वालिङमा निर्माण हुने भनिएकाे औद्योगिक ग्रामको डिपिआर सम्पन्न

वालिङमा निर्माण हुने भनिएकाे औद्योगिक ग्रामको डिपिआर सम्पन्न

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ९, २०७७

स्याङ्जा । वालिङमा निर्माण हुने औद्योगिक ग्रामको डिपिआर सकिएको छ । वालिङ १० बैंडीमा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्राम सम्पन्न गर्नका लागि कूल २७ करोड ९५ लाख १३ हजार ९१२ रुपैयाँ लागत लाग्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । 

केन्द्रीय सरकारले अगाडि बढाएको एक पालिका एक औद्योगिक ग्राम नीतिअनुसार वालिङ नगरपालिकाले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा औद्योगिक ग्राम निर्माणकार्य अगाडि बढाएको नगरप्रमुख खाँणले बताउनुभयो ।  'औद्योगिक ग्राम निर्माणमा तीन वटै सरकारको संयुक्त लगानी हुन्छ', उहाँले भन्नुभयो, 'यसको स्वामित्व स्थानीय तहमै रहने र व्यवस्थापन पनि स्थानीय तहले नै गर्नेछ ।'

औद्योगिक ग्रामको डिपिआर तयार भइसकेको र हाल आँधीखोला नियन्त्रणका लागि तटबन्ध तथा ग्रामसम्म पुग्नका लागि पहुँचमार्ग निर्माण गरिएको उहाँको भनाइ छ । विशेष गरेर स्थानीय उत्पादन, स्थानीय कच्चापदार्थको प्रयोग गरी सञ्चालन गरिने साना तथा मझौला उद्योग यहाँ सञ्चालन हुने उहाँले बताउनुभयो । उद्योग एकै ठाउँमा सञ्चालनमा आउने भएकाले पनि व्यवस्थापनका लागि सहज हुने भएको हो ।

पहिलो चरणअन्तर्गत केन्द्र सरकारको ९२ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारको ३० लाख  रुपैयाँ र बाँकी वालिङ नगरपालिकाको लागत सहभागितामा आर्थिक वर्ष २०७६/७७ मा नदी नियन्त्रणका लागि एक करोड ४८ लाख ३३ हजार रुपैयाँको लागतमा ठेक्का सम्झौता भई काम भइरहेको नगरपालिकाका इञ्जिनीयर ध्रुव रेग्मीले बताउनुभयो ।

 औद्योगिक ग्रामले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने र उद्योगी व्यवसायीलाई राहत मिल्ने विश्वास इञ्जिनीयर रेग्मीको छ । नगरपालिकाले वालिङभित्रका वडा नं १० बैंडी, वडा नं १ को बौवा, वडा नं ११ को पञ्चमूल, वडा नं १२ को धनमूढा, वडा नं १३ को बाह्रबिसे र वडा नं १४ को तिवारी पसल गरी पाँच स्थानमा औद्योगिक ग्राम निर्माणका लागि जग्गा छनोट गरेको र पहिलो चरणमा बैंडीमा काम थालिएको नगरपालिकाले जनाएको छ ।