नेकपाका वडा तहसम्म भेला र प्रशिक्षण : पार्टी कार्यालय कब्जा हुँदै मुठभेडलाई निमन्त्रण !

नेकपाका वडा तहसम्म भेला र प्रशिक्षण : पार्टी कार्यालय कब्जा हुँदै मुठभेडलाई निमन्त्रण !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १०, २०७७

दक्षिण एसियाकै ठुलो कम्युनिस्ट पार्टी दावी गरिएको व्यावहारिक रुपमा  नेकपा विभाजन भएपछि राजनीतिक तरलता आउनु स्वाभाविक हो । नेपालको सत्तारुढ दलमा विभाजनसँगै प्रतिपक्षलाई फाइदा पुग्नु र सरकारको काम कारबाहीमा गतिशीलता नहुनुले राजनीतिक तरलतालाई  झनै बल पुगेको छ । निर्वाचन आयोगमा दुवै पार्टीले आफू संस्थापन पक्ष भएको दावी गरिरहेका छन् । सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाको मुद्दा विचाराधीन मात्र कारण देखाऊ समेत जारी  गरिसकेको अवस्था छ । विभाजन भएका दुवै पक्ष २०७६ पुस १० गते देखि निर्वाचन आयोगमा  आमान्ने सामुन्ने अवस्थामा पुगेका छन् ।

विभाजित पार्टीका दुई अध्यक्ष मध्ये केपी शर्मा ओलीले निर्वाचनको तयारी गर्न आफ्ना केन्द्रीय सदस्यहरूलाई निर्देशन दिई सकेका छन्। कम्युनिस्ट पार्टीकै शैलीमा उनले अबको निर्वाचनमा आफूहरूलाई हार्ने छुट नभएको भन्दै आफूले मनोनयन गरेका केन्द्रीय समितिलाई निर्देशन दिएका छन् । उता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अहिलेको भन्दा भयानक सङ्घर्ष गर्नुपर्ने दिन आउन सक्ने भन्दै तयारी रहन निर्देशन दिए । यसका बाबजुद दुवै पक्षले आफ्ना नेता कार्यकर्ता चोरिन नदिन सतर्कता समेत अपनाएको देखिन्छ । तर भोट चोरिने वा जनता आफूसँग नभएको बारे उनीहरूले केही आङ्कलन गरेको भने देखिँदैन । समग्रमा भन्ने हो भने दुवै पक्षलाई सत्ताको भोकले यति धेरै व्यग्र बनाएको छ कि प्रचण्ड अहिले नै प्रधानमन्त्री बनिहाले कि जस्तो भावभङ्गीमा प्रस्तुत हुने गरेका छन् भने ओली त सत्तामै छन् ।

पूर्व एमालेको ठुलो पङ्क्ति अहिले पनि गौतमको निर्णय कुरेरै बसेका छन् । अहिले दुवै पक्ष वडा तहसम्मै विभाजित अवस्थामा छन् । यसले हिंसात्मक द्वन्द्व समेत निम्त्याउने खतरा रहेको छ । विगतमा माले–एमाले, माओवादी–एमालेको जस्तै मारपिटमा कार्यकर्ताहरू उत्रन सक्ने खतरा समेत बढेको छ । यसले सहर र केन्द्रमा भन्दा पनि गाउँमा बढी द्वन्द्व निम्तने खतरा रहेको छ ।

यससँगै सत्ताको भोक कस्तो हुन्छ भनेर गृहमन्त्री रामबहादुर थापा बादलको प्रसङ्गले  पुष्टि गरिसकेको छ । लामो समयदेखि राजनीतिक भाषण वाजीमा नदेखिएका रामबहादुर थापा ‘बादल’ बिहीबार बालुवाटारमा एक्कासि मञ्चमा देखा परे । नेकपाको केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकमा उनी मञ्चमा मात्रै देखिएनन् प्रचण्ड र माधव नेपाल स्वार्थी भएको भन्दै भाषण  गर्न समेत  भ्याए ।

‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको हो । चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नु पर्ने छ । उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ,’ ओली पक्षलाई सान्त्वना हुने गरी बैठकमा उही ओझापूर्ण आवाजमा उनले सम्बोधन गरेर ओलीको नेतृत्वमा रहेका नेकपाका केन्द्रीय सदस्यबिच हाइहाइ कमाइसकेका छन्  ।

नेकपाका दुई अध्यक्ष ओली र दाहालबिच बढ्दो दुरीमा बादल प्रायः मौन नै बस्दै आएका थिए । उनले सचिवालय बैठकमा कुनै समूहलाई बल पुग्ने गरी समर्थन  गर्ने गरेनन् । उनका तर्क मध्यमार्गी देखिए । गुटगत भेलाबाट टाढै बस्न रुचाएका उनी र दाहालको लामो राजनीतिक यात्रा सहयात्री अनि सशस्त्र विद्रोहताकाको सहयात्राले यदि कता उभिने निर्णय गर्नैपर्याे भने उनी दाहालको पक्षमा उभिने राजनीतिक रुपमा विश्लेषण  गरिएको थियो ।

तर त्यो विश्लेषण भने बिहीबार वाट गलत भएको छ । अविश्वास प्रस्ताव दर्ताको प्रयासबाट विकसित भएको राजनीतिक घटनाक्रम प्रतिनिधि सभा विघटनमा पुग्दासम्म मौन बसेका बादल बिहीबार राजनीतिक अनुमान विपरीत ओली समूहमा पुगे । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै पार्टी औपचारिक रुपमा विभाजन भयो । त्यसयता दुबै पक्षले आफू निकटको केन्द्रीय समितिको बैठक राखे अनुकूलतामा निर्णय गरे तर नेता कार्यकर्ताको अनुहार उडेको रङ्गको बारेमा उनीहरूको बहस छलफल केन्द्रित देखिँदैन । 

भोलि आउने निर्वाचनमा कार्यकर्ताहरू परिचालन हुनुपर्छ भन्ने अनुमान त होला तर कार्यकर्ताको धाकमा चढेर अबको दिनमा गरिने भाषण बाजी र आरोप प्रत्यारोप विभाजित नेकपालाई सञ्जीवनी होला त ? यस्ता प्रश्नले घर गरिरहेका बेला बैठकबाट एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने निर्णयसमेत  गरे । त्यो बाहेक अहिले दुबै पक्षले नेता तथा कार्यकर्ता आफ्नो पक्षमा तान्न देशव्यापी तीव्र दौडधुप थालेका छन् । दुई दिनअघि ओली पक्षमा गएका केन्द्रीय सदस्य शेरबहादुर तामाङ बिहीबार प्रचण्ड–नेपाल समूहमानतिर फर्किए ।  प्रचण्ड–नेपाल खेमामा आएका रघुवीर महासेठ ओलीतिर गएका छन् । यो क्रम अझै केही समय चल्नेछ । यस्तो ओहोरदोहोरले कार्यकर्तालाई नैराश्यतिर धकेलेको मात्रै होइन भोलिको दिन निष्क्रियता पनि बढाएको छ ।

यति बेला नेकपा उपाध्यक्ष वामदेव गौतम भने अझै कुनै पक्षको बैठकमा सहभागी भएका छैनन् । उनले आफ्नो कित्ता क्लियर गर्न अझै बाँकी छ । त्यसैले गौतमलाई आफ्नो पोल्टामा पार्न प्रचण्ड–माधव र ओली समूह दुबै लागिपरेका छन् । कसको समूहमा जाने भन्ने निर्णय गर्न बाँकी शीर्ष नेतामध्ये गौतम मात्रै एक्लो छन् । जोड घटाउको राजनीतिक अभ्यासको बानी परेका दाहाल समूहका पूर्वएमालेका नेताका लागि बादलको निर्णय सामान्य नै लाग्छ तर गौतमको निर्णय  भने उनीहरूलाई सामान्य लागिरहेको छैन । 

पूर्व एमालेको ठुलो पङ्क्ति अहिले पनि गौतमको निर्णय कुरेरै बसेका छन् । अहिले दुवै पक्ष वडा तहसम्मै विभाजित अवस्थामा छन् । यसले हिंसात्मक द्वन्द्व समेत निम्त्याउने खतरा रहेको छ । विगतमा माले–एमाले, माओवादी–एमालेको जस्तै मारपिटमा कार्यकर्ताहरू उत्रन सक्ने खतरा समेत बढेको छ । यसले सहर र केन्द्रमा भन्दा पनि गाउँमा बढी द्वन्द्व निम्तने खतरा रहेको छ ।

प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शनदेखि स्थानीय तहका वडा तहसम्म भेला र प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ । यता ओली समूहले पनि आफ्ना केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएर वडा तहसम्मै पठाउदैछ । अहिले पूर्व एमालेले निर्माण गरेका पार्टी कार्यालय कब्जा गर्ने थालिएको छ । दुबै  समूहले जिल्ला जिल्लामा आफ्ना कार्यकर्ता मार्फत पार्टी कार्यालय कब्जा गरिसकेको समाचार आइरहेको  छ । त्यसलाई काउन्टर दिन बिहीबार प्रचण्ड नेपाल पनि बल्खुस्थित पुरानो एमालेको पार्टी कार्यालय पुगेर आफूहरू संस्थापन भएको देखाउन खोजेका थिए । यसर्थ पार्टी कार्यालय कब्जा गर्ने कार्यक्रम मले नै देशभर पहिलो चरणमा भिडन्तलाई निम्तो दिइदैछ ।