गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न ७८ लाख रुपैयाँको ठेक्का

गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न ७८ लाख रुपैयाँको ठेक्का

लोकसंवाद संवाददाता  |  पर्यटन  |  पुष १३, २०७७

इलाम । यहाँस्थित सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न ७८ लाख रुपैयाँको ठेक्का लगाएको छ । सन्दपुरस्थित सुलुबुुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो । 

माइपाताल हाब्रे पाइने ठाउँका रूपमा प्रख्यात हो । पर्यटक आगमन गराउन गाउँपालिकाले रेडपाण्डा नेटवर्कको सहकार्यमा यो काम गर्न लागेको हो । पालिकाले यस क्षेत्रमा हाब्रे व्यवस्थित गर्न उपयुक्त वातावरण बनाउन र आक्रमणबाट जोगाउन ठेक्का दिएको हो । गाउँपालिकाका प्रवक्ता गिरिराज खनालका अनुसार हाब्रे व्यवस्थापनका लागि हेरालुसमेत राखिने भएको छ । 

खनालका अनुसार हाब्रे बस्ने वातावरण मिलाउन गाउँपालिकाले ठूला रुखसमेत काट्ने छ । 'हामी रेडपाण्डालाई प्रभावित पार्ने रुखबिरुवा काट्दै छौँ', प्रवक्ता खनालले भन्नुभयो, 'स्थानीय प्रजातिका रुख बिरुवा रोप्ने छौँ ।' हेरालुका लागि व्यवस्थित गर्नैका लागि संरचना समेत गाउँपालिकाले बनाएको हो । गाउँपालिकाको केन्द्र देउरालीबाट ‘अल वेदर’ सडक लगिने गाउँपालिकाले जनाएको छ । यसै आर्थिक वर्षको अन्त्यसम्ममा यो काम सम्पन्न गरिने छ ।

उच्च पहाडी क्षेत्र भएकाले रेडपाण्डासँगै अन्य वस्तुको अवलोकनसमेत यस ठाउँमा हुनसक्ने अनुमान गाउँपालिकाको छ । यस क्षेत्रमा लेकाली वनस्पति र अन्य जीवजन्तुसमेत पाइने बताइएको छ । पर्यटकीय क्षेत्र छिन्टापु जाने बाटो भएकाले भावी दिनमा यस ठाउँमा जाने पर्यटकसमेत हाब्रे अनुगमनमा आउने अनुमान छ ।