युरोपेली युनियन र बेलायतबीच ब्रेक्जिटपछिको व्यापार सम्झौता सम्पन्न

युरोपेली युनियन र बेलायतबीच ब्रेक्जिटपछिको व्यापार सम्झौता सम्पन्न

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १०, २०७७

एजेन्सी । बेलायत र युरोपेली युनियनबीच बिहीबार नयाँ व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का सन्दर्भमा बेलायत र युरोपेली युनियन (इयू)बीच दश महिनादेखि जारी वार्ता सहमतिमा टुङ्गिएको हो ।

नयाँ वर्षको आगमनसँगै बेलायत औपचारिक रुपमा इयूबाट अलग हुनेछ । झण्डै आधा शताब्दीदेखि इयूमा आबद्ध बेलायतले पछिल्लो सम्झौता बमोजिम इयूबाट अलग भएसँगै इयूसँगको व्यापारमा करका प्रावधानहरु सामना गर्नु पर्नेछ । 
सम्झौतापछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भन्नुभयो, 'हामीले हाम्रा कानुन र हाम्रो भविष्यलाई पुनः फिर्ता ल्याएका छौं ।' 

उता युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन लियेन भने निकै सचेत देखिनु भएको थियो । अंग्रेजी नाट्यकार विलियम शेक्सपियरको 'विभाजन एक मीठो दुःख हो' भन्ने उक्ति उद्धृत गर्दै उर्सुलाले भन्नुभयो, 'मध्यस्थताको सफल यात्राको अन्त्यमा मैले पनि खुशी अनुभव गरेको छु । तर आज, म शान्त छु, अझ खुलेर भन्नुपर्दा मैले सन्तोषको श्वास फेर्न पाएकी छु ।'

उहाँले अझै पनि २७ मुलुक युरोपेली युनियनमा आबद्ध रहेका र झण्डै ४ करोड ४० लाख युरोपेलीले युनियनलाई नै विश्वास गरेकामा आभार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, अब हामीले ब्रेक्जिटका कुरा छाड्ने दिन आइसक्यो । हाम्रो भविष्य युरोपमै छ । 

बेलायतले सन् २०१६ को जनमतसंग्रह पछि नै युरोपेली युनियन छाडेको थियो । दोस्रो विश्वयुद्धबाट थिलथिलो भएको युरोपको पुनर्निर्माण र राजनीतिक तथा आर्थिक परियोजनालाई सफल तुल्याउन इयू बनेको थियो ।

तर लन्डन अझै पनि डिसेम्बर ३१ को मध्यरातसम्म इयूका नियमहरुभित्रै रहने छ । तर त्यसपछि बेलायत युरोपेली युनियनको एकल बजार र भन्सार युनियनबाट विदा हुनेछ । 

करिब दुई हजार पृष्ठको ब्रेक्जिट सम्झौतामा माछा मार्ने विषय निकै पेचिलो मुद्दा बनेको थियो । बेलायतको समुद्री जलक्षेत्रमा युरोपेली युनियनका मुलुकका नागरिकलाई माछा मार्न पहुँच दिने वा नदिने भन्नेमा निकै लामो बहस भएको थियो ।

बेलायती प्रधानमन्त्री जोन्सनले इयूसँगको सम्झौता पूरै युरोप र हाम्रा साझेदार सबै मुलुकका लागि निकै सकारात्मक रहेको बताउनुभयो । 

ब्रेक्जिटमा सम्झौता भएलगत्तै आइरिस प्रधानमन्त्री माइकल मार्टिनले सम्झौता त्यति खराब नरहेको प्रतिक्रिया दिनु भयो । 

जर्मन चान्सलर एन्जेला मर्केलले सम्झौताले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गर्नु भयो भने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले युरोपेली मुलुकहरुको एकता र दृढता विजयी भएको बताउनुभयो ।

सम्झौताको दस्तावेजलाई अब युरोपेली युनियनमा आबद्ध सबै २७ मुलुकमा पठाइने युरोपेली आयोगकी अध्यक्ष लियेनले जानकारी दिनुभयो ।

यस सम्झौतालाई युरोपेली राष्ट्रले अध्ययन गर्नेछन् भने बेलायतमा डिसेम्बर ३० का दिन सम्झौतामा मतदान हुनेछ ।