारण रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, 'चितवनमा अन्तर्राष्ट्रिय गौरवको आयोजना बनिरहेको छ । यो अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौँ ।' चितवन मुलुकको तेस्रो पर्यटकीय गन्तव्य भएकाले रङ्गशालाले जिल्लामा खेलकूदको माध्यमबाट पर्यटनको विकास हुने उहाँको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी सात लाख रुपैयाँ पनि छिट्टै हस्तान्तरण गरिने बताउनुभयो ।