जयकुमार राई : खरीखोलाको चर्चित हेडसरदेखि किराँत राई प्रज्ञा परिषद्को कुलपतिसम्म

जयकुमार राई : खरीखोलाको चर्चित हेडसरदेखि  किराँत राई प्रज्ञा परिषद्को कुलपतिसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  पुष ११, २०७७

एउटा ब्रिटिस सैनिक परिवारको पृष्ठभूमि बोक्नु भएको जयकुमार राई कालान्तरमा शिक्षा जस्तो महत्त्वपूर्ण क्षेत्रमा स्थापित नाम बन्न पुगेको छ । 

यो सबै उहाँको लगन, मेहनत र इमानदारिताले प्राप्त भएको हो । हुन त हरेकका जीवनमा दुःख सङ्घर्ष नहुने होइन तर, त्यसलाई कसरी सही दिशा दिएर एउटा उचाइमा  पुर्‍याउने भन्ने कुराको ज्वलन्त उदाहरण हो यो आलेख ।  

पारिवारिक अवस्था 

उहाँको बाजे प्रतापसिंह राई, ब्रिटिस लाहुरे । उहाँको बाजे १९१४ देखि १९१८ सम्मको प्रथम विश्वयुद्धका योद्धा सिपाही पनि । उहाँको बुवा धनध्वज राई पनि ब्रिटिस लाहुरे । बुवाले भने १९३९ देखि १९४५ सम्मको दोस्रो विश्वयुद्ध लडेको बताउनुहुन्छ उहाँ ।  उहाँका छ दाजुभाइ तथा दुई दिदी बहिनी । उहाँ भने कान्छो छोरो । 

गाउँका साठी घरमध्ये उहाँको परिवार खान, लाउन दुःख नभएको । लाहुरेको परिवार । तर, पनि उहाँ भने आफ्नो परिवारलाई मध्यम नै भन्न रुचाउनुहुन्छ । 

जन्म र बाल्यकाल 

उहाँको जन्म २०१६ साल चैत्र २४ गते भएकाे हाे  । नागरिकतामा भने २०१७ साल माघ १२ गते  छ । खोटाङ थुम चै चुइचुम्मा । हाल भने दिप्रुङ चुइचुम्मा वडा नं १ खमेर ।           उहाँको घर गाउँको बिच भागमा । उहाँको परिवारको पहलमा निजी टहरोमा २००९  सालमा विद्यालय स्थापना गरिएकाे थियो । जसका लागि गाउँलेहरूको पनि सहयोग रह्यो । पछि उहाँहरूले नै दिएको जमिनमा तीन तले भवन निर्माण गर्ने काम भयो विद्यालयको । विद्यालयको नाम थियो देवी प्राथमिक विद्यालय । 

उहाँको घर तल गराकाे  बारीमा अनि विद्यालय भने माथिल्लो कान्लोमा । घर र स्कुलसँगै भएको हुनाले त्यही स्कुलको प्राङ्गणमा खेल्ने, उफ्रने, दौडने गर्दै बित्यो उहाँको बाल्यकाल । 

प्रशस्त जमिन, बरको चौतारो समेत भएको हुनाले गाउँका साथीभाइकाे जमघट हुने अखाडा नै थियो त्यो स्कुल प्राङ्गण । 

कबड्डी जसलाई हरिटटु भनिन्थ्यो त्यस बेला, ककफाइट, थाङ्नाको बल, खोपी आदि खेलेर बित्यो उहाँको बाल्यकाल । पाङ्ग्रा गुडाउने भने थिएन उहाँको तिर । भलिबल पनि खेल्ने चलन थियो । तर, उहाँको रुचि भने खेलतिर खासै थिएन ।

प्रारम्भिक शिक्षा 

उहाँको समयमा शिशु कक्षाको समेत प्रचलन थियो । शिशु कक्षादेखि तीन कक्षासम्म उहाँ क्रमैसँग पढ्नु भयो । त्यसपछि भने कक्षा फड्केर एकै पटक पाँच कक्षामा । विद्यालय भने उही आफ्नै आँगनको देवी प्रावि । 

गाउँमा काठ पात प्रशस्त पाइने तथा ब्रिटिस लाहुरेहरुले समेत सहयोग गरेका हुनाले डेस्क बेन्च एकदमै राम्रा थिए । एउटामा बस्ने तथा अर्कोमा बसेर लेख्ने । त्यसलाई गर्भे फर्निचर भनिन्थ्यो त्यस बेला । 

उहाँ हरेक कक्षामा प्रथम हुने । अनि बस्ने पनि पहिलो बेन्चमा नै । कक्षामा दश, बाह्र जना जति हुन्थे । तर, महिलाको सङ्ख्या भने शून्य । फी चाहिँ तिरेको जस्तो लाग्दैन उहाँलाई । त्यतिखेर आर्थिक सहायता (आस) भन्ने चलन थियो । 

तर, उहाँहरू भने कुरो नबुझेर आशा भन्ने महिला सहपाठी कक्षामा पढ्न आउने भन्ठान्नुहुन्थ्यो । अनि शिक्षकको तलब खासै नभएकोले गाउँमा धान, मकै उठाएर दिने चलन पनि थियो । 

भोजपुर क्याम्पसमा नै स्नातकको पढाई सुरु गर्नुभयो । र, जागिरसँगै पढ्न थाल्नुभयो । अब स्नातक पनि सकियो । त्यसपछि उहाँलाई निमाविमा बस्न मन लागेन ।अनि सबैको सक्रियतामा उक्त विद्यालय नै माविमा परिणत भयो । अनि उक्त माविमा दश वर्ष हेडसर भएर उहाँ त्यहाँबाट बिदा हुनुभयो । त्यसमा भने राजनीतिक कारण भएको रहेछ । 

जिशिनि, बिजिशिनि आउने भन्ने हुन्थ्यो स्कुलमा त्यस बेल । अनि जिशिनि, बिजिशिनि निरीक्षणमा आउँदा स्कुलमा गेट बनाउनु पर्दथ्यो । पछि मात्रै थाहा भयो यो भनेको त जिल्ला शिक्षा निरीक्षक, विद्यालय जिल्ला शिक्षा निरीक्षक भन्ने रहेछ । 

त्यसबेला पार्टीमा धुलो हालेर सिन्काले लेख्ने चलन थियो । पछि सिमीको पात निचोरेर मसी बनाएर बाँसको कलमले लेख्ने गरिन्थ्यो । अनि अलि पछि चक्की सिको चलन आएको हो । नाम भने कोरस, पायल हो क्यारे, उहाँ भन्नुहुन्छ । 

पढ्ने किताब भने ठुलो वर्णमाला नै हो । बाबु, बाजे ब्रिटिस लाहुरे भएकोले एबिसीडिका किताबहरू पनि थिए । किताब च्यातिएला भनेर गोरुको छाला सिएर खोल हाल्ने गरिन्थ्यो भन्नुहुन्छ उहाँ । 

निमावि अनि मावि शिक्षा

उहाँ प्रावि सकेर करिब एक घण्टाको पैदल दूरीमा रहेको याम्खाको महेन्द्रोदय निमाविमा जानु भयो । त्यो चार गाउँको एउटै निमावि थियो । त्यसैले विद्यार्थी पनि निकै नै थिए । 

चार, पाँच प्राविको विद्यार्थीहरू त्यही एउटै निमाविमा आउने हुँदा प्रतिस्पर्धा धेरै भएका कारण उहाँ पहिले झैँ प्रथम हुन सक्नुभएन । कक्षामा पैँतिस जना जति विद्यार्थी थिए । महिला भने यहाँ पनि भए जस्तो लाग्दैन उहाँलाई ।

उक्त विद्यालयका लागि एउटा ठुलो वरको रुख काटेर फर्निचर बनाएको हुँदा डेस्क बेन्च राम्रा र यथेष्ट थिए । भवन पनि पक्की इँटाको नै थियो । त्यस्ता भवनहरू कमै थिए, उहाँ भन्नुहुन्छ । 

त्यसबेला स्कुलमा भलिबल तथा क्यारेम बोर्ड पनि नभएको होइनन् । तर, विद्यालयमा ठुलाको बोलवाला थियो । सानो भएका कारण बाहिर गएको बल एक पटक ड्याङ हान्ने बाहेक अर्को उपलब्धि भएन । क्यारमेको त झन् के पालो आउनु । 

अनि शुक्रवार अतिरिक्त क्रियाकलाप अन्तर्गतको साहित्यिक कार्यक्रम पनि हुन्थे । भित्रबाट सुनाई पो दिउन् झैँ लाग्ने तर, अगाडि आएर बोल्न नसक्ने यो स्वभाव थियो उहाँको । 

बरु अरु साथीहरूलाई संयोजन गरेर अघि बढ्ने स्वभाव चाहिँ हो उहाँको । 

त्यसपछि पढ्ने क्रममा उहाँ खोटाङ जिल्लाको पुरानो सदरमुकामस्थित भगवती माविमा जानुभयो । त्यति बेला उहाँको कक्षामा बयालिस जना विद्यार्थी थिए । महिला भने चार जना थिए । र, २०३३ सालमा उहाँले उक्त स्कुलबाट एसएलसी स्कुले शिक्षा पूरा गर्नुभएको हो । 

उच्च शिक्षा

त्यो बेला उहाँका ब्याचका एकचालीस जनामध्ये थोरै मात्र पास भए एसएलसी । त्यस मध्येको एक उहाँ पनि हो । अनि उहाँ लाग्नुभयो भोजपुर बहुमुखी क्याम्पसमा आइए पढन्

एसएलसी दिएपछि उहाँ जागिर खान जानुभयो सोलुखुम्बु । तर, हिमालको नजिक, दुर्गम अनि चिसो भएका कारण जागिर नगरी फर्कनुभयो ।  तर, आफ्नै जिल्लाको कालिका निमाविमा शिक्षक हुनुभयो । 

जिन्दगीको पहिलो जागिरको पहिलो कमाई, तलब पनि आयो तीन सय पच्चीस । त्यो तीन सय पच्चीस, साथीभाइसँग घुम्ने, खानेमै सकियो भन्नुहुन्छ, उहाँ ।  आइए पढ्दा पढ्दै लाहुरे हुने रहर पनि जाग्यो जो उहाँको रगतमै थियो । पहिलो वर्ष जाँदा तौल पुगेन । एकसे दश पाउन्ड हुनुपर्ने, उहाँको भयो नौ मात्र । एक पाउण्ड पुगेन । 

अर्को वर्ष पनि जानुभयो । धरानसम्म जसोतसो पुग्नुभो । कारण थियो उहाँको भिनाजु नै सार्जेण्ट । अनि भिनाजुको साथी गल्लावाल र छनौटमा आउने पनि चिनेको । यो ०३५/ ०३६ सालको कुरा हो । 

अब त्यसबेला देशमा राजनैतिक आन्दोलन चलिरहेको थियो । कलेज पढ्ने भर्खरको ठिटोलाई के चाहियो । टाँइफाँइ पनि देखाइयो, उहाँ भन्नुहुन्छ । अनि केटो राजनीति पनि गर्दोरहेछ भनेर फाल्न सजिलो भैगो । 

०३५ सालमा गठन भएको मालेमा उहाँ सङ्गठित हुनुभयो । त्यसबेला त्यस क्षेत्रमा अशोक राईले सङ्गठित गर्ने काम गर्नुहुन्थ्यो ।  अनि पढाई भएन । के के भयो । विविध कारणले आइए पास गर्न ०३९/०४० साल नै लाग्यो । 

जागिर 

अनि उहाँ फेरी लाग्नुभयो जागिर खान सोलुखुम्बुको खरीखोला प्राथमिक विद्यालय । प्राथमिक शिक्षक । सरकारी दरबन्दी ।  त्यहाँको हेडमिस तालिममा इलाम जानुभयो । अनि त्यहाँ टेस्ट पास गरेका एक जना स्थायी शिक्षक हेडसर भए केही समयका लागि । उनको योग्यता पनि पुगेन र राम्रोसँग चलाउन सकेनन् । त्यसपछि सञ्चालक समितिले उहाँलाई हेडसर बनायो । 

केही समय पछि उहाँको रिजल्ट आयो । आइए पास भएपछि बस्न मिलेन । दरबन्दी थिएन ।  उहाँ हिँड्ने तयारीमा हुनुहुन्थ्यो । तर, गाउँलेले मानेनन् । बस्नलाई विद्यालय निमावि हुनुपर्ने थियो । गाउँलेले निमावि नै बनाए । तलब निजीश्रोतबाटै खाने गरी । 

शिक्षा सेवा आयोग खुल्यो । उहाँ प्राथमिक शिक्षकमा स्थायी नै हुनुभयो । निमावि पनि खुल्यो । निमाविमा पनि निस्कियो उहाँको नाम ।  पछि प्राथमिक विद्यालयमा आइए पढेको शिक्षकको दरबन्दी राख्न पाउने नियम बन्यो । त्यसले गर्दा उहाँ त्यहाँ दरबन्दीमै बस्न पाउनु भयो । 

पछि उहाँले भोजपुर क्याम्पसमा नै स्नातकको पढाई सुरु गर्नुभयो । र, जागिरसँगै पढ्न थाल्नुभयो । अब स्नातक पनि सकियो । त्यसपछि उहाँलाई निमाविमा बस्न मन लागेन ।अनि सबैको सक्रियतामा उक्त विद्यालय नै माविमा परिणत भयो । अनि उक्त माविमा दश वर्ष हेडसर भएर उहाँ त्यहाँबाट बिदा हुनुभयो । त्यसमा भने राजनीतिक कारण भएको रहेछ । 

राजनीति 

उहाँ सोलुखुम्बुमा रहँदा पार्टीका अरु साथीहरूले उहाँलाई खोज्दै आए । सोलुखुम्बु जिल्ला नेकपा मालेको उत्तर क्षेत्रीय कमिटी गरेर उहाँले माले स्थापना गर्नुभयो । त्यसले गर्दा शिक्षकहरू प्रायः वामपन्थी भए ।

अनि त्यतिखेरका काँग्रेसका नेता बलबहादुर केसीले आफ्नो तथा काँग्रेसको पनि राजनीति नसुध्रिने देखेपछि उहाँ लगायत चार वटा माविका हेडसर, एउटा निमाविको हेडसर र टिचर, अनि दुई जना प्राविको शिक्षक गरेर आठ जनालाई सरुवा गरियो उहाँ भन्नुहुन्छ । 

त्यसमध्ये चार जना इलाम अनि चार जना सुनसरी । उहाँ भने मजदुर किसान मावि मदेलिमा सरुवा हुनुभयो ।  तर, पछि २०५१ सालमा एमालेको सरकार गठन भएपछि उहाँहरूलाई आफ्नो ठाउँमा नै सरुवा गर्ने कुराकानी भयो ।  तर, सुविधाजनक ठाउँमा सरुवा भएर गैसकेकोले अन्य साथीहरू सरुवा हुन मानेनन् । 

उहाँले भने आफ्नो दरबन्दी गाउँमै लिएर जानुभयो । त्यतिखेर देवी प्रसाद ओझा शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँ भने तराइमा गर्मीका कारण बस्न नसकेर यसो गरेको बताउनुहुन्छ, उहाँ । 

काठमाडौँ यात्रा

उहाँ पहिलो पटक २०३९ सालमा काठमाडौँ घुम्न आउनुभएको थियो । लामिडाँडाबाट प्लेनमा नै आउनु भएको हो । भाडा चार, पाँच सय थियो कि उहाँ भन्नुहुन्छ । 

पहिलो पटक काठमाण्डौको एयरपोर्ट उत्रँदा त अचम्मै परियो भन्नुहुन्छ, उहाँ । गाउँमा फुसको छाना भएको घर देखिराखेको मान्छे यहाँ विशाल घर देख्दा त अचम्मै भो नि उहाँ भन्नुहुन्छ । 

डिल्लीबजार लैजा भनेर ट्याक्सीलाई भनियो, उहाँ भन्नुहुन्छ, नाम डिल्लीबजारको सुनिएको थियो । डिल्लीबजार आएपछि ट्याक्सीले ल आयो भन्यो । कहाँ छेउ हो भनेर उसले सोध्यो । तर, केही थाहा थिएन । अनि उहाँहरू ट्याक्सीबाट झरेर डिल्लीबजारमा हिँड्दै हुनुहुन्थ्यो । अहिले सम्झँदा त्यो ठाउँ डिल्लीबजारको ओरालो भन्ने थाहा भयो उहाँलाई । 

उहाँहरू झोला बोकेर हिँड्दै हुनुहुन्थ्यो । अनि उहाँको भान्जा पर्ने एकनाले भेटीनु भयो ।  जो त्यस बेला आइए पढ्दै हुनुहुन्थ्यो । कहाँ हिँडेको भनेर सोध्दा कहाँ हो थाछैन त्यसै काठमाडौं हिँडेको भनेपछि उहाँले कोठामा लग्नुभयो । 

अनि भोलिपल्ट पुतलीसडकमा डुल्दै हिँड्दा गाउँको दाइ पर्ने आफन्त भेट भयो । उहाँको कोठा पुतलीसडकमा रहेछ । त्यहाँ बस्नुभयो केही समय ।  झन्डै आधा महिना टाइपराइटर तथा सर्टहेण्ड पनि सिक्नुभयो । त्यसपछि फेरी साथीहरूले ल बनारस जाउँ न  भनेपछि लाग्नुभयो बनारस । 

एक जना साथीको दिदी भिनाजु बनारसमा हुनुहुन्थ्यो । भेट गर्ने र मौका मिले पढ्ने पनि भन्ने उद्देश्यले । बनारसको गर्मीले टिक्न दिएन । अनि गङ्गा नुहाएर भोलिपल्टै फर्कनुभयो । 

विवाह

विवाह भने अलि ढिला भयो उहाँ भन्नुहुन्छ । झन्डै पचास वर्षको उमेरमा । कोटेश्वरको ग्रामर स्कुल तथा त्यस क्षेत्रका अन्य स्कुलबिच समन्वय तथा सम्बन्ध विस्तारका क्रममा हालको उहाँको श्रीमतीसँग चिनजान भएको हो । 

यस्तै उठबसमा उहाँले बिहेको प्रस्ताव गर्नुभयो र प्रस्तावमा लालमोहर लागिसकेपछि २०६७ सालमा गर्नुभएको हो । हाल उहाँको एघार वर्षीय एक छोरी हुनुहुन्छ । 

ग्रामर स्कुल

उहाँहरूले २०५० सालमा कोटेश्वरमा ग्रामर स्कुल सुरु गर्नुभयो । २०६३ मा स्कुल प्लस टु भइसकेपछि स्कुल चलाउन विद्यार्थी पनि चाहियो । अनि त्यस बखत उहाँलाई सोलुखुम्बु हुँदाको योजना कार्यान्वयन किन नगर्ने भन्ने लग्यो । र कार्यान्वयन गर्नु भयाे 

त्यस बेला उहाँले चौध गाविसको स्कुललाई नेतृत्व गर्नुहुन्थ्यो । वीरेन्द्र शील्ड पनि गराउनुहुन्थ्यो । र, ती सबै स्कुलहरूको प्रश्न पत्र पनि एउटै हुन्थ्यो । 

जाँच पनि एकै पटक हुन्थ्यो । यो चाहिँ उहाँले पार्टी विस्तार र स्कुल दुवैलाई राम्रो होस भनेर गर्नु भएको थियो । र, उहाँले त्यस बेला नमुना स्कुल चलाउनु भएको थियो । 

त्यस बेला सर एडमण्ड हिलारी वर्षको कम्तीमा एक पटक सोलुखुम्बु भ्रमण हुन्थ्यो । सोलुखुम्बुको उहाँको त्यो स्कुल पनिसर एडमण्ड हिलारीले बनाइदिनु भएको हो त्यसबेला । त्यसबेला उहाँलाई दुर्गम भत्ता लगायत हिलारी एड पनि आउँथ्यो । त्यसो हुँदा धेरै कमाउनेमा पर्नुहुन्थ्यो उहाँ । पछि दुर्गम भत्ता काटियो । हिलारी एड भने आउँथ्यो । 

त्यसबेला संस्थाले हेडसरलाई वर्षे नि एक पटक विदेश भ्रमण पनि गराउने गथ्र्यो । तर, उहाँको भने पालो आउँदा आउँदै सरुवा भएका कारण भ्रमण गर्न पाउनु भएन । 

पहिले काठमाडौँ ३५ नं वडा थियो । हाल भने ३२ नं भएको छ । त्यस बेला यस वडाका एउटा आवासीय विद्यालय र अर्कोको सम्बन्ध थिएन । एकले अर्कालाई खोइरो खन्ने सौतेनी व्यवहार गर्थे । 

अनि उहाँले सोलुखुम्बुको अनुभवलाई काठमाडौँ  ३२ मा उतार्नु पर्‍यो भनेर यस वडा भित्रका सबै विद्यालयमा समन्वय र सम्बन्ध विस्तारको काम थाल्नुभयो । त्यसका लागि विभिन्न स्कुलको भ्रमण गर्ने तथा भाइचाराको विकास पनि होस भनेर जमघट गराउनुभयो । अनि संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च नै बन्यो । 

एक अर्काको स्कुलमा जाने, नयाँ के के छन् हेर्ने, पुस्तकहरू एउटै राख्ने, शिक्षकहरूलाई तालिम गराउने काम गराउनु भयो र त्यो काम अहिलेसम्म पनि यावत नै छ ।  पछि भने सहकारी, पब्लिकेशन, प्रेस, बिक्रीका लागि इन्टरप्राइजेज पनि खोल्ने काम गर्‍यो यो सङ्गठनले । 

मास्टर्स डिग्री 

डिल्ली बजारमा एउटा हिमालयन ट्रस्ट भन्ने संस्था छ । जसको सचिव आङ्रिता शेर्पा हुनुहुन्थ्यो । उहाँ ०२६ सालको एसएलसी बोर्ड फस्ट जस्तो लाग्छ उहाँलाई । उहाँसँग गएर उहाँले आफूलाई सरुवा गरिदिएकाले यहाँ काठमाडौँमा मास्टर्स डिग्री पढ्न स्कलरसिप दिलाइदिन अनुरोध गर्नुभयो । अनि उहाँलाई पढ्ने अवसर मिल्यो । 

सङ्घसंस्थाको संलग्नता 

हाल उहाँ किराँत राई प्रज्ञा परिषद्को कुलपति हुनुहुन्   त्यस्तै ग्रामर कलेज अफ म्यानेजमेन्टको संस्थापक तथा अध्यक्ष ।  हिले भने दश वर्ष खरी खोला माविको प्रधानाध्यापक भइसक्नुभएको हो । त्यस्तै कालिका मावि र मजदुर किसान माविको पनि उहाँ प्रधानाध्यापक रहिसक्नुभएको छ । 

सम्मान, पदक तथा पुरस्कार 

सामाजिक क्षेत्र तथा सङ्घसंस्थाबाट उहाँले दर्जनौँ पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । तर, सरकार वा सरकारी अड्डाबाट भने आफूले कुनै पुरस्कार तथा सम्मान प्राप्त नगरेको उहाँ बताउनुहुन्छ । 

अन्त्यमा

मानिस उत्कृष्ट र विशिष्ट हुनका लागि कुनै विशेष गुण बोकेर जन्मनु आवश्यक छैन र आफ्नो कर्ममा नित्य निरन्तर हरेस नखाई अगाडि बढी रहने हो सफल हुन सकिन्छ भन्ने उहाँको जीवनबाट सिक्न सकिन्छ ।